‘डोल्पाको काकोट घटनाः यथार्थ एक, प्रचार अर्कै’
Friday, September 10th, 2021, 5:14 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २५ भाद्र
डोल्पाको छार्काताङसोङ गाउँपालिका-४ काकोटको गुम्बामा भाद्र २० गते पुजाका विषयमा भएको भागदौड र गाउँ कार्यपालिका सदस्य घाइते भएको घटनामा गाउँलाई बद्नाम गर्नेगरी प्रचार गरिएको स्थानीयले गुनासो गरेका छन् । सदरमुकाम दुनैमा पत्रकारसँग काकोटका स्थानीयले गाउँको नै मानमर्दन हुने गरी प्रचार गरिएको आरोप लगाए । स्थानीय कार्मा गुरुङ्ग, लालिमान रोकाया, अमर गुरुङ्ग, पासाङ्गलामु बुढा, पेमासाम्दुक गुरुङ्ग, निमा रोकाया लगायतले घटनाको सत्यतथ्य यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न र अनर्गल प्रचारमा विश्वास नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
भाद्र १९ गतेदेखि २१ गते सम्म तीन दिन पुजा लगाउने प्रचलन भएपनि यो वर्ष गाउँलेलाई जानकारी नै नदिई गाउँ कार्यपालिका महिला सदस्य पेमाछोइजुम गुरुङ्ग र वडासदस्य तथा न्यायिक समितिका सदस्य खोमसुम रोकायाको मिलोमतोमा १८ गते नै पुजा लगाउने गरी आन्तरिक तयारी गरेपछि विवाद शुरु भएको स्थानीयको भनाई छ । प्रहरीले उक्त विवाद सुल्झाएर पठाएको स्थानीय लालिमान रोकायाले बताए । तर भेलिपल्ट बिहान पालिका महिला सदस्य गुरुङ्ग र न्यायिक समिति सदस्य रोकायाको समूह सदरमुकाम दुनैमा झुट्ठा आरोपसहित मुद्दा दिन जान लागेका थाहा पाई त्यसो नगर्न आग्रह गर्दा आफुहरुमाथि आक्रमणमा उत्रिएको स्थानीय लालिमान रोकायाको भनाई छ ।
त्यसपछि भएको सामान्य झडपपछि भाग्ने क्रममा ढुङ्गाको सोलिङ गरिएको बाटोमा लडेर टाउँको र आँखामा चोट लागेर कार्यपालिका सदस्य घाइते भएको स्थानीयको भनाइ छ । तर वडा अध्यक्षको समुहले कुटपिटबाट घाइते बनाएको र गाउँमा गुण्डा पालेर राखेको भन्ने गम्भिर आरोपसहित गाउँको मानमर्दन र्गेने र निर्दोषलाई दोषी बनाउने काम गरिरहेकोे स्थानीय कार्मा गुरुङ्गले बताए ।
गत वर्ष ०७७ असोज २ गते पनि काककोट स्थित तेन्जिङ नोर्के आधारभुत विद्यालयमा वडाअध्यक्ष सेनाङ गुरुङ्ग र न्यायिक समिति सदस्य रोकाय पक्षबीच विद्यालयको जस्तापाताका विषयमा विवाद भई झडप हुँदा वडाअध्यक्ष गुरुङ्ग सहित आठ जना घाइते भएका थिए । ०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित दुवै समुह बीचको विवाद अझै कायमै छ । भाद्र २० गते काकोट गुम्बाको पुजा कसले पहिले गर्ने भन्ने विषयमा विवादपछि भएको भागदौडमा महिला सदस्य गुरुङ लडेर घाइते भएकी थिइन् । यसैगरी ढुङ्गा हानाहानमा भएको भागदौडमा लडेर २५ वर्षीया निमा रोकाया र १८ वर्षीया अमर गुरुङ्ग सामान्य घाइते भएका थिए । टाउँको र आँखामा चोट लागेर घाइते भएकी पालिका महिला सदस्य पेमाछोइजुम गुरुङ्गलाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ भने अन्य दुईको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ ।