प्रतिस्थापन बजेटका उल्लेखनीय कार्यक्रम
Friday, September 10th, 2021, 5:22 pm
Kalpristha
आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार
सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । विगतदेखि नै नेकपा माओवादी केन्द्रले यस्तो व्यवस्था गर्न माग गर्दै आएको थियो ।
पाँच लाख गरिबलाई १० हजार
सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ । प्रतिस्थापन विधेयकमा कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरिएको छ ।
अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने विधेयकमा घोषणा गरिएको छ ।
दीर्घ रोगीलाई मासिक ५ हजार
सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ । सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो ।
बैठक भत्ता काटेर कोरोना खोप किन्न ५ अर्ब
सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ । आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए ।