सिसि क्यामेरा बिग्रिदा बढ्यो अपराधको जोखिम
Friday, September 10th, 2021, 8:55 pm
Kalpristha
२०७५ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघ, व्यवसायी र तत्कालिन बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङको पहलमा ५४ वटा सिसि क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि ती सिसि क्यामेराको मर्मत सम्भार र सन्चालनको जिम्मा प्रहरीलाई दिइएकोमा प्रहरीको वेवास्ताका कारण अहिले करिब ३० क्यामेराहरु बिग्रिएका छन् ।
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, २२ भाद्र
अपराध अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने नेपाल प्रहरीको नीति छ । अपराध अनुसन्धानमा प्रयोग हुने प्रविधिको सबैभन्दा सजिलो र सुलभ प्रविधि मानिन्छ, सिसि क्यामेरला । तर बाँके प्रहरीले जनताले सहयोग उठाएर व्यवस्था गरिदिएको सिसि क्यामेरा पनि मर्मत गर्न सकेको छैन । सिसि क्यमेराकै अभावमा गम्भीर अपराध र दुर्घटनाका दोषीहरु पक्राउ पर्न सकेका छैनन् ।
त्यसको एउटा उदाहरण नेपालगन्ज त्रिभुवन चोकमा भएको दुर्घटना र ११ वर्षीया बालिका अनाविया राई ज्यान गएको घटना हो । भदौ ७ गतेको उक्त घटनाका दोषीलाई प्रहरीले यो समाचार तयार पार्दासम्म पक्राउ गर्न सकेको छैन । प्रहरीसँग पक्राउ गर्न सक्ने कुनै आधार पनि देखिँदैन । किनकी घटना राती १० बजेतिर भएको थियो । घटना भएको देख्नेहरु पनि कोही छैनन् । प्रहरीसँग दोष्ीको सुराक पनि केही छैन । अहिले प्रहरीलाई पनि लागेको छ सिसि क्यामेरा भइदिएको भए दोषी पत्ता लाग्ने थियो । स्थानीय पनि सोही कुरा महसुस गरेर प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिप्रति क्रुद्ध भएका छन् । उनीहरुले त्रिभुवन चोकमा प्रशासन र जनप्रतिनिधिविरुद्ध केहीदिन नाराबाजी पनि गरे । त्यसपछि नेपालगन्ज उप-महानगरपालिकालेृ सिसि क्यामेरा मर्मत आफ्नो काम नभएको आशयको विज्ञप्ति निकालेर पन्छिन खोज्यो ।
यता प्रहरीले पनि घटना भएको यतिका दिन भइसक्दा र सिसि क्यामेरा बिग्रेको महिनौँ भइसक्दा पनि मर्मततिर ध्यान दिएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मधुसदन न्यौपाने नगरमा लगाइएका ५६ वटा सिसि क्यामेरामध्ये १६ वटा क्यामेरा मात्रै चलिरहेको बताउँछन् । बाँकी क्यामेराहरु मर्मत गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।
२०७५ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघ, व्यवसायी र तत्कालिन बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङको पहलमा १४ वटा चोकमा ५४ वटा सिसि क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि ती सिसि क्यामेराको मर्मत सम्भार र सन्चालनको जिम्मा प्रहरीलाई दिइएकोमा प्रहरीको वेवास्ताका कारण अहिले करिब ३० क्यामेराहरु बिग्रिएका छन् । सन्चालनमा रहेका क्यामेरा पनि राम्ररी चलिरहेका छैनन् ।
सामान्य बिग्रिदा मर्मत नहुँदा क्यामेराहरु कामै नलाग्नेगरी बिग्रिएका हुन् । क्यामेरा बिग्रिँदा सहरमा अपराधको जोखिम बढेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी न्यौपाने क्यामेरा मर्मतको प्रयास भइरहेको बताउँछन् ।
सिसि क्यामेरा जडान गर्दा निर्माण गरिएको समितिका संयोजक एवं नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य भने सबै क्यामेराहरु विस्थापन गर्नुपर्ने अवस्थामा पुगिसकेको बताउँछन् । उनले समयमै मर्मत नगरिँदा र पुरानो समेत हुँदा अहिले भएका क्यमेराहरु विस्थापन गरेर नयाँ क्यामेरा जडान गर्नुपर्ने अवस्था आइसेको बताए । ‘मर्मतका लागि भनेर अहिलेपनि ३, ४ लाख रुपैयाँ जडान समितिको खातामा होला । तर अब समय बदलिसक्यो । क्यामेरा पुरानो भइसक्यो । यी क्यामेरा विस्थापित गरेर नयाँ मोडेलका घामपानीले नबिग्रिने क्यामेराहरु जडान गर्नुपर्छ । त्यसका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्छ,’ वैश्यले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले सिसि क्यामेराका लागि सरोकारवालाको ध्यानाकर्षण गराएको बताएका छन् । ‘सिसि क्यामेरा अपराधीहरुको मनोबल गिराउने र अपराध अनुसन्धानमा सहायता गर्ने साधन हो । यसको व्यवस्थापनका लागि सरकारलाको ध्यानाकर्षण गराउँदै छौँ,’ विष्टले भने ।
अधिवक्ता विश्वजित तिवारी सिसि क्यामेरा कार्यविधि पालना गराउनमा प्रशासन पनि उदासिन बनेको बताउँछन् । ‘कार्यविधि कागजमा मात्रै सीमित गरिनु हुँदैन कार्यान्वयन गरिनुपर्छ,’ तिवारीले भने, ‘डिजिटल हक अधिकारको प्रत्याभूति गराउनु राज्यको दायित्व हो ।’ क्यामेरा बिग्रनुमा प्रशासन, प्रहरी, जडान गर्दा बनेको समिती र स्थानीय सरकार सबै दोषी भएको तिवारीले बताए ।