चुनावमा पाँच दलीय गठबन्धन बनाउछौँ : माधवकुमार नेपाल
Saturday, September 11th, 2021, 4:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ भाद्र
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र अन्य दलहरु सहित पाँच दलीय गठबन्धन बनाइने बताएका छन् । शनिबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशले नेपालगन्जमा आयोजना गरेको प्रदेश भेला तथा पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको राजनीति वाम लोकतान्त्रिक ध्रुव र दक्षिणपन्थि ध्रूवमा धुव्रिकरण हुने दावी गरे । उनले नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन वाम लोकतान्त्रिक र एमाले सहित अन्य दलहरुको पक्ष दक्षिणपन्थि ध्रुव भएको बताए । ‘हामी लोकतन्त्र, राष्ट्रियता र स्वाभिमानका रक्षक शक्तिहरु वाम लोतान्त्रिक शक्ति हौँ । केपी ओलीको पार्टीसहितका अरु दलहरु दक्षिणपन्थि घटक हुन्,’ अध्यक्ष नेपालले भने ।
नेपालले एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रमा समाहित हुने भनेर प्रचार गरिएको उल्लेख गर्दै त्यो गलत भएको बताए ।
‘संसदमा नाटक देखाइँदै छ’
पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिले एमालेले संसदमा नाटक देखाइरहेको बताए । ‘जसले गर्भमा छुरा घोप्न खोज्छ उसैले बच्चाको माया देखाउँछ भनेझैँ अहिले संसदमा विधिको बारेमा कुरा उठाएर अभद्र नाटक देखाइँदै छ । सभामुख, न्यायाधीश, निर्वाचन आयोग सबैको मानमर्दन गरिँदै छ,’ उनले भने ।
अध्यक्ष नेपालले एमालेले पटक-पटक नाटक देखाउँदै आएको बताउँदै पार्टीमा भएको १० बुँदे सहमतिलाई पनि नाटकको संज्ञा दिए । ‘साँच्चै सहमति गर्ने भए पहिले नै हुन्थ्यो होला,’ नेपालले भने, ‘अदालतको फैसला आउनु पूर्वसन्ध्यामा फैसला प्रभावित हुन्छ की भनेकर सहमतिको नाटक गरिएको हो ।’
नेपालले एमाले आफैले हुकाएको पार्टी भएको स्मरण गराउँदै अहिले केपी शर्मा ओलीले सबै उपलब्धि ध्वस्त पारेपछि विकल्प खडा गर्नुपरेको बताए ।

कार्यक्रममा सहभागी
नयाँ पार्टी बनाउनु हिम्मत भएको दावी
एमाले फुटाएर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेपछि काठमाडौंबाहिर पहिलो भ्रमणमा निस्केका नेता नेपालले आफूले हिम्मतका साथ नयाँ पार्टी गठन गरेर क्रान्तिकारी ज्वालालाई जीवित बनाएको बताए । उनले नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले क्रान्तिकारी ज्वाला निभाइसकेको आरोप लगाए ।
अध्यक्ष नेपालले एमालेको विधानमा अध्यक्षमा शक्ति केन्द्रित गरिएको उल्लेख गर्दै अब अध्यक्षलाई मृत्युदण्ड र आम माफीको अधिकार पनि दिन भन्दै व्यंग्य गरे । उनले भने ‘केपी ओलीले पार्टीलाई निजी कम्पनी बनाइसके । विधानमा अध्यक्षलाई जे पनि गर्नसक्ने अधिकार दिएका छन् । त्यसमा अब अध्यक्षले मृत्युदण्ड पनि दिन मिल्ने र आम माफी पनि दिन मिल्ने व्यवस्था गरे हुन्छ ।’ उनले नेकपा एमाले बुर्जुवाहरुको पनि अधिनायकवादी पार्टी भएको टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादी पार्टी नयाँ मान्यता र नयाँ संस्कार निर्माण गर्न स्थापना गरिएको नेपालको दावी छ । पार्टीले समाजवादको लक्ष्य प्राप्त गर्ने, जनताका आधारभूत समस्याको हल गर्ने, देशको स्वाभिमान र राष्ट्रियताको सम्मान गर्ने उनको भनाइ छ । उनले पार्टीले अहिले नै सुदुरपश्चिम प्रदेश सभामा एक नम्बरको हैसियत बनाइसकेको बताउँदै राम्रो काम गर्दै गएमा जनताले पहिलेको बिरासत मात्रै नहेर्ने दावी गरे । ‘सुर्य चिन्ह जनताले सधैं सम्झिराख्दैनन् । जसले राम्रो काम गर्छ, जो आफ्नो पक्षमा उभिन्छ उसैलाई साथ दिन्छन्,’ उनले भने ।
‘भरपर्दो प्रतिबद्धाता आएपछि मात्रै एमसीसी पास हुन्छ’
नेता नेपालले अमेरिकी परियोजना एमसीसीमा अमेरिकाले सैन्य गतिविधि अन्तर्गग होइन भन्ने लिखित प्रतिबद्धता गरेपछि मात्रै पास गर्न सकिने बताएका छन् । उनले भने, ‘मैले एमसीसीका प्रतिनिधिसँग परियोजना सैन्य रणनीति अन्तर्गत होइन भन्ने लिखित प्रबद्धता गर्न भनेको छु ।’
पूर्वप्रधानमन्त्री नेपालले नेपालको स्वाभिमानमा आँच आउने काम आफहहरुबाट नहुने बताए । बौद्धिक सम्पत्तिमा नेपालको हक, लेखापरीक्षण नेपालले गर्न पाउनुपर्ने, परियोजनाले उपयोग गर्ने जमिनको स्वामित्व नेपाल सरकारको हुने, नेपालका नागरिकले राजगारी पाउने भन्ने कुराको ग्यारेन्टी नभएसम्म परियोजना अघि नबढ्ने बताएका छन् ।