उद्घाटनको डेढ वर्षपछि सन्चालनमा आउँदै ‘फरेन्सिक ल्याब’
Saturday, September 11th, 2021, 4:46 pm
Kalpristha
विधि विज्ञान प्रयोगशाला नेपालगन्जमा कार्यरत प्रहरी निरीक्षक यामलाल बस्नेतले उद्घाटनपछि हालसम्मको अवधिमा भिसेरा परीक्षण र लागुऔषध सम्बन्धि प्रयोगशालामा मेसिन र उपकरण जडान गरिसकिएको जानकारी दिए । अब प्रयोगशाला सन्चालनको अन्तिम तयारीमा रहेको इन्स्पेक्टर बस्नेतले बताए ।
वीरेन्द्र जैसी
नेपालगन्ज, २५ भाद्र
नेपाल प्रहरीका तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनाल २०७६ साल माघ २२ गते आफू अवकाश हुनु ५ दिनअघि नेपालगन्ज आए र भव्य कार्यक्रमका बिच नेपालगन्जमा प्रहरी विधि विज्ञान प्रयोगशाला उद्घाटन गरे । उद्घाटन भएको १९ महिना बित्दा पनि प्रयोेगशाला सन्चालनमा आउन सकेको छैन । लुम्बिनी, कणर्ाली र सुदुरपश्चिमका प्रयोगशालामा परीक्षण गर्नुपर्ने प्रमाणहरु परीक्षण गर्न काठमाडौ पठाउनुबाहेकको अर्को विकल्प छैन । भिसेरा परीक्षणको नतिजा प्राप्त गर्न यस क्षेत्रले अहिलेपनि कम्तिमा २५ दिनदेखि एक वर्षसम्म कुनुपर्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । जुन परीक्षण सामान्य अवस्थामा दुई हप्तामा गर्न सकिन्छ । कणर्ाली प्रदेशका नमुनाहरु काठमाडौँ पठाउन समय, प्रविधि र लगानीका हिसाबले खर्चिलो छ ।
नेपाल प्रहरीका अनुसार केन्द्रिय विधि विज्ञान प्रयोगशालामा जाँच हुने ठोस प्रमाण र रासायनिक प्रमाणका नमुनाहरुमध्ये करिब आधा जति लुम्बिनी, कणर्ाली र सुदुरपश्चिम प्रदेशकै हुने गरेका छन् । आर्थिक वर्ष ०७५/०७६ मा भीसेरा जाँचका लागि लुम्बिनी प्रदेशबाट सात सय ३२, कणर्ाली प्रदेशबाट एक सय ९६ र सुदूरपश्चिम प्रदेशबाट तीन सय तीन वटा नमुना काठमाडौं पठाइएको थियो । जुन देशभरीबाट गरिएको भीसेरा जाँचको ४६ दशमलव ६१ प्रतिशत हुन आउँछ । यही आवश्यकतालाई ध्यानमा राखेर नेपालगन्जमा प्रयोगशाला स्थापना गरिएको उद्घाटनका बेला जानकारी गराइएको थियो ।
नेपालमा फरेन्सिक जाँचका लागि काठमाडौंमा रहेको केन्द्रिय विधि विज्ञान प्रयोगशालाबाहेक धरानमा मात्रै प्रयोगशाला रहेको छ । तर धरानमा पनि भिसेरा परीक्षण मात्रै हुने गरेको छ । काठमाडौं र धरानपछि नेपालमा स्थापना भएको तेस्रो विधि विज्ञान प्रयोगशाला नेपालगन्जस्थित प्रयोगशाला हो ।
२०७६ सालमा खनालले प्रयोगशालाको भवन मात्रै उद्घाटन गरेको केन्द्रिय विधि विज्ञान प्रयोगशाला प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राकेशकुमार सिंहले कालपृष्ठसँग बताए । उद्घाटन कार्यक्रममा भने केही दिनभित्रै प्रयोगशाला सन्चालनमा आउने घोषणा गरिएकोे थियो । तर उद्घाटनको करिब डेढ वर्ष भइसक्दा पनि प्रयोगशाला सन्चालनमा आउन सकेको छैन । खनालले एकैदिन उद्घाटन गरेको र एउटै कम्पाउण्डमा रहेको लागुऔषध दुव्र्यसनविरुद्ध निशुःल्क परामर्श केन्द्र भने सन्चालनमा आइसकेको छ । यद्धपि उक्त केन्द्रको प्रभावकारिता पनि अपेक्षितरुपमा देखिएको छैन ।
केन्द्रिय विधि विज्ञान प्रयोगशाला प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिंहले हालसम्म प्रयोगशाला सन्चालनको लागि करिब ९० प्रतिशत काम सकिएको जानकारी दिए । ‘अब केही महिनामै प्रयोगशाला सन्चालन गर्ने तयारीमा छौँ । प्रयोगशालाको करिब ९० प्रतिशत काम सकिएको छ,’ सिंहले भने । पहिलो चरणमा प्रयोगशालामा भिसेरा परीक्षणको काम सन्चालनमा आउने सिंहले बताएका छन् । शंकास्पद तरिकाले मृत्यु भएका व्यक्तिको पोष्टमार्टमपछि आन्द्रामा भएका केमिकलहरुको परीक्षण गर्ने प्रविधि भिसेरा परीक्षण हो ।
विधि विज्ञान प्रयोगशाला नेपालगन्जमा कार्यरत इन्स्पेक्टर यामलाल बस्नेतले उद्घाटन पछि हालसम्मको अवधिमा भिसेरा परीक्षण र लागुऔषध सम्बन्धि प्रयोगशालामा मेसिन र उपकरण जडान गरिसकिएको जानकारी दिए । अब प्रयोगशाला सन्चालनको अन्तिम तयारीमा रहेको इन्स्पेक्टर बस्नेतले बताए । प्रयोगशालाका मेसिन र उपकरणसँगै प्राप्त नमुनाहरु स्टोर गरिराख्न स्टोर कक्षको पनि निर्माण गरिएको उनले जानकारी दिएका छन् ।
नेपाल सरकारको नियमित बजेटबाट हालसम्म प्रयोगशालामा भवनको सवा तीन करोडसहित करिब पाँच करोड लागत लागिसकेको जानकारी उनले दिए ।
हाल प्रयोगशालामा प्राविधकसहित १३ जना प्रहरी खटाइएका छन् । तीमध्ये तीनजना मात्रै प्राविधिक छन् । प्रयोगशालाको यकिन कर्मचारी संरचना तयार भइसकेको छैन । प्रहरी उपरीक्षक सिंहले केही कर्मचारीहरु थप गरेर प्रयागशालाको काम सुरु गरिने जानकारी दिएका छन् ।
लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका प्रहरी युनिटहरुलाई पायक पर्नेगरि स्थापना गरिएको प्रयोगशालाको महत्व अत्यन्त धेरै रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसी मधुदुदन न्यौपानेले बताए । ‘अहिले प्रहरीले प्रयोगशालामा पठाउनुपर्ने मुख्य नमुनाहरु भिसेरा परीक्षणसँग सम्बन्धित हुन्छन् । त्यसको लागि हामीसँग काठमाडौंभन्दा अर्को विकल्प छैन । नेपालगन्जमा प्रयोगशाला सन्चालनमा आयो भने केशहरु फछ्र्यौटको दर अझै बढ्छ र समयका साथै खर्चको बचत हुन्छ,’ न्यौपानेले भने ।