बाँके जिल्ला प्रशासनको कार्यसम्पादन न्यून स्तरको रहेको खुलासा
Saturday, September 11th, 2021, 5:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ भाद्र
जिल्ला प्रशासन कार्यालय बाँकेको आर्थिक वर्ष २०७७-७८ को कार्यसम्पादन न्यून स्तरको रहेको खुलासा भएको छ । गृह मन्त्रालयले गरेको वार्षिक कार्यसम्पादन मुल्यांकनको नतिजामा बाँके प्रशासनको कार्यसम्पादन स्तर न्यूनको रहेको उल्लेख गरिएको छ ।
मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले २०७५ सालयता हरेक वर्ष कार्यसम्पादन सम्झौतामा आधारित मुल्यांकन गर्दै आएको छ । उक्त मुल्यांकनमको नतिजामा अति उत्कृष्ट, उत्कृष्ट, उत्तम, मध्यम र न्यून गरी पाँचवटा ग्रेड छुट्याउने गरिएकोमा जिल्ला प्रशासन कार्यालय बाँके अन्तिम ग्रेडमा परेको हो ।
कार्यसम्पादन मुल्यांकन गरिएको अवधिमा लोकप्रिय भनिएका रामबहादुर कुरुम्वाङ प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । कुरुम्वाङले २०७६ साल साउन १६ गतेदेखि २०७८ वैशाख १ गतेसम्म प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निभाएका थिए । त्यसपछि हालसम्म शिवराम गेलाल प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका छन् ।
विज्ञप्तिमा अति उत्कृष्ट तीन, उत्कृष्ट कार्यसम्पादन स्तर भएका १४ जिल्ला , उत्तम कार्यसम्पादन भएका जिल्ला १८, मध्यम र न्यून कार्यसम्पादन स्तर भएका जिल्ला २१-२१ वटा रहेका छन् ।
देशभरमै झापा, अर्घाखाँची र रुकुमपूर्व गरी तीन जिल्ला प्रथम, ललितपुर र रुकुम पश्चिम द्वितिय, र गुल्मी जिल्ला तृतिय भएका छन् । ती जिल्लाका कार्यालयलाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्मान गरिने मन्त्रालयले जनाएको छ ।
के-के मुल्यांकन हुन्छ ?
गृह प्रशासन सुधार कार्य योजना, २०७४ मा विभागीय प्रमुख र कार्यालय प्रमुखसँग कार्य विवरण र सूचक तयार गरी कार्यसम्पादन सम्झौता गराई काममा खटाउन सक्ने व्यवस्था उल्लेख छ ।
सोही व्यवस्था अनुसार मन्त्रालयको नीति, योजना अनुगमन तथा मुल्याङ्कन महाशाखाले कार्यसम्पादन सम्झौता गर्ने गर्छ । जसमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन तथा सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन समन्वय तथा सदाचार र आर्थिक अनुशासन गरी ६ वटा बिषयगत क्षेत्रहरु समेटिएका हुन्छन् । ती विषयगत क्षेत्रको कार्यसम्पादन मुल्यांकन गरेर नतिजा प्रकाशन गर्ने गरिन्छ ।