धम्बोझी मावि : अभावमा पनि उत्कृष्ट विद्यालय बन्न सफल
Saturday, September 11th, 2021, 6:20 pm
Kalpristha
शिक्षा मन्त्रालयका अनुसार उपत्यकामा र तराई क्षेत्रमा ४० विद्यार्थी बराबर एक शिक्षकले हेर्नुपर्ने नियम रहेको छ । यस खण्डमा यहाँ ती हजारभन्दा बढी विद्यार्थीहरुलाई महिला शिक्षक २१ र पुरुष शिक्षक ३१ गरी ५२ जना शिक्षकहरु हेर्नु पर्ने बाध्यता रहेको छ । एक शिक्षक बराबर ६३ विद्यार्थीहरु हेर्नुपर्ने अवस्था रहेको सहायक प्रधानाध्यापक पूणर्बहादुर शाहीले बताए ।
अंजली राजी
नेपालगन्ज, २५ भाद्र
नेपालगन्जमा रहेको धम्बोझी माध्यामिक विद्यालयको नाम आफैंमा एक इतिहास हो । सामुदायिक विद्यालयतर्फबाट शिक्षा क्षेत्रमा जिल्ला मै आफ्नौ नाम उदाहरणीय बनाउन सफल धम्बोझी विद्यालयलाई नेपालगन्ज सहरको इतिहासको एक पाटो हो भन्दा दुई मत नहोला ।
विगतलाई सम्झिँदा खुल्ला चौरमा रहेका कुसुम, पिपल र अन्य बिरुवाको छाहारीमा विद्यार्थीहरुलाई जम्मा पारी शिक्षक सर्वश्री नागेश्वर प्रसाद शर्मा, हरिनन्दन मल्लिक, स्वामीदयाल मिश्रज्युलगायत पढाएका ती पल सायदै धेरैलाई जानकारी हुन सक्छ (यस विद्यालयको पुरानो भवन शान्ति विद्या निकेतन मा.वि भएको स्थान) ।
विद्यालय स्थापना गर्न तत्कालीन राजा महेन्द्र बीरविक्रम शाहको पनि सहयोग रहेको थियो । राजा महेन्द्र पश्चिम नेपाल सवारी भएको समयमा केही शिक्षित, समाजसेवीले विद्यार्थीहरुलाई जम्मा पारी पढाइरहेको सूचना पाएका थिए । उनले शिक्षक स्वं. नागेश्वर प्रसाद शर्मालाई बोलाएर विद्यालय स्थापनाका लागि वडा प्रमुखलाई निर्देशनसमेत दिएको जानकारहरु बताउँछन् । निर्देशन पश्चात स्वं. नागेश्वर प्रसाद शर्मालाई प्र.अको जिम्मेवारी दिई वि.सं. २०१४ साल माघ १२ गते बसन्त पञ्चमीका दिन विद्यालयको स्थापना भएको थियो ।
केही समयपछि उक्त स्थानमा प्राथमिक तहबाट विद्यालय संचालनमा ल्याइयो । विद्यालय संचालनपछि विद्यालयको पक्की भवन भएता पनि पर्याप्र्त शिक्षक दरबन्दी, अन्य भौतिक व्यवस्थापनको अभावमा विद्यालयले खासै गति लिन नसकेको जाकारहरुबाट बुझ्न सकिन्छ ।
वि.सं. २०२९ सालमा निम्न माध्यमिक तह २०५७ सालमा मावि तह हुँदै २०६४ सालदेखि उच्च माध्यमिक तहको अध्ययन हालसम्म हँुदै आइरहेको छ ।
धम्बोझी माविमा २०६४ सालमा ११/१२ मा वाणिज्य र शिक्षा संकायका कक्षामा संचालन भएको थियो । वि.सं. २०६५ सालमा विज्ञान संकाय र वि.सं.२०७० साल देखि शिक्षा विभागबाट स्वीकृति लिई प्रावधिकधारतर्फ कम्प्युटर इन्जिनियरको कक्षा ९/१०मा संचालन हुँदै आएको छ ।
हाल धम्बोझी मावि वडा नम्बर १ को पर्यटकीय स्थल वाटरपार्कको पश्चिमपट्टी भीमकाय शैक्षिक भवनमा भइरहेको छ । सो भवन भारतीय राजदुतावासको आर्थिक तथा प्रावधिक सहयोगमा निर्माण गरिएको हो । वि.संं. २०६८ कार्तिक १६ गते सो भवनको विधिवत् उद्घाटन गरिएको थियो ।
यस धम्बोजी माध्यमिक विद्यालयको कूल क्षेत्रफल तीन हजार दुई सय आठ वर्ग मिटर रहेको छ । विद्यालयको भवनमा ५४ वटा कोठा रहेका छन् । तीन हजार तीन सय विद्यार्थीहरु अध्ययनरत धम्बोझीमा बाहिरी र भित्री जिल्लाका मिश्रित सबै समुदायका विद्यार्थी अध्ययनरत छन् ।
शिक्षा मन्त्रालयका अनुसार उपत्यकामा र तराई क्षेत्रमा ४० विद्यार्थी बराबर एक शिक्षकले हेर्नुपर्ने नियम रहेको छ । यस खण्डमा यहाँ ती हजारभन्दा बढी विद्यार्थीहरुलाई महिला शिक्षक २१ र पुरुष शिक्षक ३१ गरी ५२ जना शिक्षकहरु हेर्नु पर्ने बाध्यता रहेको छ । एक शिक्षक बराबर ६३ विद्यार्थीहरु हेर्नुपर्ने अवस्था रहेको सहायक प्रधानाध्यापक पूणर्बहादुर शाहीले बताए । विद्यार्थीको चाप बढी हुँदा प्राथनाका लागि एवं खेल्ने मैदान, कार्यक्रम संचालन गर्न नमिल्ने उनको गुनासो रहेको छ ।
शिक्षक दरबन्दी भवन र जग्गा थप उपयुक्त कक्षा कोठा आदि समस्या समाधानका लागि विद्यालयले नेपालगन्ज उप-महानगरपालिका-१ देखि नेपालगन्ज उप-महानगरपालिका कार्यलय, जिल्ला प्रशासन कार्यलय बाँकेसम्म आफ्ना समस्याका बारेमा बताइसकेको शाहीले बताए । ॅबारम्बार सिडिओ सरलाई जानकारी गराउने पनि गरिएको छ,’ उनले बताए ।
शाहीले थपे, ‘हामीले विद्यालयको पछाडि रहेको सरकारी जग्गा पनि माग गरेका हौँ । तर सम्बन्धित निकाय स्थानीय सरकारले यस विद्यालयको समस्यालाई व्यवस्ता गर्दा यस समस्यालाई केहि सहज पार्नका निम्ति विधालयले स्वयमको खर्चमा १६जना पार्ट टाइम शिक्षक राखेर कक्षा संचालन गर्दै आई रहेका छौं । विधार्थीको बढ्दो चाप भवनको कमीका कारण विद्यालयले कक्षा दुई सिप्टमा संचालन गर्दै आएकोे छ ।’
लामो समय अध्यापन गराएकी भूपु प्रअ किरण आचार्य विद्यालयले बालबालिकालाई दिने शिक्षा व्यवहारिक रहेको बताउँछिन् । आचार्य विद्यालयको पढाइ राम्रो भएका कारण विद्यार्थीको संख्या धेरै रहेको औल्याउँछिन् ।
आचार्य विगत सम्झँदै भन्छिन्, ‘लगभग ६ सात वर्ष अघि धम्बोजी मावि विद्यालयका केहि विधार्थी दुर्वेसनमा फसेका थिए । एक स्थानीय द्वारा जानकारी प्राप्त भएपछि म र विद्यालय प्रशासनसहितको टोलीले ती विधार्थीहरुको खोजी गर्यौ र खोजी पश्चात ती विधार्थीहरुलाई सजाय नदिई मनो परामर्श एवं अभिभावकसगँ छलफल गरेर दुर्वेशनबाट छुटाउन सफल भयौं । अहिले उनीहरु सरकारी क्षेत्रहरुमा कार्यरत छन् । उनीहरुलाई देख्दा खुसी लाग्छ ।’
उनी विद्यालयका सबै शिक्षक कर्मचारीहरुले शिक्षामा जोड दिँदै आएपनि अभावमा विद्यालय संचालन भई रहेका उनी गुनासो गर्छिन् ।
हाल विद्यालयमा अतिरिक्त क्रियाकलाप बाल कल्ब संचालनमा छन् । विद्यालयको नजिता जिल्लामै राम्रो रहेको छ । यस वर्षको एसईईमा एक सय एकासी विधार्थीहरुलाई राम्रो अंकमा उत्र्तीण गराउन विद्यालय सफल रह्यो ।
विद्यालयमा बालबालिकाका लागि खेलकुद गर्र्ने स्थानको चरम अभाव रहेको छ । तर पनि गत वर्ष २०७७ मा बाँके जिल्लाको उत्कृष्ट विद्यालय धम्बोझी हुन सफल भएको शाही बताउँछन् ।
शाही ‘विद्यालयको हरेक नतिजामा सबै यहाँका सर म्यामको ठूलो देन छ ’ भन्छन् ।
‘हाम्रो विद्यालयको राम्रो अभ्यास भनेकै शिक्षा मन्त्रालयबाट आएका आदेशहरुको पालना गर्नु हो । साथै सरकारी जग्गा प्राप्त भएको भए विद्यालयलाई निकै सहयोग हुन्थ्यो,’ प्रअ बाम देव सुवेदीले भने ।
प्रअ सुवेदी विद्यालयका समस्या र अभावका विषयलाई लिएर चिन्तित देखिन्छन् । उनी भन्छन्, ॅहामीले विद्यालयको पछाडि रहेको सरकारी जग्गा माग गर्दा नदिने उल्टै विद्यालयले सरकारी जग्गा दाबेको भन्दै विद्यालयको दुई कोठे भवन भत्काउने व्यक्तिगत सूचना दिएका छन् । म यस विद्यालयमा सात वर्षदेखि अध्यापन गराइरहेको छु । यस विद्यालयका लागि यहाँका शिक्षक र विद्यालय परिवारले मात्र गरिरहेका छन् ।’