थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै
Sunday, September 12th, 2021, 5:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ भाद्र
थारू समुदायले आइतबार ‘अट्वारी पर्व’ धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने थारू समुदायले माघीपछिको ठूलो पर्वका रुपमा मनाउने ‘अट्वारी पर्व’ सोमबार समापन हुनेछ ।
परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो । यस पर्वमा पुरुषहरुले व्रत लिने गर्दछन् । आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदी चामलको रोटी खाने गर्छन् । बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । जसलाई अग्रासन भनिन्छ । यसरी छुट्याएको परिकार सोमबार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाले पर्वका अवसरमा आइतबार र सोमबार दुई दिन बिदा दिएको छ । दाङको घोराही र तुलसीपुर उप-महानगरपालिकासहित राप्ती, दङ्गीशरण, गढवा गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएका छन् ।
अट्वारी पर्वको अघिल्लो रात दर (भिन्सर्या भाट) खाने गर्दछन् । दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् । दिउँसो पुरुष बर्तालु नुहाइधुवाई गरेर चामलको पिठोको ‘ठोप्वा’ गोलो आकारको रोटी पकाउँछन् । रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ । सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरु रोटीभन्दा ठूलो हुन्छ । पहिलो रोटी थारू लोकविश्वासअनुसार भीम (पाण्डुका माइला पुत्र)का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै बर्तालुहरु गोबरले लिपेका ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ ।
टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घ्यू राखिन्छ । बर्तालुले आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउँछन् । यसपछि एक दुना टपरीबाट अर्को दुना टपरीमा खानेकुरा अलिअलि निकाल्छन् । यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ ।
अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाई गरेर बर्तालुहरूले तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाउँछन् । यसमा पवैको साग सिल्टुङ, पाप्रो, चिचिण्डो अनिवार्य हुनुपर्छ । अन्य मौसमी तरकारी भए पनि राम्रो मानिन्छ । खाना पकाइसकेपछि सबै बर्तालु लिपेको चोखो ठाउँमा बस्छन् । आफ्नो टपरी र दुनाबाट अलिअलि खाना झिकेर अग्निलाई चढाउँछन् ।
छुट्टै दुना, टपरीमा केही अंश छुट्याएर राख्छन् । त्सपछि आफू खान्छन् । साँझ निकालिएको खानेकुरा र बिहानको खाना ‘अग्रासन’ आफ्ना दिदीबहिनीलाई दिन जान्छन् । आफूले खाने खाना साकाहारी भए पनि दिदीबहिनीलाई दिन जाँदा माछा, मासु पकाएर दिने चलन छ । चेलीबेटी अग्रासन आउने दिन हर्षित हुन्छन् । माइतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्छन् ।
यस प्रचलनले माइतीको माया, पे्रम र सद्भावलाई दर्शाउँछ । दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीकका रुपमा पनि यस चाडलाई लिने गरिन्छ ।