डोल्पामा पहिलो पटक एकीकृत सार्वजनिक सुनुवाई
Sunday, September 12th, 2021, 7:06 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २७ भाद्र
डोल्पा जिल्लामा पहिलोपटक जिल्लाका सबै सरकारी सेवा प्रदायक निकायहरुको एकीकृत सार्वजनिक सुनुवाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा पत्रकार महासंघको सहजीकरणमा गरिएको जिल्लास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले जिल्लास्थित सरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवा सन्तोषजनक नरहेको बताए ।
जिल्ला समन्वय समिति दुनैको प्राङ्गणमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लास्थित ३३ ओटा प्रादेशिक तथा संघीय कार्यालयहरुका कार्यालय प्रमुखहरु सहभागी रहेका थिए ।
सहभागी नागरिकले जिल्लास्थित कार्यालयमार्फत सन्चालित कार्यक्रम पारदर्शी नभएको, सत्ता शक्ति र पहुँचको आधारमा कार्यक्रम वितरण गरिने गरिएको गुनासो पोखेका थिए । जिल्लामा सबैभन्दा बढी डिभिजन वन कार्यालयमा योजनाको नाममा बेथिती बढेको, सर्वसाधारणले सूचना माग्दासमेत सुचना नपाएको, आर्थिक मापदण्ड भन्दा बाहिर गएर काम गरिएको, प्रदेश र संघबाट आएका योजनामा प्राविधिकको मिलोमतोमा कमिशन खाएर योजना सम्झौता र भुक्तानी गर्ने गरिएको आरोप समेत सहभागीले लगाएका छन् । सर्वसाधारणले उठाएका सवालका सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरुले जवाफ दिएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले जिल्ला प्रशासनले पहिलो पटक रचनात्मक कार्य गरेको बताउँदै सुशासनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी हुने भएकाले निरन्तरता दिनु पर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले सरकारी कार्यालयको सेवाप्रवाह सम्बन्धमा उठेका सवालहरुको जवाफ दिदै जवाफदेहिता, उत्तरदायित्व र पारदर्शितासहित थप जिम्मेवार सेवाप्रदायकको रुपमा कार्यालय सन्चालन गर्न प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
फोटो ः सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरु