प्राविधिक शिक्षाको हब बन्दै नेपालगन्ज
Monday, September 13th, 2021, 12:39 pm
Kalpristha
भेरी प्राविधिक शिक्षालयमा विभिन्न १४ विषयमा अध्यापन हुन्छ । तीमध्ये तीनवटा विषय स्वास्थ्यसँग सम्बन्धित छन् । शिक्षलयमा हरेक वर्ष करिब ४ सय ३० जनाले प्राविधिक सीप आर्जनका लागि भर्ना लिन पाउँछन् । नेपालगन्जमा रहेका अन्य संस्थाहरुले पनि स्वास्थ्य बाहेकका सिभिल इन्जिनियरिङदेखि कम्प्युटर इन्जिनियरिङसम्म अध्यापन गराइरहेका छन् ।
वीरेन्द्र जैसी
नेपालगन्ज, २२ भाद्र
प्राविधिक शिक्षा र व्यावसायिक तालिम परिषद सिटिइभिटीका अनुसार लुम्बिनी प्रदेशमा एक सय ८३ संस्थामा प्राविधिक पढाई हुन्छ । देशभरमा प्राविधिक विषय पढाई हुने संस्थाको संख्याका हिसाबले लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ । सबैभन्दा धेरै बागमति प्रदेशमा दुई सय ८४ र सबैभन्दा कम गण्डकी प्रदेशका एक सय १० संस्थामा प्राविधिक विषय पढाई हुन्छ । लुम्बिनी प्रदेशका सबै जिल्लामध्ये प्राविधिक विषय अध्यापन हुने संस्थाको संख्याका हिसाबले बाँके दोस्रो स्थानमा छ । सबैभन्दा बढी दाङमा ४४ संस्थामा प्राविधिक शिक्षाको पढाई हुन्छ भने रुपन्देहीमा ४१ र बाँकेमा २४ संस्थामा प्राविधिक विषय पढाई हुन्छ ।
देशभरका मुख्य सहरहरुको तुलना गर्दा विराटनगर महानगरपालिकामा भन्दा बढी नेपालगन्जमा प्राविधिक शिक्षा पढाई हुने संस्थाहरु छन् । प्रदेश पाँचका उप-महागरपालिकामध्ये बुटवल र घोराहीपछि नेपालगन्जमा धेरै संस्थाहरु सन्चालनमा छन् । बुटवलमा २३, घोराहीमा १९, नेपालगन्जमा १७ र तुलसीपुरमा १४ वटा संस्थाहरुले प्राविधिक विषय पढाइरहेका छन् । नेपालगन्जमा सन्चालित १७ प्राविधिक पढाई हुने संस्थामध्ये नौ वटा संस्थामा स्वास्थ्य सम्बन्धी विषयहरु मात्रै पढाइ हुन्छ । बाँकीमा स्वास्थ्यका साथै अन्य विषयहरु पनि पढाइ हुने गरेको छ ।
नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय यस क्षेत्रकै सबैभन्दा ठूलो सरकारी प्राविधिक शिक्षालय हो । भेरी प्राविधिक शिक्षालयमा विभिन्न १४ विषयमा अध्यापन हुन्छ । तीमध्ये तीनवटा विषय स्वास्थ्यसँग सम्बन्धित छन् । शिक्षलयमा हरेक वर्ष करिब ४ सय ३० जनाले प्राविधिक सीप आर्जनका लागि भर्ना लिन पाउँछन् । भेरी प्राविधिक शिक्षालय देशका नमुना विद्यालयमध्ये एक हो ।
नेपालगन्जमा रहेका अन्य संस्थाहरुले पनि स्वास्थ्य बाहेकका सिभिल इन्जिनियरिङदेखि कम्प्युटर इन्जिनियरिङसम्म अध्यापन गराइरहेका छन् ।
नेपालगन्ज हेल्थ क्याम्पसका प्रबन्ध निर्देशक मैकुलाल वाल्मिकी नेपालगन्जमा प्रविधिक शिक्षाको राम्रो संभावना रहेको बताउँछन् । ‘प्राविधिक विषयको पढाईमा नेपालगन्ज लुम्बिनी, कणर्ाली र सुदुरपश्चिमको केन्द्र नै हो । यसले नेपालको विशेषगरी आर्थिक र भौगोलिक हिसाबले विपन्न र विकट क्षेत्रका नयाँ पुस्तालाई प्राविधिक सीप दिइरहेको छ । स्वास्थ्य मात्रै नभई अन्य प्राविधिक विषयका संस्थाहरु पनि राम्रो सुविधासहित सन्चालनमा छन्,’ उनले भने ।
नेपालगन्जमा सन्चालित प्राविधिक शिक्षा पढाइ हुने संस्थाहरुमध्ये भेरी प्राविधिक शिक्षालय, सुस्मा कोइराला मेमोरियल ट्रस्ट र कलेज अफ अपथाल्मिक साइन्स फत्तेबाल आँखा अस्पतालबाहेक अरु सबै निजी क्षेत्रबाट सन्चालित संस्थाहरु हुन् ।
कलेज अफ अपथाल्मिक साइन्स नेपालका सात नेत्र विज्ञान कलेज मध्ये एक प्रतिष्ठित कलेज हो । यो कलेज नेपाल नेत्र ज्योति संघ र फतेह बाल आँखा अस्पतालको साझेदारीमा स्थापित भएको थियो । कलेजमा नेत्र विज्ञानमा पुणर्कालीन तीन वर्षीय डिप्लोमा स्तरको शिक्षा प्रदान गरिन्छ । पुस्तकालय, प्रयोगशाला, परामर्श, सम्मेलन, मल्टीमीडिया, जर्नल लगायतका सुविधाहरु कलेजमा छन् ।
यसबाहेक धम्बोझी माध्यमिक विद्यालयमा पनि कक्षा नौ देखि नै कम्प्युटर इन्जिनियरिङको पढाइ भइरहेको छ ।
नेपालगन्जमा सन्चालित प्राविधिक विद्यालयहरु र उनीहरुले प्रदान गरिरहेको सेवाका शिसाबमा अब नेपालगन्ज प्राविधिक शिक्षाको लागि हब भइसकेको नेपालगन्ज टेक्निकल कलेजका निर्देशक किशोर कुमार पाण्डे बताउँछन् । ‘सिटिइभिटीले विकास गरेको पाठ्यक्रमअनुसारका लगभग सबै विषयहरु यहाँ पढाई भइरहेका छन् । सरकारी विद्यालयमा पनि प्राविधिक शिक्षा पढाई सुरु भइसकेको छ । यहाँ स्थानीय मात्रै नभई जिल्ला बाहिर र प्रदेशबाहिरबाट समेत विद्यार्थीहरु आउने भएकोले अब नेपालगन्ज प्राविधिक शिक्षाको पनि हब भइसकेको भन्न सकिन्छ,’ पाण्डेले कालपृष्ठसँग भने ।
प्राविधिक विषय अध्ययनका लागि विद्यार्थीहरुको आकर्षण पनि उच्च छ । तीनवटा विषयमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको नेपालगन्ज टेक्निकल स्कुलका टेक्निकल चिफ पवन कैराती एउटा विषयमा ४० जना विद्यार्थी मात्रै भर्ना गर्न पाउने भएपनि सबै विषयमा करिब ६ सात सय जना विद्यार्थीहरुको आवेदन पर्ने गरेको कैराती बताउँछन् । ‘विद्यार्थीहरुको चाप प्राविधिक शिक्षामा धेरै छ । अब यसलाई थप गुणस्तरीय सुलभ बनाउँदै लैजाने चुनौति भने सबैका सामू छ,’ कैरातीले भने ।
नेपालगन्जमा रहेका प्राविधिक शिक्षालयहरु स्रोत : सिटिइभिटी
नेपालगन्जमा रहेका प्राविधिक शिक्षालयहरु स्रोत : सिटिइभिटी
नेपालगन्जमा रहेका प्राविधिक शिक्षालयहरु स्रोत : सिटिइभिटी