विपन्नलाई घर बनाइदिँदै तेक्वान्दोका खेलाडी
Monday, September 13th, 2021, 1:41 pm
Kalpristha
अन्जली राजी
नेपालगन्ज, २८ भाद्र
बाँकेको बैजनाथ गाउँपालिका–६ जि गाँउका तेक्वान्दो खेलाडीहरु आजभोली प्रशिक्षणका साथै दिउँसोको टन्टलापुर घाम सहँदै घर बनाउनेका काम गरिरहेको अवस्थामा भेटिन्छन् । उनीहरु स्थानीय ६० वर्षीया खिम सरह सुनारको घर बनाउने अभियानमा जुटेका छन् ।
सुनार एकल महिला हुन् । उनका श्रीमान्को निधन भएको पाँच वर्ष भयो । जेष्ठ नागरिक खिम सरह सुनारको धन भनेकै एक सानो घर थियो । बैजनाथ गाँउपालिका–६ स्थित १० धुरमा उनको घर रहेको थियो । उनको घर माटो र खरले छाएको सानो झुपडी थियो । उक्त घर गत साताको वर्षातमा पानी चुहिएर हिलाम्य भएर भत्कने अवस्थामा पुगेपछि बैजनाथ गाँउपालिका जि गाँउ तेक्वान्दो दोजाङ्गका प्रमुख प्रशिक्षक सुभाष जिएम र उनका खेलाडी प्रशिर्थाीहरुले सुनारको घर निर्माण अभियान सुरु गरेका हुन् ।
खरको छानो र माटोको घरलाई पूर्णरुपमा भत्काइ नयाँ घर बनाउने कार्यमा प्रमुख प्रशिक्षक सुभाष एवम् उनका खेलाडीहरु जुटेका छन् ।

उक्त घर सिमेन्टको ब्लकको भित्ता र टिनको छानासहितको निर्माण हुँदैछ । बरण्डासहितको एक कोठे घर बनाइने प्रमुख प्रशिक्षक जिएमले बताए । घरअभियानमा उनीहरुलाई स्थानीय मनकारी व्यवसायी किरण थापा, केबी टे«डर्स्ले पनि साथ दिएका छन् । कोहलपुर १२ स्थित किशोरी बालक्लबले राशन र बैजनाथका केही युवाकहरुले चार हजार रुपैयाँ संकलन गरी सहयोग प्रदान गरेका प्रशिक्षक जिएमले बताए ।
घर अभियानका लागि सहयोग सक्दो सहयोग गरिदिन अपिल गर्दै सुभाषले घर निर्माणपछि रकम बचेका बैजनाथ गाँउपालिकाको अनाथ आश्रममा दान गर्ने बताएका छन् ।
उक्त घरमा खिमकी छोरी गीता सुनार र तीन नाति, दुई नातिनी गरी सातजना बस्छन् । उनकी छोरी गीता बेरोजगार छिन् ।
खिम भन्छिन्, ‘म बुढी मान्छे केही गरेर खाउँ भने शरीरले भ्याउदैँन, मेरो छोरा वा मलाई गरिदिने भनेको कोइ छैन । गाउँका छोराहरुले घर बनाइदिने भएपछि ठूलो भरोसा पलाएको छ ।’