भेरी अस्पतालमा नियम मिचेर कर्मचारी भर्ना
Tuesday, September 14th, 2021, 11:30 am
Kalpristha
अस्पताल स्रोतका अनुसार २२ जनामध्ये १० जना कर्मचारीहरु त झन् कुनै प्रतिस्पर्धामा सहभागी नगराएरै नियुक्त गरिएको छ । जसमा एकजना अहेब, तीनजना हेल्थ असिस्टेन्ट, तीनजना खरिदार, एकजना मनोपरामर्शदाता र एकजना कम्प्युटर सहायक रहेका छन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ भाद्र
भेरी अस्पतालमा अस्पताल विकास समितिले अनियमित तरिकाले कर्मचारी भर्ना गरेको छ । २२ जना कर्मचारीहरुलाई प्रक्रिया मिचेर भर्ना गरिएको पाइएको हो । भर्ना गरिएका कर्मचारीहरु एनेस्थियोलोजिष्टदेखि कम्पुटर सहायकसम्म छन् । उनीहरुलाई भदौ १ गतेदेखि ६ महिना अवधिका लागि करारमा खटाइएको छ ।
कर्मचारी भर्ना गर्दा विज्ञापन गर्नुपर्ने, परीक्षा लिनुपर्ने र नतिजा प्रकाशन गरी कर्मचारी नियुक्त गर्नुपर्नेमा प्रक्रिया नपु¥याएरै कर्मचारी भर्ना गरिएको हो । अस्पताल प्रशासनका अनुसार १२ जना पहिले नै आह्वान गरिएको विज्ञापनको नतिजामा वैकल्पिक सूचिमा परेका कर्मचारीहरुलाई अर्काेपटक नियुक्त गरिएको हो । ९ जना कर्मचारीहरु भने अस्पताल विकास समितिले विज्ञापन नै नगरेर भर्ना गरेको अस्पताल स्रोतले जानकारी दियो ।
ती कर्मचारीका अनुसार १० जना स्टाफ नर्स, एकजना अहेब र एकजना हेल्थ असिस्टेन्टलाई पहिले नै आह्वान गरिएको विज्ञापनमा वैकल्पिक सूचिमा परेकाहरुलाई अर्काेपटक विज्ञापन नै नगरी भर्ना नियुक्त गरिएको थियो ।
कोभिड–१९ विरुद्ध खटाउन सरकारले ११ जनाको दरबन्दी स्वीकृत गरेको बेला लिइएको परीक्षामा वैकल्पिक सूचिमा परेकाहरुमध्ये केहीलाई अर्काेपटक स्वीकृत गराइएको दरबन्दीमा परीक्षा नै नलिएर नियुक्त गरिएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापाले हालको अवस्थामा कोभिड वार्डमा कर्मचारीको आवश्यकता भएको र पटक–पटक विज्ञापन गर्दा पनि आवेदन नपर्ने गरेकोमा पहिलेकै वैकल्पिक उम्मेदवारहरुलाई विकास समितिले नियुक्त गरेको उनले बताए ।
अस्पताल स्रोतका अनुसार २२ जनामध्ये १० जना कर्मचारीहरु त झन् कुनै प्रतिस्पर्धामा सहभागी नगराएरै नियुक्त गरिएको छ । जसमा एकजना अहेब, तीनजना हेल्थ असिस्टेन्ट, तीनजना खरिदार, एकजना मनोपरामर्शदाता र एकजना कम्प्युटर सहायक रहेका छन् ।
अस्पताल विकास समितीले समितीमा भएका व्यक्तिहरुको भागमा पर्नेगरी नियम मिचेर कर्मचारीहरु नियुक्त गरिएको अस्पतालका एक कर्मचारीले आरोप लगाए । उनले त्यसविरुद्धमा आवाज उठाउँदा प्रलोभनमा पार्ने प्रयास गरिएको बताए । अस्पताल विकास समितीका पदाधिकारीहरु पनि विज्ञापन नगरेरै कर्मचारी भर्ना गरिएको स्वीकार्छन् ।
अस्पताल विकास समितीका सदस्य कृष्णप्रसाद श्रेष्ठले कर्मचारी नियुक्तिमा कुनै अनियमितता नगरिएको दावी गरे । विकास समितीले स्वीकृत दरबन्दीमा कर्मचारीहरु भर्ना गरेको उनको भनाइ छ । तर विज्ञापन नै नगरेर कर्मचारीहरु नियुक्त गरिएछन् नि?भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘विकास समितीले आवश्यकतालाई हेरेर कर्मचारी भर्ना गर्न सक्छ । त्यसमा योग्य कर्मचारी नै नियुक्त भएका छन् ।’
अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धिताल पनि समितीलाई आवश्यकता हेरेर करारमा कर्मचारी भर्ना गर्न सक्ने अधिकार रहेको बताउँछन् । करारमा कर्मचारी भर्ना गर्दा विज्ञापन नै गर्नुपर्ने बाध्यता नहुने उनको तर्क छ ।
‘अस्पतालको आवश्यकता हेरेर समितीले करारमा कर्मचारी भर्ना गर्न सक्छ । विज्ञापन गर्नैपर्छ भन्ने छैन । हामीले योग्यता हेरेर कर्मचारीहरु भर्ना गरेका हौँ । प्रकृया नमिलेको होइन,’ धितालले भने । उनले अस्पतालमा लामो समयदेखि स्वयंसेवा गर्दै आएका केही जनालाई पनि नियुक्ति दिइएको बताएका छन् । ‘नियुक्ति पाएकाहरु अयोग्य रहेको पाइएमा ६ महिनापछि अस्पतालले हटाउन सक्छ,’ उनले थपे ।
अस्पतालमा कार्यरत एक उच्च पदस्थ कर्मचारीले राजनीतिक र समितीमा रहेका मानिसहरुको भागबण्डाका आधारमा आफन्तहरुलाई अस्पतालमा भर्ना गरिएको बताए । कुनैपनि सार्वजनिक संस्थाहरुमा कर्मचारी भर्ना गर्दा विज्ञापन गर्नुपर्ने नियम भएपनि समितिले करारमा कर्मचारी भर्ना गर्दा प्रक्रिया बिनैं गरेको छ ।