विद्यालयको जग्गामा जबरजस्ती बाटो निर्माण
Tuesday, September 14th, 2021, 10:00 pm
Kalpristha
केही व्यक्तिहरूले जमिन प्लटिङ गर्ने र त्यहाँ रहेको जमिनमा अवैध कब्जा जमाउने स्वार्थ पूर्तिका लागि उनीहरूले गुण्डागर्दी शैलीमा बाटो निर्माण गरेको पाइएको छ । अवैद्य तरिकाले बाटो निर्माण भइरहेको औपचारिक रुपले नै जानकारी पाएका र रोक्न अनुरोध गरिएका नेपालगन्ज उप-महानगरपालिका एवं बाँके जिल्ला प्रशासन मुकदर्शक बन्न पुगेका छन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ भाद्र
सामान्यतया स्थानीय स्तरमा बाटो निर्माण गर्दा स्थानीय सरकारको अनुमति लिनु पर्दछ । झन् सार्वजनिक संस्थाको जमिनमा कुनै निर्माण गर्नुपरे संस्थाको पनि आधिकारिक अनुमति आवश्यक हुन्छ । त्यसमाथि बाटो निर्माण गर्न दिने वा नदिने भन्ने कुरा स्वामित्व भएको संस्थाको निणर्यमा भर पर्छ । तर नेपालगन्जमा एउटा विद्यालयको जमिनमा विद्यालय मात्रै नभइ कुनैपनि निकायको जानकारी र अनुमति बिना नै बाटो निर्माण गरिएको छ । केही व्यक्तिहरूले जमिन प्लटिङ गर्ने र त्यहाँ रहेको जमिनमा अवैध कब्जा जमाउने स्वार्थ पूर्तिका लागि उनीहरूले गुण्डागर्दी शैलीमा बाटो निर्माण गरेको पाइएको छ । अवैद्य तरिकाले बाटो निर्माण भइरहेको औपचारिक रुपले नै जानकारी पाएका र रोक्न अनुरोध गरिएका नेपालगन्ज उप-महानगरपालिका एवं बाँके जिल्ला प्रशासन मुकदर्शक बन्न पुगेका छन् ।
नेपालगन्ज-७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय नेपालगन्जको ऐतिहासिक विद्यालय हो । उक्त विद्यालयको लागि स्थापनाकालमा विभिन्न शिक्षाप्रेमी दाताहरूले जग्गा दान गरेका थिए । सोही बेला एकजना दाताले कारकाँदोमा स्कुलका नाममा दान गरेको तीन बिघा १६ धुर जग्गा छ । सोही जग्गामा केही व्यक्तिहरूले निजी प्रयोजनका लागि अनधिकृतरूपमा बाटो निर्माण गरेका हुन् । जबरजस्ती बाटो निर्माणका पछाडि ती व्यक्तिहरूको जग्गा प्लटिङ गर्ने र त्यहाँ रहेको जग्गामा अवैद्य कब्जा जमाउने उदेश्य रहेको स्रोतले जनाएको छ । तर विद्यालयजस्तो सार्वजनिक संस्थाको जमिनमा अवैध निर्माण गरिँदापनि प्रशासन र स्थानीय सरकार मुकदर्शक बनेका छन् । अहिले ग्राभेलसहितको बाटो निर्माण भैसकेको छ ।
उक्त बाटो दुईजना व्यक्तिका लागि मात्रै उपयोगी देखिन्छ । उक्त बाटोबाट लाभान्वित हुने र बाटो नहुँदा अप्ठ्यारोमा परेका घरधुरी पनि छैनन् । बाटो बनेपछि सिधा लाभ प्राप्त गर्नेमध्ये एक हुन् स्थानीय निर्माण व्यवसायी प्रेम भण्डारी । भण्डारीले नै आफ्नै खर्च र निर्माण सामग्री प्रयोग गरी बाटो निर्माण गरेको स्थानीय बताउँछन् । उक्त बाटोले भण्डारीको निर्माण कम्पनी पिबी निर्माण कम्पनीका साधन राख्ने स्थान र उनको फार्म हाउसलाई टोलको मुख्य सडकसँग जोड्ने गर्छ । तर त्यतिले मात्रै उक्त बाटो जबर्जस्ती निर्माण गरिएको भने नभएको स्रोतले बताएको छ । किनभने उक्त फार्म हाउस पुग्ने अर्को बाटो पनि पहिलेदेखि नै छ । ‘मुख्य गरी बाटो निर्माणपछि जगाको कारोबार र प्लटिङ योजना सफल हुने भएकोले जबर्जस्ती उक्त बाटो निर्माण गरिएको हो,’ एकजना स्थानीयले नाम नबताउने सर्तमा कालपृष्ठसँग भने ।
उक्त बाटोबाट लाभ प्राप्त गर्ने अर्को एकजना सरकारी इन्जिनियर भएको स्थानीय बताउँछन् । ती इन्जिनियरको उक्त क्षेत्रमा हाल घर निर्माण भैरहेको छ ।
विद्यालयले पनि जबरजस्ती बाटो निर्माणमा जगा उक्त क्षेत्रको जग्गा दलाली मुख्य उदेश्य भएको बताउँदै आएको छ । यसअघिका वर्षमा पनि पटक-पटक केही व्यक्तिहरुले उक्त जग्गामा बाटो निर्माण गर्ने प्रयास गरेको र विद्यालयले रोक्दै आएको प्रधानाध्यापक राजेश कुमार यादव बताउँछन् । ‘अहिले त उनीहरुले बाटो निकालेरै छोडे । हामीले बाटो बनिसकेपछि मात्रै थाहा पायौं । रोकिदिनका लागि जिम्मेवार निकायमा निवेदन दिँदा पनि कुनैपनि निकायले बाटो निर्माण रोक्न सकेनन्,’ मंगलबार पत्रकारसामू विद्यालयका प्रधानाध्यापक यादवले गुनासो पोखे ।
विद्यालयले बाटो निर्माण हुँदाहुँदै साउन २० गते जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज उप-महानगरपालिका र २१ गते वडानम्बर १८ कार्यालयलाई अवैद्य निर्माण कार्य रोकिदिन निवेदन दिएको थियो । नेपालगन्ज उप-महानगरपलिकाका मेयर डा. धवलशमशेर राणाले स्थलगत रूपमै अनुगमन गरेर निर्माण रोक्ने आश्वासन दिएका थिए । तर ती सबै निकाय बाटो रोक्न असफल भए । बाटो निर्माण भएरै छाड्यो ।
सबै मिलेर विद्यालयलाई निरिह बनाउने काम गरिएको विद्यालय प्रशासनले जनाएको छ । ‘उप-महानगरपालिकामा त्यसबारेमा छलफल पनि भयो । बाटो बनेको क्षेत्रमा एउटा मात्रै घर रहेकोमा दर्जनौं व्यक्तिको दलबल लिएर केही व्यक्तिहरू आफूहरुका लागि उक्त बाटो आवश्यक रहेको भन्दै उप-महानगरपालिका पुगे । उल्टै विद्यालय प्रशासनलाई मानसिकरूपले त्रसित गर्ने काम गरियो,’ प्रधानाध्यापक यादवले भने ।
बाटो निर्माण गरिएको क्षेत्र नजिकैको टोलको टोल विकास संस्थाका एक जिम्मेवार पदाधिकारीले टोलका केही व्यक्तिहरु पनि बाटो निर्माण गर्ने पक्षसँग मिलेको जनाइन् । आफूलाई पनि केही व्यक्तिहरुले बाटो निर्माण आवश्यक भएको भनेर हस्ताक्षर गर्न भनेपनि आफूले उक्त आवश्यकता नदेखेर र नियत खराब देखेर हस्ताक्षरमा सामेल नभएको उनले खुलासा गरिन् ।
टोल विकास संस्थाका अध्यक्ष झक्तबहादुर केसीले बाटो निर्माणमा टोल विकास समितीको कुनै संलग्नता नभएको दावी गरे । उनले पनि भण्डारीले नै बाटो निर्माण गरेको थाहा पाएको कालपृष्ठलाई बताएका छन् ।