बर्फानी बाबालाई पर्यटकीय स्थल बनाउँदै राप्ती सोनारी
Wednesday, September 15th, 2021, 1:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० भाद्र
बाँकेको राप्ती सोनारी गाउँपालिका-४ को सीमानामा रहेको बर्फानी बाबा मन्दिरलाई पर्यटकीय स्थलका रुपमा गाउँपालिकाले विकास गर्ने भएको छ । हिन्दू धर्मावलम्बीको मन्दिर रहेको उक्त क्षेत्रलाई गाउँपालिकाले पर्यटीय आकर्षणका रुपमा विकास गर्न लागेको हो ।
समथर तराई क्षेत्रभन्दा केही माथि पहाडी भेगमा रहेको उक्त मन्दिरमा यसअघिपनि हिन्दू धर्मावलम्बी, भक्तजन तथा पर्यटकहरु जाने क्रम रहेको थियो । तर पूर्वाधार एवम् विकट स्थान भएकाले सबै वर्ग र उमेरका पर्यटकलाई बर्फानी जान सहज भने थिएन ।
यद्यपि गाउँपालिकाले यसै वर्षदेखि बर्फानी क्षेत्रको विकास, सहज बाटो निकास एवम् बर्फानीको प्रचारप्रसारलाई योजना तर्जुमा गरी कार्यान्वयन गर्ने पालिकाले जनाएको छ ।
पालिकाले बुधबार १५ लाखको लागतमा बर्फानी बाबा मन्दिरमा शिव भन्दिरको शिलान्यास गरेको छ । पालिकाका अध्यक्ष लाहुराम थारुले आज बिहान शिलान्यास गरेका हुन् । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारुलगायत स्थानीयको सहभागीता रहेको थियो ।

शिलान्यासमा सहभागी स्थानीय
यसका अलवा पालिकाले वर्फानी जानका लागि १० लाखको लागतमा बाटो निकासी पनि गरिसकेको छ ।
विकट क्षेत्रका रुपमा परिचित बर्फानी क्षेत्रमा सहजै पर्यटक पुग्ने वातावरण पालिकाले निर्माण गराउने पालिका अध्यक्ष थारुले बताए । ॅअहिले बर्फानी बाबा मन्दिरको लोकप्रियतापनि बढ्दो छ । र मन्दिर भएको स्थानपनि रमणिय रहेको छ । यसको विकासले जरुरी रहेको छ,’ अध्यक्ष थारु ।
थारु बर्फानीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सके उक्त क्षेत्रका स्थानीयको आयस्रोतमा पनि वृद्धि हुने बताउँछन् । उनले भने, ॅबर्फानी मन्दिरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके यस क्षेत्रका जनताको आयस्रोतमा वृद्धि हुने निश्चित छ । साथै यस क्षेत्रमा होटल व्यवसाय, होमेस्टे जस्ता व्यवसाय पनि फस्टाउँछन् ।’
पालिकाले अब बर्फानी मन्दिरमा धर्मशाला, शौचालयजस्ता पूर्वाधार निर्माणको पनि काम गर्ने योजना बताउको अध्यक्ष थारुले बताए । उनले उक्त क्षेत्रमा जाने पर्यटकका लागि आवश्यक पर्ने सबै पूर्वाधारको निर्माण गरिने बताएका छन् ।

मन्दिरका पूजारीसहित सहभागी