नेपालगन्ज विमानस्थलबाट सडेगलेको माछामासु ओसारिँदै
Thursday, September 16th, 2021, 11:43 am
Kalpristha
खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ मा मासुजन्य पदार्थ प्याकेजिङ गर्दा हावा नछिर्ने विशेष खालको टिन प्लेटबाट निर्मित क्यानमा राख्नुपर्ने नियम छ । तर एयरपोर्टबाट मासु कार्टुनमा राखेर हिमाली जिल्लामा ओसारपसार हुने गरेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० भाद्र
नेपालगन्ज एयरपोर्ट हुँदै विमानमार्फत पहाडी तथा जिल्लामा सडेगलेको माछा र मासुजन्य पदार्थहरु गइरहेको पाइएको छ । नेपालगन्ज एयरपोर्टबाट भेटनरी रिपोर्ट समेत नलिएका माछा र मासुजन्य पदार्थहरु विभिन्न कम्पनीका विमानमार्फत पहाडी तथा हिमाली जिल्लामा गइरहेको विमास्थलस्थित एक विश्वस्त सुत्रले कालपृष्ठलाई जानकारी दिएको छ ।
केही दिनअघि नेपालगन्ज एयरपोर्टमा कुहिएको मासु बेवारिसेरुपले फालिएको अवस्थामा भेटिएको थियो । कुहिएको मासु खुलारुपमा फालिँदा एयरपोर्टमा दुर्गन्ध फैलिएको थियो । दुर्गन्ध फैलिएर एयरपोर्ट प्रशासनलाई जानकारी गराएपछि मात्रै उक्त मासुको व्यवस्थापन गरिएको थियो ।
यो बाहिर आएको प्रतिनिधि घटना मात्रै भएको स्रोतले जनाएको छ । खाद्य पदार्थ प्याकेजिङ्ग तथा लेबलिङ्ग नियमावली, २०७३ मा मासुजन्य पदार्थ प्याकेजिङ गर्दा हावा नछिर्ने विशेष खालको टिन प्लेटबाट निर्मित क्यानमा राख्नुपर्ने नियम छ । तर एयरपोर्टबाट मासु कार्टुनमा राखेर ओसारपसार हुने गरेको छ । सही तरिकाले प्याकिङ नगरिएको मासुबाट रगत चुहिएर एयरपोर्टको टिकट र सुरक्षा जाँच कक्षको भुईँमा टाटा बसेका छन् । कुहिएको माछा र मासुजन्य पदार्थ थाहा हुँदा हुँदै पनि सुरक्षाकर्मीले उक्त मासु नरोक्ने गरेको र विमानहरुले पनि ओसारपसार गर्ने गरेको पाइएको छ ।
अर्कोतिर मासु ओसार पसारका लागि ७२ घण्टा अवधिको भेटेरीनरी जाँच रिपोर्ट अनिवार्य हुन्छ । सुरक्षाकर्मीहरुले उक्त रिपोर्ट पनि चेकजाँच नगर्ने गरेको पाइएको छ । कुखुरा विकास फार्म खजुरका प्रमुख डा. शंकर न्यौपानेले सुरुको अवस्थामा भेटेरीनरी जाँच गरेर ठिक भएको प्रमाण प्राप्त मासु विशेष प्रविधि र सावधानीका साथ जस्ताको तस्तै ७२ घण्डाभित्र उपभोक्तासम्म पुग्नुपर्ने बताए । त्यही उदेश्यले भेटेरीनरी जाँच गरेर प्रमाणपत्र दिने गरिएपनि गलत तरिकाले ढुवानी गर्दा उपभोक्तासम्म पुग्दा उक्त मासु खान अयोग्य भइसकेको हुने उनले बताए ।
नेपालगन्जबाट पहाडी जिल्लामा जाने मासु उडानमा हुने ढिलाईका कारण पनि समयमै पुग्ने गरेको छैन भने ढुवानीमा चरम लापरबाही गरिँदा अखाद्य मासु उपभोक्तासम्म पुगिरहेको पाइएको छ ।
हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एयरपोर्टमा खटिएका प्रहरीमा भरोसा गरेर अनुगमन गर्ने नगरिएको बताउँछन् । डोल्पा, जुम्ला र मुगुका प्रमुख जिल्ला अधिकारीहरुले एयरपोर्टबाट आउने वस्तुको गुणस्तर र अवस्थाका विषयमा विमानस्थल प्रशासन र त्यहाँका सुरक्षाकर्मीले नै निगरानी गर्ने गरेको बताए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले एकपटक गरिएको बजार अनुगमनमा बिग्रिसकेको माछा मासु भेटिएको बताइन् । तर, उक्त मासु कहाँबाट आएको हो भन्ने यकिन भन्न नसिकने उनको भनाई छ । ‘अखाद्य अवस्थामा पुगेको माछा मासु त भेटिएको हो । तर कहाँबाट आएको हो भन्न सकिन्न,’ उनले भनिन्, ‘एयरपोर्टमा त सुरक्षाकर्मीले नै चेकजाँच गरेर शंकास्पद भएमा रोक्ने काम गर्छन् । एयरपोर्ट लक्षित अनुगमन नै भनेर हामीले गरेका छैनौँ ।’
नेपालगन्ज विमानस्थलमा खटिएका प्रहरी सहायक निरीक्षक सन्तोष शाहले कहिलेकाँही विमान ढिलो हुँदा मासुजन्य पदार्थ बिग्रिएको हुनसक्ने बताए । केहीदिन अघिको घटनापछि आफूहरु थप सचेत भएको उनको भनाइ छ । भेटेरीनरी रिपोर्टबिना मासु ओसार पसार भने गर्न नदिएको उनको दावी छ ।
नेपालगन्ज विमानस्थल प्रमुख सुभाष झाले केहीदिन अघि कुहिएको मासु विमानस्थलको एउटा गेटनजिकै फालिएको अवस्थामा भेटिएको स्वीकार गरे । उक्त जानकारी पाएपछि आफूले मासु डम्पिङ गर्न लगाएको झाले बताए । तर उनले कस्तो पदार्थ एयरपोर्टबाट गइरहेको छ भन्ने कुराको चेकजाँच गर्ने र रोक्ने सबै काम सुरक्षाकर्मी र विमान कम्पनीको भएको बताएका छन् । आफूले गुनासो आएमा त्यसमा कडाई गर्न निर्देशन मात्रै दिनसक्ने उनको भनाइ छ । ‘पहिलो कुरा सुरक्षाकर्मीले कडाइपूर्वक चेकजाँच गर्नुपर्यो । अर्को आफ्नो जहाजमा कस्तो सामान ओसारपसार भइरहेको छ भन्ने कुरा विमान कम्पनीले पनि निगरानी गर्नुपर्छ,’ झाले भने । यद्धपि प्रमुख झाले बिहीबार यसबारेमा सुरक्षाकर्मी र विमान कम्पनीका प्रतिनिधिसँग छलफल गर्ने बताएका छन् ।