नेपालगन्ज– काठमाडौं उडान भर्ने तयारीमा गुण एयरलायन्स
Thursday, September 16th, 2021, 1:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ भाद्र
गुण एयरलायन्सले नेपालगन्ज–काठमाडौं लगायतका विभिन्न स्थानका लागि नियमित उडान गर्ने तयारी सुरु गरेको छ । नेपाल नागरिक तथा उडयन प्राधिकरणले अनुमति दिएपछि एक साता भित्र उडान भर्ने तयारी भएको गुण एयरलायन्सका नेपालगन्ज स्टेसन म्यानेजर उपेन्द्र श्रेष्ठले बताए । उनले भने,‘तयारी अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले अनुमति दिने बित्तिकै उडान सुरु गर्ने तयारी भैरहेको छ । अबको १२ देखी १५ दिन भित्र नेपालगन्ज नेपालगन्ज–काठमाडौं उडान सुरु हुनेछ ।’
नेपालगन्जबाट हुने उडानका लागि असोजको दोस्रो साता लाग्ने भएपनि शुक्रबारदेखी भने एयरलायन्सले काठमाडौं– पोखरा र काठमाडौं– भरतपुरको लागि उडान सुरु गर्दैछ । शुक्रबार पोखरा र भरतपुरका लागि विचक्राफ्ट जहाजमार्फत उडान सुरु गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।
असोजको दोस्रो सातादेखी जेटस्ट्रिम उडान मार्फत विराटनगर, भैरहवा, नेपालगञ्ज, सुर्खेत, जनकपुर, सिमरा र तुम्लिङटारका लागि उडान भर्ने तयारी कम्पनीले गरेको छ । उडानका लागि कम्पनीले टिकट बुकिङ पनि खुला गरिसकेको छ ।
कम्पनीले यती एयरलायन्ससँग पाँच वटा जहाज खरिद गरेको थियो । खरिद गरेको जहाजसहित गुण एयरलायन्ससँग दुईवटा बिचक्राफ्ट सहित सात वटा जहाज रहेका छन । कम्पनीले आउने दिनमा थप दुईवटा ट्विनअटर सिरिजका जहाज थप्ने योजना रहेको बताएको छ ।