भेरी अस्पतालका सटर हटाइयो, निकट भविष्यमै ठूला संरचना निर्माण हुने
Thursday, September 16th, 2021, 2:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ भाद्र
सरकारी अस्पताल परिसरमा अस्पताल फार्मेसीबाहेक कुनैपनि किसिमको औषधिजन्य वस्तुको व्यवसायिक कारोबार गर्न पाइँदैन । अस्पताल परिसरमात्रै नभई केही मिटर आसपासमा पनि त्यस्ता वस्तुको कारोबार गर्न नपाइने अस्पताल फार्मेसी निर्देशिका २०७२ मा उल्लेख छ ।
तर नेपालगन्जस्थित भेरी अस्पतालको हात भने फरक छ । त्यहाँ अस्पतालको गेटमै निजी मेडिकलहरु थिए । मेडिकल मात्रै होइन प्याथोलोजी ल्याबहरुसमेत ती सटरमै सन्चालित थिए । सर्वसाधारणहरु निजी मेडिकललाई नै अस्पताल ठान्ने र झुक्किने अवस्था थियो । साथै अस्पतालको सौन्दर्य पनि कुरुप भएको थियो ।
अब भने उक्त समस्याको अन्त्य गर्नका लागि अस्पतालले ठोस कदम चालेको छ । अस्पताल को परिसमा रहेका निजी मेडिकल एवं अन्य व्यवसाय सन्चालित सटरहरु अस्पतालले बल प्रयोग गरेर खाली गरेको छ । सटरहरु खाली गर्न दिएको पटक-पटकको समय अवहेलना गर्दै आएका व्यवसायीहरुले पछिल्लो पटक दिएको समय पनि अटेर गरेपछि सटरहरुमा अस्पतालले आफ्नो ताल्चा लगाइदिएको छ ।
देशभरका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले २०६५ सालमा सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेपनि अस्पतालहरुले उक्त परिपत्रको कार्यान्वयन गरेका थिएनन् । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको परिसरमा निजी मेडिकल सन्चालन गरेको विषयमा परेको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालते २०७२ सालमा त्यस्ता मेडिकल अस्पताल परिसरमा सन्चालन गर्न रोक लगाउन आदेशसमेत दिएको थियो । भेरी अस्पताल परिसरका सटरहरुपनि हटाउन पटक-पटक प्रयास गरिएनि सफल भएको थिएन ।
अब भने व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर खाली गराउन सफल भएको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
अस्पतालका परिसमा रहेका ३४ वटा सटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा दिएको थियो । एउटा सटरले न्यूनतम १० हजारदेखि २ लाखसम्म भाडा अस्पताललाई बुझाउँदै आएका अस्पतालले जनाएको छ ।
समितीका सदस्य कृष्णप्रसाद श्रेष्ठले पटक-पटक पसल हटाउन दिइएको समय अटेर गरेपछि बाध्य भएर ताला लगाउनुपरेको बताए । केही व्यवसायीले भने पसल खाली गरिसकेका थिए । ॅसरकारको निर्देशिका र निर्देशन, सर्वोच्च अदालतको आदेश, अब अस्पतालको विकास र सौन्दर्यकरणको पक्षलाई ध्यानमा राखेर हामीले सट। हटाउन सफल भएका छौँ,’ श्रेष्ठले भने ।
विशिष्टिकृत अस्पतालको रुपमा भइसकेको अस्पतालमा निकट भविष्यमा ठूलो लगानीका साथ पूर्वाधार बन्ने श्रेष्ठले जानकारी दिएका छन् । अहिले रहेका सबै पुराना भवन भत्काएर नयाँ र सुविधायुक्त भवन बनाइन लागेको उनले जानकारी दिए । विशेषगरी २४० बेडको भवन निर्माणको लागि आवश्यक पहल सुरु भइसकेको र करिब २ सय ५० करोड रुपैयाँ बजेटको योजना अस्पतालमा सन्चालन हुनेक्रममा रहेको उनको भनाई छ ।
यी सबै योजनाका लागि अस्पताललाई संरचना बनाउन सहज र खुला वातावरण चाहिने भएकोले अहिले उपयुक्त समयमा सटरहरु खाली गराइएको श्रेष्ठको भनाइ छ ।
व्यवसायीहरुले भने रातीको समयमा आएर बलपूर्वक ताल्चा लगाईँदा समानमा क्षति पुगेको गुनासो गरेका छन् ।
यता अस्पतालले भने व्यवसायीहरुलाई दुई महिनाको भाडा छुट र ६ महिनामाभित्र बाँकी भाडा तिर्ने सहुलियत दिएको जनाएको छ ।