साला-भेनाले स्थापित गरेको बेकरी उद्योग
Friday, September 17th, 2021, 2:41 pm
Kalpristha
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस् ।
नेपालगन्जको ब्राण्ड बन्दै ‘मिस्टर बेकर’
भागेर उनी भारतको दिल्ली पुगे । उनले त्यहाँ चौकीदारी गर्न चाहेनन् । काम खोज्दै जाँदा एउटा बेकरीमा काम पाए ।काम गर्दागर्दैबेकरीका एक सेफले जागिर छोडे ।ती सेफको जिम्मेवारी जयकरणमाथि आइलाग्यो । त्यही मौकामा उनले बेकरीका सबै सीप सिक्ने अवसर प्राप्त गरे । उनी एक दक्ष बेकरको रुपमा स्थापित भए ।
वीरेन्द्र जैसी/विक्रम बुढाक्षेत्री
नेपालगन्ज, ३१ भाद्र
दश वर्षे सशस्त्र द्धन्द्धकालले प्रभावित नभएका जीवनहरु सायदै कम होलान् । युद्धमा होमिएका कयौँ निर्दोष मानिसहरुले पनि त्यस अवधिमा आफ्नो सर्वस्वसमेत गुमाए । कति युद्धको सन्त्रासले विस्थापित भए ।
त्यही सशस्त्र द्धन्द्धकै बाछिाटाले प्रताडित एक दक्ष प्राविधिकराष्ट्रसेवक कर्मचारी आफ्नो गाउँबाट विस्थापित भए । ज्यान बचाउनभारतमा पुगेका उनले त्यहाँ बेकरी सीप सिके । त्यही सीपमा आधारमा उनी युएई पुगेर त्यहाँका प्रतिष्ठित कम्पनीमा बेकरको रुपमा काम गरे । त्यहाँबाट फेरि स्वदेशमै फर्केर उनले एक उत्कृष्ठ बेकरीको ब्राण्ड स्थापित गरे ।
उनी हुन् मुगुको खत्याड गाउँपालिका, साविक सुवाडी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भईहाल नेपालगन्जमा मिस्टर बेकरका नामले परिचितजयकरण रोकाया ।
उनका बुवा जयबहादुर रोकायानेपाल प्रहरीका हवल्दारबाट अवकाश प्राप्त गरेका । बाजे नै भारतीय आर्मी थिए । उनका दाई र काका पनि प्रहरी । तर रोकाया पढाईमा अब्बल । जिल्ला टप, अन्चल टप हुँदै बुढानिलकण्ठ स्कुलमा निःशु्ल्क छात्रवृत्तिमा पढ्ने अवसर पाए । एसएलसीपछि उनले ओभसियरको अध्ययन गरे । २४ वर्षको उमेरमा जिल्ला विकास समितीमा सब ओभरसियर पदमा जागिरे बने ।
उनी जागिरमा रहँदै निजामती कर्मचारी संघका अध्यक्ष बने । त्यहीकारण उनी माओवादी कार्यकर्ताको निशानामा परे । उनलाई अपहरण गरेर गाउँ छाड्न नपाइने आदेश दिइयो । अनेक यातना दिइयो । त्यहीबिचमा ससुराली गएका उनलाई सेनालाई सुराकी गरेको आरोपमा देख्नेबित्तिकै गोली हान्ने तयारी भएको सुइको पाइयो । त्यसपछि उनी ज्यान जोगाउन २०५६ साल मंसिर १९ गते राती घरबाट भागे ।
भागेर उनी भारतको दिल्ली पुगे । उनले त्यहाँ चौकीदारी गर्न चाहेनन् । काम खोज्दै जाँदा एउटा बेकरीमा काम पाए ।काम गर्दागर्दैबेकरीका एक सेफले जागिर छोडे ।ती सेफको जिम्मेवारी जयकरणमाथि आइलाग्यो । त्यही मौकामा उनले बेकरीका सबै सीप सिक्ने अवसर प्राप्त गरे । उनी एक दक्ष बेकरको रुपमा स्थापित भए ।
त्यही सीपको बलमा उनले सन् २००६ मा युएईको अबुधावी एउयरपोर्टको फ्लाइट क्याटरिनमा बेकरी सेफको रुपमा काम गर्ने अवसर पाए । तीन वर्ष त्यहाँ काम गरेपछि आलकप्रटलमा बेकरी सेफ हुँदैअबुधावी होलेडियन्समा बेस्ट सेफ भएर काम गरे ।
होलेडियन्समा काम गर्दागर्दै एक उच्च तहका जर्मन कर्मचारीले आफूभन्दा सानालाई हेपेकोमा विरोध गरेपछि उत्पन्न परिस्थितिपछि उनले उक्त कम्पनी छोडे ।
उनीसँग अर्को अवसर होल्डमै थियो, सारजहाँ सेराटनमा । सेराटनमा केही समय काम गरेपछि त्यहाँबाट अर्को एक निजी कम्पनीको होटलमा१० हजार दिराम तलबसहितको अवसर पाएका थिए । तर मेडिकल जाँचमा उनको फोक्सोमा देखिएको सानो दागका कारण उनले ४८ घण्टामा युएई छोड्नुपर्ने आदेश भयो ।
युएईको ९ वर्षको बसाइपछि उनी स्वदेश फर्किए । त्यहाँ बस्दा उनको नेपालगन्जमा एउटा घर र केही घडेरी जोडिएको थियो । उनले कर्मथलो नेपालगन्जलाई नै बनाउने निधो गरे । नेपालगन्ज वडा नम्बर २ मा उनले बेकरी खोले । नाम राखे, मिस्टर बेकर (Mr. Baker) ।
उनले श्रीमतीका भाइलाई पनि युएई बोलाएर त्यहाँका उत्कृष्ठ कम्पनीमा जागिर लगाइदिएर दक्ष बनाएका थिए । उनी पनि स्वदेश फर्किएर बेकरी उद्योगमै सामिल भए । साला भेना मिलेर मिस्टर बेकरलाई एक लोकप्रियबेकरी ब्राण्ड बनाउन अहोरात्र खटिए ।यति मात्रै होइन उनले नेपालगन्जमा बिन कफी पहिलोपल्ट भित्र्याए । उनको कफीसहितको बेकरीका पारखी दिनप्रतिदिन बढ्न थाले । मिस्टर बेकरले नेपालगन्जमा भएको खाद्य मेलामा मध्यपश्चिम क्षेत्रकै उत्कृष्ठ बेकरीको अवार्ड पायो । उत्पादनको लोकप्रियता बढ्दै गयो ।
करिब तीनवर्ष बेकरी चलाइसकेपछि त्यहाँका घरबेटीले बेकरी सार्न भने । जयकरण भन्छन्, ‘मेरो जीवनमा दुईवटा तत्कालका लागि पीडादायीतर दीर्घकालिनरुपमा फलदायी संयोग परे । एउटा माओवादीको डरले विस्थापित हुनुपर्यो । अर्को बेकरी तीन वर्षमै सार्नुपर्यो, विस्थापित हुनुपर्यो । माओवादीको डरले जागिर र गाउँबाटै विस्थापित हुनु नपरेको भए म बेकर बन्ने थिइन । घरबेटीबाट विस्थापित हुनु नपरेको भए अलिहेको जस्तो स्वरमा व्यवसाय हुने थिएन ।’
बेकरी सार्नुपरेपछि नै उनले नेपालगन्ज २ बौद्ध गुम्बानजिक जमिन किने । घर बनाए । आफ्नै घरमा क्याफेसहितको बेकरी उद्योग सन्चालनमा ल्याए । जसले उनको बेकरीको बजारले उचाई लिन सफल भयो । बेकरीमा उनले स्थानीय स्वाद दिन फापरलगायतका हिमाली अन्नबालीबाट बनेका ब्रेडसमेत उत्पादन गर्ने गरेका छन् । मिस्टर बेकर नेपालगन्जमा बेकरीको एक लोकप्रिय ब्राण्ड बन्न सफल भइसकेको छ ।
अहिले उनको मिस्टर बेकर नेपालगन्जमा कफी र बेकरी पारखीहरुको उत्कृष्ठ र लोकप्रिय संगम बन्न पुगेको छ । हाल जयकरणका श्रीमती, श्रीमतिका भाइ, छोरी र आफूसमेत अन्य दुईजना कर्मचारीहरुले बेकरी हाँकीरहेका छन् । साथमा ५ जना कर्मचारीहरु पनि राखेका छन् ।
अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त बेकरीमा काम गरेको अनुभव संगालेका जयकरण नेपालगन्जमा बेकरीकाअर्डरअनुसार जस्तोसुकैआइटम दिन आफू सक्षम रहेको बताउँछन् । साथै बेकरीको स्च्छता गुणस्तरमा पनि आफ्नो उद्योग उत्कृष्ठ रहेको उनले बताए ।
बेकरीमा उपलब्ध पछिल्ला प्रविधिको प्रयोगसहित स्वच्छ उत्पादनहरु आफ्नो उद्योगले दिइरहेको जयकरण बताउँछन् । ‘राती १२ बजेसम्म पनि, सुतिसकेको बेलामा पनि केक चाहियो भन्दै आउँछन् । किनभने हामी यहीँ माथि बस्छौँ । जतिबेला पनि यहाँ अर्डरअनुसारको गुणस्तरीय आइटम उपलब्ध हुन्छ भन्ने हाम्रा पारखीहरुमा छाप परेको छ । हामीले पनि त्यस भरोसालाई टुट्ट दिएका छैनौँ । दिने छैनौँ,’ मिस्टर बेकरको विशेषता प्रकाश पार्दै जयकरणले भने ।
बेकरी एक लोकप्रिय तर खाद्य स्वच्छताका लागि संवेदनशील परिकारहरु भएकोले गुणस्तरबारे जानकार भएर र विश्वस्त भएर मात्रै कुनै उत्पादनको प्रयोग गर्न सुझाउँछन् । आफ्नो बेकरीको गुणस्तरबारे गर्व व्यक्त गर्दै उनी भन्छन्, ‘ग्राहकले चाहनुभयो भने हाम्रो बेकरी उद्योग र भान्सासमेत अवलोकन गर्न सक्नुहुन्छ ।’
उनको अबको योजना क्याफेसहितको बेकरी उद्योगलाई थप व्यवस्थित र ग्राहकमैत्री बनाउँदै लैजाने र भविष्यमा तारे होटस स्थापना गर्ने लक्ष्यमा केन्द्रित रहेको जयकरणले खुलाए ।