भेरी अस्पतालका सटर भत्काउन सुरु
Friday, September 17th, 2021, 8:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ असोज
शुक्रबार भेरी अस्पतालमा रहेका सटरहरु भत्काउन सुरु गरिएको छ । सरकारी अस्पताल परिसरमा अस्पताल फार्मेसीबाहेक कुनैपनि किसिमको औषधिजन्य वस्तुको व्यवसायिक कारोबार गर्न नपाइने नियमअनुसार अस्पतालले संरचना भत्काउन सुरु गरेको हो ।
अस्पतालमा हाल संरचनाहरु भत्काउने काम चलिरहेको छ । शुक्रबार बेलुकी आठ बजेसम्म अस्पताल अगाडि रहेका १५ वटा सटरहरु भत्काइ सकेको अस्पतालका मेसु डा. प्रकाश थापाले जनाकारी दिए ।
ॅआजबाट सटरहरु भत्काउने काम सुरु भएको छ । खाली भई सकेका सटरहरु हामीले भत्काउन सुरु गरेका हौं,’ डा. थापाले भने ।
अस्पतालको गेटमै निजी मेडिकलमा नभएर प्याथोलोजी ल्याबहरुसमेत खाद्य पसलहरु पनि संचालनमा थिए । सर्वसाधारणहरु निजी मेडिकललाई नै अस्पताल ठान्ने र झुक्किने अवस्था थियो । साथै अस्पतालको सौन्दर्य पनि कुरुप भएको थियो । उक्त समस्याको अन्त्य गर्नका लागि अस्पतालले ठोस कदम चालेको हो । अस्पताल को परिसमा रहेका निजी मेडिकल एवं अन्य व्यवसाय सन्चालित सटरहरु अस्पतालले बल प्रयोग गरेर खाली गरेको हो ।
अब ती सटरहरु हटाएर अस्पतालाई सौन्दर्य र बाहिरबाट नै अस्पतालको पुरै संरचना देख्न सकिने किसिमले पूर्वाधान निर्माण गर्ने थापाले बताए ।
उनले भने, ॅअब यी सटरहरु हटाएर अस्पतालको सौन्दर्य बढाउने र बाहिर रोडबाट नै अस्पतालको संरचना हेर्ने किसिमको पूर्वाधार निर्माण गर्छौं ।’
सटरहरु खाली गर्न अस्पतालले यसअघि पटक-पटक निर्देशन दिएको थियो । तर व्यवसायीले अटेर गरेपछि सटरहरुमा अस्पतालले आफ्नो ताल्चा लगाइ दिएको थियो । देशभरका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले २०६५ सालमा सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेपनि अस्पतालहरुले उक्त परिपत्रको कार्यान्वयन गर्त सकेको थिएन ।
।
अस अस्पतालले छिटै डिपिआर बनाउने र निर्माण कार्य थालनी गर्ने डा. थापाले बताए । उनी भन्छन्, ॅयस लगतै हामीहरु डिपिआर बनाउने र निर्माणको काम सुरु गर्छौं । मानिसहरुमा फेरी अरुलाई भाडामा सटर दिने होकी भन्ने आशंका छ । त्यसैले काम नरोकी निरन्तरतापूर्वक अघि बढ्छौं ।’
अस्पतालले नेपाल रेडक्रसको पनि भवन भत्काउने छ । अस्पतालले रेडक्रको भवननै भएकाले सडरहरु भत्काइ सकेपछि रेडक्रको भवन पनि भत्काउने छ ।
अब भने व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर खाली गराउन सफल भएको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
अस्पतालका परिसमा रहेका ३४ वटासटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा दिएको थियो । एउटा सटरले न्यूनतम १० हजारदेखि २ लाखसम्म भाडा अस्पताललाई बुझाउँदै आएका अस्पतालले जनाएको छ ।
ठूलो लगानीका साथ अस्पतालमा पूर्वाधार बन्ने श्रेष्ठले बताए । विशेषगरी दुई सय ४० बेडको भवन निर्माणको लागि आवश्यक पहल सुरु भइसकेको र करिब दुई सय ५० करोड रुपैयाँ बजेटको योजना अस्पतालमा संचालन हुनेक्रममा रहेको उनको भनाइ छ ।
यी सबै योजनाका लागि अस्पताललाई संरचना बनाउन सहज र खुला वातावरण चाहिने भएकोले अहिले उपयुक्त समयमा सटरहरु खाली गराइएको श्रेष्ठको भनाइ छ ।
व्यवसायीहरुले भने रातीको समयमा आएर बलपूर्वक ताल्चा लगाईँदा समानमा क्षति पुगेको गुनासो गरेका छन् ।
यता अस्पतालले भने व्यवसायीहरुलाई दुई महिनाको भाडा छुट र ६ महिनामाभित्र बाँकी भाडा तिर्ने सहुलियत दिएको जनाएको छ ।