स्थानीय सरकार संचालनबारे अन्तरक्रिया
Friday, September 17th, 2021, 8:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ भाद्र
नेपालगन्जमा बिहीबार स्थानीय सरकार संचालनमा विषयगत समितिहरुको भूमिका विषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशअन्तर्गत बाँके र बर्दिया जिल्लाका स्थानीय सरकार सञ्चालनमा विषयगत समितिहरुको भूमिका विषयमा अन्तरक्रिया गरिएको हो ।
गाउँपालिका राष्ट्रिय महासंघको आयोजना भएको कार्यक्रमलाई सोच नेपालले सहकार्य गरेको थियो । कार्यक्रममा पूर्व प्रमुख सूचना आयुक्त एवं पूर्व सचिव कृष्णहरि बास्कोटा, गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेल र सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले स्थानीय सरकारले गर्नुपर्ने काम कर्तब्य, नीति निर्माण, आर्थिक पारदर्शिता र नागरिकको आवश्यकताका आधारमा सञ्चालन गरिएको विकासले पार्ने प्रभावका बारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा स्थानीय सरकारको मन्त्रीका रुपम विषयगत समितिका संयोजकहरु रहने गरेको जानकारी दिइयो । संविधानतः गठित न्यायिक समिति, गाउँसभाबाट गठित लेखा समिति, विधायन समिति, अनुगमन तथा सुशासन समिति र कार्यपालिकाबाट गठित सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, प्राविधिक विकास समिति, सुशासन तथा संस्थागत समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति, विधेयक समितिको अधिकार, काम कर्तब्यका बारेमा जानकारी गराइयो ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले व्यवस्थाभित्र रहेका कमिकमजोरी सच्याउन कार्यक्रमले सहयोग गर्ने बताए । उनले नयाँ व्यवस्थामा पहिलोपटक निर्वाचित जनप्रतिनिधिले स्थानीय तह संचालन ऐन २०७४ मा टेकेर गरिरहेको अभ्यास अनुभव साटासाटमा कार्यक्रमले सहयोग गर्ने बताए ।
कार्यक्रममा उपस्थित बाँके र बर्दिया जिल्लाका पालिका अध्यक्ष, उपाध्यक्ष र विषयगत समितिका संयोगले यस किसिमको अन्तरक्रियाले आगामी दिनमा काम गर्न मार्गनिर्देश दिएको बताए ।