नेपालगन्जमा खुल्यो लाइफलाइन, शनिबार निः शुल्क सेवा दिइने
Saturday, September 18th, 2021, 4:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ असोज
स्वास्थ्य सुविधाको हब बनेको नेपालगन्जमा अस्पताल तथा स्वास्थ्य सेवामा लगानी गर्नेक्रम जारी छ । यसैबिच शनिबारबाट लाइफलाइन जनरल हस्पिटल प्रालि सञ्चालनमा आएको छ ।
हरेक शनिबार निःशुल्क स्वास्थ्यजाँच र उपचार गर्ने उदेश्यसहित सदरलाइन टांगास्टैण्ड नजिक सन्चालनमा ल्याइएको हस्पिटलको शनिबार एक कार्यक्रमकाबिच नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा र वरिष्ठ फिजिसियन डा. गोपाल श्रेष्ठले शुभारम्भ गरे ।
१५ शैया क्षमताको उक्त हस्पिटलले विशेषज्ञ चिकित्सकहरुसँग स्वास्थ्य जाँच गराउन नसक्ने बिरामीहरुलाई हरेक शनिबार निःशुल्क स्वास्थ्य जाँच एवं औषधी सेवा प्रदान गर्नेछ । उक्त कार्यमा नेपालगन्ज उप-महानगरपालिकाले पनि सहकार्य गरेको छ ।
हस्पिटललाई उप-महानगरपालिकाले निःशुल्क उपलब्ध हुने औषधीहरु उपलब्ध गराउनेछ । ती औषधीहरु सेवाग्राहीलाई निःशुल्क प्रदान गरिनेछ । शनिबार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उक्त सेवा प्रदान गरिनेछ ।
अस्पतालका फिजिशियन डा. पारश श्रेष्ठ, डा. कृष्टिन श्रेष्ठ, दन्त चिकित्सक प्रतिक श्रेष्ठ लगायतका चिकित्सकहरुले फिजिशियन, दन्त रोग, बाल रोग, छाला तथा सौन्दर्य, स्त्री रोग, नाक कान घाँटी लगायत रोगको जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् ।
यसले आर्थिक अभावमा विशेषज्ञ चिकित्सकसँग स्वास्थ्यजाँच गराउन नसक्नेहरुलाई ठूलो राहत पुग्ने नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. राणाले विश्वास व्यक्त गरे । उनले यस अभियानमा उप-महानगरपालिकाले राम्रो नतिजा प्राप्त हुने आशासहित सहकार्य गरेको जानकारी दिए ।
कार्यक्रममा भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाधयक्ष अजित कुमार शर्मा डा. गोपाल श्रेष्ठलगायतले सामाजिक उत्तरदात्विसहित अस्पताल सन्चालनमा आउन सुखद भएको बताएका थिए ।