डोल्पामा ठूलो धनराशीको भलिबल सम्पन्न
Saturday, September 18th, 2021, 8:08 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २ असोज
डोल्पामा पहिलो पटक ठूलो धनराशीको भलिवल प्रतियोगिता सम्पन्न भएको छ । ठूली भेरी नगरपालिका-८ वडा कार्यालय जुफालको आयोजनामा जुफालमा भएको पुरुषस्तरीय वडाअध्यक्ष कप भलिबलको शनिबार भएको फाइनल खेलको पहिलो विजेता जुफाल युथक्लब भएको छ । फुल्चिङ युथक्लबलाई हराउदै जुफाल युथक्लब पहिलो विजेता बनेको हो ।
जिल्लाको इतिहासमै पहिलोपटक ठूलो धनराशीको पुरस्कार राखिएको पुरुष भलिबल प्रतियोगिताको पहिलो विजेता भएको जुफाल युथक्लबले ट्रफि सहित १ लाख १५ हजार रुपैयाँ धनराशी हात पारेको छ ।
त्यसैगरी दोस्रो विजेता फुल्चिङ युथक्लबले ट्रफीसहित ७५ हजार जितेको छ । यसैगरी मुड्केचुला युथक्लब तेस्रो विजेता बनेसंगै उसले ५० हजार पुरस्कार पाएको छ । शनिबार जुफाल युथक्लब र फुल्चिङ युथक्लब बीच कडा प्रतिस्पर्धामा फाइनल खेल भएको थियो । आयोजक टिम जुफालले भने सान्त्वनामा चित्त बुझाउनु परेको छ । वडाअध्यक्ष कप पुरुष भलिबलमा विभिन्न स्थानीय तहका १३ ओटा टिमले सहभागिता जनाएका थिए ।
वडाअध्यक्ष हरिप्रसाद डाँगीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव चलाउने ठूलीभेरी नगरपालिकाका उपमेयर योगेन्द्र बहादुर शाहीले विजयी टिमहरुलाई पुरस्कार वितरण गरेका थिए ।