आज संविधान दिवस मनाइँदै
Sunday, September 19th, 2021, 5:53 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ असोज
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ६ वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो ।
सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आइतबार देशभर विभिन्न कार्यक्रम गर्दै छ । साथै संविधान दिवसका अवसरमा सम्पूणर् नेपालीलाई अन्य चाडपर्व जस्तै मनाउनसमेत सरकारले आग्रह गरेको छ ।
दिवसका अवसरमा घर-घरमा राष्ट्रिय झण्डा फहराउन र दीप प्रज्वलन गर्ने सरकारले अनुरोध गरेको हो । लामो संघर्षपश्चात नेपाली जनताले आफूले चाहेको संविधान पाएकोले दिवसलाई हर्षउल्लासका साथ मनाउन सबैमा सरकारले अनुरोध गरेको हो । दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
बाँके जिल्लाका विभिन्न स्थानमा संविधान दिवसका अवसरमा दीप प्रज्वलन, राष्ट्रिय भण्डा फहराउनजस्ता कार्यक्रमको आयोजना गरिएको छ । त्यस्तै दिवसका अवसरमा नेपालगन्ज साइकिलिङ क्लबले पनि साइकिल यात्राको आरम्भ गरेको छ ।
नेपालगन्ज उप-महानगरपालिकाको साझेदारीमा अयोजित भेयर कप नेपालगन्ज साइकल दौड प्रतियोगिता-२०७८ आयोजना हुन लागेको हो । कार्यक्रममा पुरुषतर्फ ३५ किलोमिटर र महिलातर्फ २० किलोमिटर साधारण साइकल दौड हुने आयोजकले जनाएको छ । त्यस्तै एमटिबि साइकल दौडतर्फ पुरुष सात किलोमिटर पाँच ल्याप र महिला सात किलोमिटर ३ ल्या र पुरुष सात किलोमिटर तीन ल्याप मेट्रानपनि हुनेछ ।
जिल्लाका मात्र सहभागी हुने प्रतियोगितामा शनिबारसम्ममा ८५ जनामा फर्म भरिसकेको क्लबका अध्यक्ष गगन थापाले बताए । थापा कार्यक्रममा जिल्लाभरीका एक सयजनाको सहभागीता रहन सक्ने बताउँछन् ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने सहभागीलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नेपालको लिखित संविधानमध्ये यो सातौँ संविधान हो । यसअघिका सबै संविधान आयोग वा विभिन्न रुपमा निर्माण भएको भए पनि नेपाली जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान नै यो पहिलो हो ।
नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।
संविधानसभाबाट विश्वका अरु मुलुकमा जारी भएको संविधानको तुलनामा नेपालको संविधान धेरै विशेषताले भरिपूणर् रहेको छ ।
संविधानमा ३५ भाग ३०८ धारा र नौ अनुसूची छन् । संविधानमा विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्दै सबै प्रकारका विभेद् अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको छ । संविधानमार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्र, समाजवाद उन्मुख, संघीय धर्मनिरपेक्ष, लोकतान्त्रिक गणराज्य घोषणा गरिएको हो । नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिइएको छ ।