को हुन् बाँकेका पदकबाट विभुषित हुने व्यक्तित्व ?
Sunday, September 19th, 2021, 6:00 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, ३ असोज
संविधान दिवसका नेपाल सरकारले देशभरका ९ सयभन्दा बढीलाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने घोषणा गरेको छ । उक्त सुचीमा बाँकेका ८ जना परेका छन् ।
८ जनामध्ये ४ जना स्वास्थ्यकर्मी एवं चिकित्सक, २ जना राजनीतिकर्मी र २ समाजसेवी छन् ।
तिलक परियार

तिलक परियार
राजनीतिकर्मी एवं प्रदेश २ का पूर्व प्रदेश प्रमुख तिलक परियारलाई प्रसिद्ध प्रबल जनसेवा श्री पदकबाट सम्मान गरिने भएको छ ।
तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बाँके क्षेत्र नम्बर १ बाट विजयी संविधानसभा सदस्य तिलक परियार रोल्पा लिबाङमा जन्मेका थिए । परियार माओवादीनिकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत थिए ।
स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पनि पार्टीको काम गरे । भारतबाट नेपाल आएपछि बाँकेमै बसाईंसराईं गरेका परियार जनयुद्धको बेला बाँके वरपर नै खटेका थिए । परियार २०६३ पछिको अन्तरिम व्यवस्थापिकाको सदस्यसमेत थिए ।
स्व. कृष्णसिंह परियार

स्व. कृष्णसिंह परियार
गत असार १४ गते निधन भएका पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता कृष्णसिंह परियारलाई सुुकीर्तिमय राष्ट्रदीप पदकबाट मरणोपरनान्त सम्मान गरिने भएको छ । परियार वि. सं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । त्यसपछि उनी राज्यव्यवस्था समितिको सभापतिसमेत भएका थिए । उनी पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध नेता परियार पञ्चायती व्यवस्थाको विरुद्धमा संघर्ष गर्दा जेल समेत परेका थिए ।
दामोदर आचार्य

दामोदर आचार्य
नेपालगन्जमा प्रतिष्ठित व्यवसायी दामोदर आचार्य नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य हुन् । उनलाई प्रबल जनसेवाश्री पदकले सम्मान गरिने भएको छ । पछिल्लो समय आचार्य व्यवसायसँगै मूलधारको राजनीतिमा पनि सक्रिय छन् । उनले गत स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उप-महानगरपालिकाको मेयर पदमा सम्मानजनक मतले हार ब्यहोरेका थिए । हाल उनी राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय छन् ।
डा. राजन पाण्डे

डा. राजन पाण्डे
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेलाई सुप्रवल जन सेवा श्री पदकबाट विभूषित गरिने भएको छ । पाण्डेले सिकलसेल एनिमिया रोगको खोज अनुसन्धान र उपचारमा महत्वपूणर् भुीमका निभाएका छन् । उनले कोभिड महामारी नियन्त्रणमा अस्पतालमा रहेर गरेको सेवाको प्रशंसा हुने गरेको छ । यसअघि डा पाण्डेलाई २०७३ सालमा प्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो ।
धीरजंग शाह

धीरजंग शाह
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलाई प्रवल जनसेवाश्री बाट विभूषित गरिने भएको छ । वरिष्ट जनस्वास्थ्य प्रशासक शाहले कोरोना महामारीमा सबैभन्दा बढी प्भावित बाँकेमा स्वास्थ्य सेवा व्यवस्थापनमा उल्लेखनीय भूमिका खेलेका थिए ।
प्रशन्न मिश्र

प्रशन्न मिश्र
प्रशन्न मिश्र भेरी अस्पताल नेपालगन्जका वरिष्ठ ल्याब टेक्निसियन हुन् । उनले कोभिड-१९ का बेला अस्पतालमा प्रयोगशाला व्यवस्थापनमा महत्वपूणर् भूमिका खेलेका थिए । मिश्रले सरकारबाट जनसेवाश्री पदक पाउने भएका छन् ।
सुनिता सहकारी

सुनिता सहकारी
भेरी अस्पताल कोभिड वार्डमा कार्यरत स्टाफ नर्स सुनिता सहकारी पनि जनसेवाश्री पदकबाट विभूषित हुने भएकी छन् । सहकारीले श्रीमान्को मृत्यु भएको शोककै बेला पनि भेरी अस्पतालको कोभिड वार्डमा खटिएर सेवा दिएकी थिइन् । सहकारी जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा एक लाख राशीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट समेत सम्मानित भएकी थिइन् ।
पुरमल बस्नेत

पुरमल बस्नेत
कोहलपुर निवासी कृषक पुरमल बस्नेत लाई समाजसेवा रत्नले विभुषित गरिने भएको छ । बस्नेत रिटायर्ड सैनिक हुन् भने हाल उनी लोपोन्मुख पुत्का मौरीको संरक्षणमा लागेका छन् । उनले अत्यन्तै संवेदनशील तर मह र वातावरण दुवैका लागि अति लाभदायक पुत्का मौरीको संरक्षणका लागि सरकारलाई पनि झकझक्याउँदै आएका छन् । उनी साहित्यकारसमेत हुन् ।
लुम्बिनी प्रदेशले बाँकेका ६ जनालाई विभुषित गर्ने
लुम्बिनी प्रदेश सरकारले बाँकेका तीनजना स्वास्थ्यकर्मीसहित ६ जना लाई विभिन्न मानपदवीबाट विभूषित गर्ने भएको छ । तीमध्ये दुईजना सहिदसमेत रहेका छन् । २०६३ चैत १४ गते नेपालगन्जमा मधेश आन्दोलनका क्रममा सहिद भएका माताप्रसाद कुर्मी र २०६३ फागुन ५ गते संघियता प्राप्तिको लागि नेपालगन्जमा सहिद भएका गुलजार खानलाई जनसेवा पदकले मरणोपरान्त सम्मान गरिने भएको हो ।
संबिधान दिवसको अवसरमा प्रदेश सरकारले नेपालगन्ज मेडिकल कलेज कोहलपुरकी स्त्रीरोग विशेषज्ञ डा. कविता सिंहा, नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका फिजिसियन डा असिम किदवाई र भेरी अस्पतालमा कार्यरत देवा जिसि विभूषित गर्ने निणर्य गरेको छ ।
डा. सिन्हालाई काठमाडौं बाहिर पहिलो पटक कोभिड संक्रमित प्रसूतिको शल्यक्रियासंगै उपचार गरेकोमा र असिमलाई कोभिड बिरामीको प्लाज्मा थेरापी बिधिबाट उपचार गरेको भन्दै समाजसेवी श्री पदकबाट विभुषित गर्ने निणर्य सरकारले गरेको हो ।
यस्तै देवालाई भेरी अस्पतालको सेवामा रहि कोभिड बिरामीको उपचारमा योगदान दिएको भन्दै प्रदेश सेवा समर्पण गर्ने निणर्य गरेको लुम्बिनी प्रदेशका सचिव रबिलाल पन्थले जारी गरेको सूचनामा उल्लेख छ ।
यसैगरी एकल महिलाहरुलाई सशक्तिकरण गरी सम्मानपूर्वक जीवनयापन गर्न विशेष योगदान गरेको भन्दै शोभा बिसीलाई प्रजापति गौतमी पदकले सम्मान गर्ने निणर्य प्रदेश सरकारले गरेको छ । उनीहरुलाई प्रदेश स्थापनाको दिन सम्मानित गरिने बताइएको छ ।