पुरुषसँग बार्गेनिङ गर्ने तीन महिला घोराहीबाट पक्राउ
Sunday, September 19th, 2021, 6:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ३ असोज
दाङमा पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाको बार्गेनिङ गर्ने तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।
घोराही उपमहानगरपालिका-१५ निवासी भद्रबहादुर जैसी (नाम परिवर्तन) गरेका एक पुरुष व्यवसायीलाई जबरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव एसपी सुरेशप्रसाद काफ्लेका अनुसार गएको असार ६ गते घोराही बजारमा रहेको कोहीनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु खाने र साँझ परेपछि घर जाउँभन्दा महिलामाथि हात गरे भन्दै बार्गेनिङ गर्न खोजेकी थिइन् ।
दाङ जिल्ला प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ निवासी ३२ वर्षीय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षीया खुमा वली र ३२ वर्षीय सुष्मा परियार रहेका छन् ।
‘पक्राउ परेका मध्ये सितादेवी थापा र खुमा वलीले भद्रबहादुर जैसीलाई असार १६ गते फोन गरी सुरुमा मेरो घरायसी विषयको मुद्धा छ, तपाई कानुन जानेको मान्छे भनि घोराही-१५ मा रहेको कोहिनूर रेष्टुरेन्टमा बोलाएका रहिछन्,’ पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले भने-‘रेष्टुष्टमा आएपछि सुरुमा बियर, मासु खाए अब घर जाउँ भन्दा उल्टै पुरुषलाई गाली गलौज गर्दै महिलालाई हात लगाउने, तँलाई प्रहरीमा जबरजस्ती करणीको मुद्धा हाल्छु भनेर निस्किएका रहेछन्, ’ उनले भने ।
तर उनीहरु त्यहाँबाट निस्किएपछि मुद्धा हाल्नेभन्दा पनि सम्वन्धीत व्यक्तिबाट पैसा असुल्ने गरी व्यक्तिलाई फोन गर्दै डर धम्की देखाउन थालेका प्रहरीले जनाएको छ ।
असार ७ गते प्रतिवादी मध्येकी खुमा वलीले पुनः ती व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई यो छिटो कुरा मिलाउनु पर्यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाई ५० लाख रुपैयाको माग गरेको तथ्य फेला परेको प्रहरी पक्राउ काफ्लेले बताए ।
उनले भने,‘उनीहरुले ५० लाख नआउने देखिएपछि पुरुषसँग भएको एक लाख रुपैया तत्काल लिएछन् र बाँकी १७ लाख रुपैयाको सिभिल बैंकको चेकमा जबरजस्ती दस्तखत गराई लिएपछि घट्ना प्रहरीसम्म आइपुगेको हो ।’
प्रहरी प्रमुख काफ्लेले अभियुक्तहरुलाई नियन्त्रणमा राखेर घटनाका बारेमा थप अनुसन्धान भैरहेको समेत बताएका छन् । ‘आफ्नो इज्जतसँग जोडेर पुरुषलाई डरधम्की देखाउँदै पैसाको बार्गेनिङ हुने गरेको सुनिन्छ । तर त्यस्ता प्रकृतिका मुद्धा प्रहरीसम्म आइपुग्दैनन्,’ प्रहरी प्रमुख काफ्लेले भने, ‘यो ठूलो रकमसँग जोडिएको घटना भएकाले प्रहरीसम्म आइपुगेको हो ।’
घट्ना बारे थप अनुसन्धानका लागि प्रतिवादीहरुलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । प्रहरीका अनुसार झुटो दोष लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।