होटलमा किशोरी मृत अवस्थामा फेला
Tuesday, September 21st, 2021, 6:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असोज
नेपालगन्जको पुष्पलाल चोकस्थित एक होटलमा एकजना किशोरी मृत अवस्थामा भेटिएकी छन् । पुष्पलालचोकस्थित सिम्ताली दुल्लु भिजन होटलमा बारबर्दिया-८ घर भएकी अन्दाजी १७ वर्षीया किशोरी सोनी परियारको शव झुण्डिएको अवस्थामा फेला परेको हो । घटना असोज ४ गते सोमबार भएपनि प्रहरीले मंगलबार मात्रै मुचुल्का गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक किशोर गिरीका अनुसार शव भुण्डिएको प्रकृति हेर्दा किशोरीले आत्महत्या गरेको आशंका गरिएको छ । यद्धपि थप कुरा पोष्टमार्टमपछि मात्रै खुल्ने उनले जानकारी दिए ।
यता किशोरीका आफन्तले भने मृत्यु रहस्यपूणर् रहेको बताएका छन् । उनीहरुले सोनीसँगै अरु दुईजना पनि सँगै होटलमा बास बसेकोमा उनीहरु फरार रहेकोले हत्या भएको हुनसक्ने आशंका आफन्तहरुको छ । सोनीले आफूसँग बसेकाहरु दाइभाउजु भएको भन्दै आफ्नो मात्रै नाम इन्ट्रि गरेकी होटल सन्चालकले बताएकी छन् । सबै व्यक्तिहरुको नाम र परिचय खुल्ने कागजातको रेकर्ड भने होटेलले नराखेको पाइएको छ ।
होटल सन्चालकका अनुसार सोनीसँगै एकजना केटी र एकजना केटा गरी ३ जना असोज २ गतेदेखि होटलमा बस्दै आएका थिए । सोनीबाहेक दुईजनाले ४ गते सोमबार बिहान १० बजेतिर नै होटेल छोडेर गएको तर सोनी भने केहीबेर आराम गरेर निस्कने भन्दै पुनः रुमतिर गएको होटल सन्चालकले बताइन् ।
तर, साँझ साढे ६ बजेतिर रुम सफा गर्ने कर्मचारीले कोठा खोल्दा सोनी झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेको होटल सन्चालकको भनाइ छ ।
प्रहरीका अनुसार उनकी आमाले अर्को विहे गरेर गएपछि बुवाले पनि अर्को बिहे गरेको र पछि गएर बुवाले पनि अर्कै बिहे गरेर अलग्गै बस्ने गरेको पाइएको छ । आमा बुवा दुवैले अर्कै बिहे गरेपछि सोनी बुवाकी माइली श्रीमती अर्थात् कान्छि आमासँग बस्दै आएकी थिइन् । भारतमा रहेकी कान्छी आमा पुगेपछि मात्रै पोष्टमार्टम गरिने इन्स्पेक्टर गिरीले जानकारी दिए ।
प्रहरीले तत्काल भेटिएका प्रमाणका आधारमा आफन्तको खोजी गर्दा कोही पनि सम्पर्कमा नआएपछि राती मुचुल्का गर्नुभन्दा दिउसो गर्नु उपयुक्त हुने भन्दै मंगलबार घटनास्थलको मुचुल्का गरी शवलाई फ्रिजमा राखिएको छ ।
मृतक किशोरीका नेपालगन्जमा रहेका आफन्तहरुले भने सोनीले आत्महत्या नभई उनको हत्या गरिएको हुनसक्ने भन्दै सँगै बसेका व्यक्तिहरुको खोजी गरी गम्भीर अनुसन्धान गरिनुपर्ने माग गरेका छन् । सोनीकी हजुरआमाले भनिन्, ‘हातमा रुपैयाँ समातेको अवस्थामै झुण्डिएको फेला परेको छ । शरीरमा नीलडामजस्तो देखिएको छ । सँगै बसेका मान्छे को हुन् ? कहाँ छन् ? थाहा छैन । आत्महत्या गरेकै भए होटलमा गएर किन आत्महत्या गरी ? यी सबै विषयमा अनुसन्धान गरिनुपर्छ ।’
प्रहरी निरीक्षक गिरीले सँगै बसेकाहरुको खोजी भइरहेको र घटनाको गम्भीर अनुसन्धान हुने बताएका छन् ।