धावक पार्कीको बिदाई
Tuesday, September 21st, 2021, 9:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असोज
बर्लिन म्याराथनमा भाग लिन जान लागेका म्यारथन धावक गोपीचन्द्र पार्कीलाई क्रियटिभ ह्याड्सले बिदाई गरेको छ ।
बिदाई कार्यक्रममा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वणर् पदक विजेता तथा नेपालगन्ज म्याराथन २०७७ का विजेता पार्कीले नेपालगञ्ज म्याराथनको रुट उत्कृष्ट रुट भएको बताए ।
पार्कीले राम्रो रुट रहेको नेपालगञ्ज म्याराथनमा सबै खेलाडीले आफ्नो रेकर्ड ब्रेक गर्ने अवसर पाउने भएकाले सरकारले नेपालगञ्ज म्याराथनलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
गतवर्ष टोकियो ओलम्पिक २०२० को छनोटका रुपमा रहेको छैटौं धारा नेपालगञ्ज म्याराथन पार्कीले जितेका थिए । पार्कीले नेपालगञ्ज म्याराजन २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेका थिए । क्रियटिभ ह्याण्ड्सको आयोजनामा हरेक वर्ष हुने नेपालगञ्ज म्याराथनलाई गतवर्ष टोकियो ओलम्पिकको छनोटका रुपमा मान्यता दिइएको थियो । यद्यपि, प्राविधिक कारणवश पार्कीले टोकियो ओलम्पिकमा भाग लिन पाएनन् । त्यसका वावजुद पनि पार्कीको प्रशिक्षण निरन्तर रहिरह्यो । जसले गर्दा बर्लिन म्याराथनमा भाग लिने मौका पाएका छन् ।
क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले पार्कीलाई सफलताको शुभकामना दिए । अध्यक्ष ठकुरीले भने, ॅनेपालगञ्ज म्याराथनको सातौं संस्करण नजिकिदै गर्दा पार्कीको बर्लिन म्याराथनको सहभागितालाई क्रियटिभ ह्याण्ड्स परिवार थप उत्साहित भएका छौं । यही अवसरमा हामीले उहाँलाई प्रोत्साहत स्वरुप केल्मीका टिसर्ट, ट्रयाकसुट, ब्याग प्रदान गरेका छौं ।’
यसैबीच, राखेपका सदस्य सचिव रमेश सिलवालले पार्कीले एक कार्यक्रममा विदाई गरेका छन् । पार्की मंगलबार बेलुका ८.४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गरेका छन् । उनको प्रशिक्षकमा सन्तोष श्रेष्ठ रहेका छन् । सेप्टेम्बर २६ मा जर्मनीमा बर्लिन म्याराथन हुँदै छ ।