सबै सीमानाका खुला गर्ने निर्णय
Tuesday, September 21st, 2021, 9:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असोज
सरकारले सबै सीमानाका खुला गर्ने निणर्य गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निणर्य गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नाका खुला नगरिएपनि बाँकेको जमुनाह नाकामा भने सर्वसाधारणका लागि कुनै रोकतोक थिएन । यद्धपि पर्यटकहरुलाई नाका बन्द हुँदा समस्या थियो । यहाँका पर्यटन व्यवसायीहरुले नाका खोल्नुपर्ने माग राख्दै आएका थिए ।
यस्तै, सरकारले कोभिड-१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकारले जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको हो । सो आदेशबाट प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड-१९ निर्देशक समिति गठन भएको छ । समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । बैठकले कोभिड-१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ ।
बैठकले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको समेत टुंगो लगाएको छ ।