नेपाली मानक कथाकार सनत रेग्मीसँग अनौपचारिक संवाद (भिडियोमा)
Wednesday, September 22nd, 2021, 8:32 am Kalpristha
साहित्य, राजनीति र समाजसेवा सनत रेग्मीको सार्वजनिक जीवनका आयाम । कथामा उनले आफू हुर्केबढेको समाज लेखे । अवध क्षेत्र र विशेषगरी नेपालगन्ज आसपासका कथाहरुलाई नेपाली साहित्यमा भित्र्याए ।
उनी राजनीतिमा कति सफल भए ? त्यसको मूल्यांकन आफ्नो ठाउँमा भएकै छ । साहित्यमा भने उनले भरपूर माया पाएका छन् । उनलाई उनको गृहनगर नेपालगन्जमा विशेष आदर गरिन्छ । नेपाली साहित्यमा आन्चलिक कथा र तराईली परिवेशका कथाको चर्चा हुँदा रेग्मीको नाम छुट्दैन ।
उनको बहुचर्चित कथा लक्ष्मनियाको गौना नेपाली मानक आन्चलिक कथा मानिन्छ । उक्त कथा विश्वविद्यालयमा पढाई हुन्छ । लक्षमनियको गौनाका साथै अन्य कथाहरु पनि विश्वविद्यालयमा पढाई भइरहेका छन् ।
रेग्मी आफै भन्छन्, म लेखक भन्दा बढी पाठक हुँ । उनले इतिहास, साहित्य र राजनीतिको गहन अध्ययन गरेका छन् । कहिलेकाहीँ रेग्मी आफै आफैसँग गुनासो गर्छन्, ‘मैले अध्ययन गरेको र मसँग भएको सबै कुरा लेख्न सकिनँ ।’
साहित्य र राजनीति दुवैमा विपी कोइरालालाई पछ्याएका रेग्मीले नेपाली साहित्यमा दिएको योगदानको थप मूल्यांकन समयले गर्दै जानेछ । उनको योगदानको कदर गर्दै नेपालगन्जका साहित्यिक संस्थाहरुले उनको ७५ औँ जन्मदिन २०७८ असोज ६ गते नेपालगन्जमा विशेष कार्यक्रम गरी उनको जन्मोत्सव मनाउँदै छन् ।
यसै सन्दर्भमा हामीले रेग्मीसँग उनको अमृतोत्सवको अवसरमा एक विशेष संवाद गरेका छौँ ।