कालपृष्ठको नयाँ ग्राहक योजना अन्तर्गत विपी चोकमा कार्यक्रम
Wednesday, September 22nd, 2021, 11:17 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असोज
कालपृष्ठ दैनिकको नयाँ ग्राहक योजना अन्तर्गत नेपालगन्जको विपी चोकमा नयाँ ग्राहकलाई स्वागत एवं पत्रिका वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रोफेशनल गल्फ एशोसियसनका अध्यक्ष, नेपाली कांग्रेसको नेपाल उद्योग व्यापार विभागका केन्द्रिय सदस्य रविन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा उद्यमी एवं समाजसेवी श्रेष्ठले कालपृष्ठका नयाँ ग्राहकहरुलाई कालपृष्ठको टिसर्ट प्रदान गरेका थिए ।

कालपृष्ठको टिसर्ट वितरण गरिँदै
सो अवसरमा लक्ष्मी मिडिया प्रिन्टर्सका सन्चालक सुनिल भण्डारी, नेश्नल प्याथ ल्याबका विनयचन्द्र गुप्त र गण्डकी रेष्टुरेन्टका सन्चालक राजकुमार खड्कालाई कालपृष्ठको लोगो अंकित टिसर्ट हस्तान्तरण गरिएको थियो । साथै चोकमा भेटिएका सर्वसाधारणलाई निःशुल्क पत्रिका वितरण पनि गरिएको थियो ।
टिसर्ट हस्तान्तरण गर्दै श्रेष्ठले कालपृष्ठ दैनिकले नेपालगन्जको पत्रकारितामा गरेको योगदानको प्रशंसा गरे । उनले साढे दुई दशकदेखि कालपृष्ठले विश्वसनीय समाचार सामग्रीका साथ पाठकहरुलाई सुसूचित गर्दै आएको बताए । उनले अहिलेको परिवेशमा सन्चार माध्यमलाई थप क्रियाशिल, समयसापेक्ष र विश्वसनीय बनाउने काममा कालपृष्ठजस्ता सन्चारसंस्थाहरुको महत्वपूणर् भूमिका हुनेमा जोड दिए ।
अहिले पाठकहरु प्रविधिअनुकुल माध्यमको खोजीमा रहेकोले कालपृष्ठले सुरु गरेको अनलाइन संस्करणको सफलताको शुभकामना पनि दिए । साथै उनले पत्रिकाको सबैभन्दा ठूलो शक्ति नै पाठक भएको बताउँदै पाठकहरुले पनि पत्रिकाको गुणस्तर वृद्धिका लागि आवश्यक सल्लाह सुझाव सधैं दिइराख्नुपर्ने धारणा राखे ।
कालपृष्ठको नयाँ ग्राहक योजना असोज ३ गते संविधान दिवसको दिनबाट सुभारम्भ गरिएको थियो । कालपृष्ठ दैनिक र कालपृष्ठ न्युज डट कमका प्रबन्ध निर्देशक कमल खत्रीले कालपृष्ठ दैनिकको नयाँ वार्षिक ग्राहक बन्ने व्यवसायीहरुको व्यवसायको विज्ञापन एक हप्ताका लागि पत्रिकाले निःशुल्क गर्ने जानकारी दिएका छन् ।

कालपृष्ठ पत्रिका वितरण गरिँदै