मिटर माग गर्दै राप्ती सोनारीवासी नेपालगन्जमा
Wednesday, September 22nd, 2021, 6:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असोज
राप्ती सोनारी गाउँपालिका-३ मा विद्युत् विस्तार भएको एक वर्षपनि भएको छैन । गाउँमा पहिलोपटक विद्युत् आएपछि वडा नम्बर ३ का स्थानीयमा खुसीको कुनै सीमा नै थिएन । तर हाल आएर उनीहरुलाई ‘हात्ती आयो पुच्छर अड्क्यो’ जस्तो अनुभूति भएको छ । कारण हो विद्युत् मिटरको नपाउनु ।
मिटर पर्याप्त उपलब्ध भएपनि विद्युत् प्राधिकरणले उपलब्ध नगराएपछि उनीहरु कर्मामा छन् । घरमै पुगेका विद्युत्को तारबाट उनीहरुले बिजुलीको प्रयोग गर्न पाएका छैनन् ।
गाउँपालिकाको पहल र चार करोड बजेटमा वडा नम्बर ३ लगायतका क्षेत्रमा विद्युत् विस्तार गरी विद्युत् कार्यालयलाई हस्तन्तरण गरीसकिएको छ । गाउँघरमै बिजुली आएको पनि ५/६ महिना नाघिसक्दा समेत उनीहरुले विद्युत् मिटर पाएका छैनन् । विद्युत् मिटर नहुँदा बिजुलीको प्रयोगबाट वन्चित बनेका छन् उनीहरु ।
गाउँपालिका अध्यक्ष लाहु राम थारु विद्युत् कार्यालयलाई यस विषयमा बारम्बार खबर गरिरहेको बताउँछन् । उनी विद्युत् वितरण शाखाले मिटर बक्स नभएको बाहना बनाउँदै आइ रहेको बताउँछन् ।
गाउँमा मिटर जडान नभएका कारण वडा नम्बर ४ का अध्यक्ष गंगाराम थारुको नेतृत्वमा बुधबार जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, स्थानीय उपभोक्तालगायतका व्यक्तिहरु डेलिगेशन लिएर नेपालगन्ज आए । उनीहरुले के कति कारणले मिटर नजोडिएको हो ? भन्दै भन्दै विद्युत् प्राधिकरणको डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख सुरज गौतमसँग प्रश्न गरे ।
प्रमुख गौतमसँगको भेटमा वडा नम्बर ४ का वडा अध्यक्ष थारुले मिटर बक्स नजोडिएका कारण स्थानीयले सास्ती भोग्नु परेको बताए । उनले सधैं विद्युत्को समस्या लिएर आउनु पर्ने बाध्यताको अन्त्य माग गरे ।
‘गाउँमा हामीले विद्युत् पुर्याइसक्यौँ । तपाईंहरुलाई पनि स्तान्तरण गरिसक्यौँ । तर मिटर बक्स जडान नभएर जनताले बत्ती बाल्न नपाउनु कत्तिको लाजमर्दो कुरा हो,’ वडा अध्यक्ष थारुले भने । थारुले पाँच महिना अगाडि नै एक सय ३० घरधुरीले रकम भुक्तानी गरेर फाइल पेश भइसक्दापनि विद्युत् कार्यालयको लापरबाहीले मिटर नजोडिएको बताए ।
थारुले विद्युत् कार्यालयका कर्मचारीको मिलोमतोमा केही व्यक्तिले मिटर जडान गरेको आरोप लगाए । उनले भने, ‘पैसा र फाइल बुझाएको पनि ५/६ महिना भई सक्यो । ती व्यक्तिको घरमा मिटर जडान भएको छैन । तर केही व्यक्तिले फाइल बुझाएको हप्तादिनमै मिटर पाएका छन् । कसरी ?’
थारुले विद्युत् कार्यालयले लापरबाही गरेपनि जनप्रतिनिधिले जनताको गुनासो सुन्नु पर्ने बाध्यता आएको गुनासो गरेका थिए ।
प्रमुख गौतम भने कुनैपनि हालतमा विद्युत् मिटर अभाव हुन नदिएको बताउँछन् । उनले राप्ती सोनारीका लागि मिटर बक्स मौज्दात गरेर राखेको बताए ।
‘हामीले राप्ती सोनारी र नरैनापुरका लागि मिटर स्टक गरेर राखेका छौं । म तपाईँहरुलाई मिटर अभाव हुन दिन्न । हामीले फाइल आइसकेका सबैको मिटर जडान गर्नका लागि शाखा कार्यालयलाई पठाइसकेका छौं,’ गौतमले भने ।
उनले मिटर जोड्ने काम वितरण शाखाको भएको बताउँदै एकैपटक सबै मिटर जडान गर्न नसकेपनि अलि अलि गर्दै मिटर जडान गर्न लगाउने बताए ।
विद्युत् कार्यालयमा आएका स्थानीयले धामपुरमा पनि विद्युत् कार्यालय खोल्न सुझाएका थिए । उनीहरुले विद्युत् महसुल, विद्युत्सम्बन्धी समस्याका समाधानका लागि उपलब्ध गराइएको धामपुरको एक बिघा जग्गामा कार्यालय खोल्न सुझाएका छन् ।