‘यो हाम्रो सरकार हटाउन मात्रै बनेको गठबन्धन हो’
Wednesday, September 22nd, 2021, 7:57 pm
Kalpristha
ओलीले दुई तिहाइको सरकारले गरेको विकास देख्न नसकेर पार्टीभित्र बाटै विरोधको आवाज उठेको बताए । आफ्नो पालाको सरकारले गरेको विकास हेरेर विभिन्न प्रतिक्रियाबादी शक्तिहरु आत्तिएको उनको भनाइ थियो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असोज
निर्वतमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन नेकपा एमालेको सरकार हटाउन मात्रै बनेकोे बताएका छन् ।
बुधबार नेपालगन्जमा आयोजित नेपाल कम्न्युष्ट पार्टी एमालेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेलाई सरकारबाट हटाउनकै लागि अहिलेको गठबन्धन बनेको बताए । ओलीले सत्ताधारी ५ दलको गठबन्धनलाई देश विरोधी मोर्चाको आरोपसमेत लगाएका छन् ।
‘अहिले बनेको सरकार कुनै राम्रा कामका लागि बनेको होइन । यदि राम्रा कामका लागि बनेको हुन्थ्यो भने सरकार बनेको दुई महिना भइसक्दा पनि किन मन्त्रीमण्डल बनाउन सकेको छैन ? यो गठबन्ध हाम्रो सरकार हटाउन मात्रै बनेको हो,’ ओलीले भने ।
उनले कार्यक्रममा पार्टीलाई संकटका बेला कार्यकर्ताले बचाएको भन्दै प्रशंसा गरे । ‘पार्टी संकटमा परेका बेला । नेताले आ-आफ्ना विचार व्यक्त गरे । तर कार्यकर्ताहरुले विशुद्ध पार्टीको हितलाई सोचेर पार्टीलाई बचाउने काम गर्नु भएको छ ,’ उनले भने, ‘पाटीलाई सिध्याउन लागेका व्यक्तिहरुका पाउमा पाटीलाई पुर्याउन कार्यकर्ताले दिएनन् ।’
ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको पवित्र भू-भाग भएकाले फिर्ता ल्याउनुपर्नेमा पनि जोड दिएका छन् । उनले सरकारले यो भू-भागलाई समस्या मात्र भनेर देशको स्वाभिमान जोगाउने कुराबाट पन्छिन खोजेका आरोप लगाए ।
ओलीले माधव नेपालतर्फ इंगित गर्दै पार्टीका केही खराब पक्ष चोइटिएर गएको बताए । ‘प्रचण्ड पनि अलिकति आफ्नो हिस्सा लिएर बाहिर गए । माधव पनि सानो चोइटो लिएर बाहिर गए । यसले पार्टी कमजोर भयो कि भन्ने कुनै चिन्ता लिनु पर्दैन । उनीहरु दिनप्रतिदिन कमजोर हुँदै गएका छन् । मलाई त लाग्छ दुई वर्षपछि प्रचण्ड साच्चिकै एक्लै हुन्छन् कि ?,’ ओलीले भने ।
ओलीले दुई तिहाईको सरकारले गरेको विकास देख्न नसकेर पार्टीभित्र बाटै विरोधको आवाज उठेको बताए । आफ्नो पालाको सरकारले गरेको विकास हेरेर विभिन्न प्रतिक्रियावादी शक्तिहरु आत्तिएको उनको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेकपा एमालेबाट गएका व्यक्तिहरु हराउँदै जाने बताए । उनले भने, ‘पार्टीबाट अलग भएका व्यक्तिहरु अहिले आएर १० प्रतिशतभन्दा कम संख्यामा सिमित भएका छन् । अब चुनावसम्म त हराएरै जान पनि सक्छन् । उनीहरुलाई कसैले साथ दिने छैन ।’
पोखरेलले कार्यकर्तालाई सम्बोधन गर्दै अब सबैका घर-घरमा एमालेलाई पुर्याउनु पर्नेमा जोड दिए । उनले भने, ‘अब हामी जनताको माझ जाने बेला भएको छ । तपाईँहरु हरेक घर-घरमा एमालेलाई पुर्याउनु । चाहे त्यो जुनसुकै पाटीका किन नहोस् ।’
उनले अब बाँकेका सबै स्थानीय तहमा एमालेको नेतृत्व आउनेमा दुई मत नभएको दावी गरे । उनले भने, ‘अहिल विकास हेर्न नसक्नेहरु सरकारमा छन् । हामीलाई जनताका समस्या बुझ्ने समय आएको छ । हामी एक ढिक्का भएर गयौँ भने पुनः सरकारमा आउँछौ,’
बुधबार बिहान काठमाडौंबाट बर्दिया आएका अध्यक्ष ओलीले बुधबार दिउँसो बाँकेमा सम्बोधन गरेका हुन् । ओली बुधबार नै राजधानी फर्केका छन् ।
नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा बोल्ने नेताहरुले सुदृढ एमाले बनाउन कार्यकर्तालाई आह्वान गरेका छन् ।