जनप्रतिनिधि भएर पनि जनप्रतिनिधिविहीन वडा
Wednesday, September 22nd, 2021, 9:22 pm
Kalpristha
स्थानीयका अनुसार वडाको विगत ४ वर्ष वडा सदस्य र वडाध्यक्षको तालमेल नमिलेरै सकिएको छ । जबकी सबै जनप्रतिनिधिहरु तत्कालिन अवस्थामा मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए । अहिले उनीहरु सबै जनता समाजवादी पार्टीमा रहेको बताउँछन् ।
वीरेन्द्र जैसी
नेपालगन्ज, ६ असोज
वडाध्यक्षदेखि वडा सदस्यहरु सबै एउटै पार्टीबाट निर्वाचित । तर पनि वडाध्यक्ष र वडा सदस्यहरुको तालमेल छैन । तालमेल यतिसम्म बिग्रिएको छ की वडाध्यक्ष बिरामी भएर बिदामा बस्नको लागि कायवाहक अध्यक्षको जिम्मेवारी दिँदा उक्त जिम्मेवारी लिन कोहीपनि वडा सदस्य तयार हुँदैनन् । वडाध्यक्ष बिरामी भएर बिदामा बसेपछि एक हप्तादेखि वडा कार्यालयमा कोहीपनि जनप्रतिनिधि आउँदैनन् । वडाध्यक्षको सिफारिस अनिवार्य चाहिने जनताका कामहरु हुन पाएका छैनन् ।
यो अवस्था नेपालगन्ज उपमहागरपालिका वडा नम्बर २३ को कार्यालयको हो । उक्त वडा कार्यालयमा यो हबिगत अहिलेको मात्रै होइन । निर्वाचित भएदेखि नै वडासदस्यहरुले जनताको काममा कुनै चासो नदिने गरेको वडाध्यक्ष मो. हुसेन शेष बताउँछन् । स्थानीयहरु पनि जनप्रतिनिधिहरु निर्वाचित भइसकेपछि जनताको काममा कुनै किसिमको सहभागिता नजनाउने गरेको गुनासो गर्छन् । एकजना स्थानीयले भने, ‘जनप्रतिनिधिहरुलाई जनताको कुनै मतलब नै छैन । चुनाव जितेपछि उनीहरुले आफ्नो व्यवसाय सुधार गर्नेबाहेक केहीपनि गरेका छैनन् ।’
हाल नागरिकले वडाबाट ४९ प्रकारका सेवाहरु लिन पाउँछन् । जसमध्ये पन्जिकरणका ७ वटा कामबाहेक अरु सबै काममा वडाध्यक्षको हस्ताक्षरण निणर्य अनिवार्य लागू हुन्छ । जुन सेवाहरु अन्य कुनैपनि कार्यालयमा उपलब्ध हुँदैनन् । जसमा नाता प्रमाणित, नागरिकता सिफारिस, बहाल कर सिफारिस, जन्ममिति प्रमाणित, विवाहित प्रमाणिकरण, निःशुल्क उपचार सिफारिस, व्यक्तिगत विवरण प्रमाणित, कित्ताकाट सिफारिस, नामसारी सिफारिस, जग्गा तथा घर मूल्यांकन सिफारिस, आर्थिक अवस्था सिपारिस, धारा तथा बिजुली जडान सिफारिस, सामाजिक सुरक्षा कार्यक्रमको परिचय पत्र लगायतका महत्वपूणर् सेवाहरु वडाध्यक्षको हस्ताक्षर र निणर्यपछि मात्रै प्राप्त हुन्छन् । त्यही भएर वडाध्यक्ष नभएको अवस्थामा आफूले इच्छ्याएको वडासदस्यलाई कायवाहक दिनसक्ने व्यवस्था छ ।
तर वडा नम्बर २३ का वडाध्यक्ष शेषले कोहीपनि वडा सदस्यले कायवाहकको रुपमा काम गर्न नचाहेको बताए । आफूलाई ज्वरो र झाडापखालाको समस्या देखिएपछि भदौ ३० गते वडासदस्य अजिज बेहनालाई कायवाहक अध्यक्षको जिम्मेवारी दिएर आफू बिदामा बसेको वडाध्यक्ष शेष बताउँछन् । तर वडासदस्य शेषले उक्त जिम्मेवारी स्वीकार गरेका छैनन् । ‘अरु कोही वडा सदस्य पनि कायवाहक वडाध्यक्षको जिम्मेवारी लिन राजी छैनन् । यो अहिलेको मात्रै समस्या होइन, चार वर्षमा एकपटक पनि कसैले कायवाहको जिम्मेवारी लिन मानेका छैनन्,’ वडाध्यक्ष शेषले गुनासो पोखे ।
यता वडा सदस्य बेहना भने आफूसँग कुनै सल्लाह र जानकारी बिना नै कायवाहक दिइएको दावी गर्छन् । ‘त्यसबेला म आफ्नो परिवारको उपचारमा व्यस्त थिएँ । मसँग कुनै सल्लाह नै नगरी वडाध्यक्षले मेरो नाममा कायवाहक लेखेर छोडेर गएका रहेछन्,’ अजिजले भने, ‘त्यसरी दिएको जिम्मेवारी मैले किन लिने ?’ उनले वडाध्यक्षले वडासदस्यहरुसँग कुनै समन्वय नै नगरी काम गर्ने गरेको आरोप लगाए । यता वडाध्यक्ष वडा सदस्यहरु निर्वाचित भएदेखि नै वडाको काम र जनताले दिएको जिम्मेवारीप्रति वफादार नरहेको आरोप लगाउँछन् ।
स्थानीयका अनुसार वडाको विगत ४ वर्ष वडा सदस्य र वडाध्यक्षको तालमेल नमिलेरै सकिएको छ । जबकी सबै जनप्रतिनिधिहरु तत्कालिन अवस्थामा मधेशी जनअिधकार फोरमबाट निर्वाचित भएका थिए । अहिले उनीहरु सबै जनता समाजवादी पार्टीमा रहेको बताउँछन् । एउटै पार्टीमा आबद्ध भएपनि वडा सदस्यहरुले आफूलाई जनताका काममा कुनै सहयोग नगरेको वडाध्यक्ष शेषले बताए । उनले भने ‘बैठकमा पनि भत्ता लिनका लागि मात्रै आएजस्तो गर्छन् । आउँछन् हतार-हतारमा गइहाल्छन् । विकास निर्माणका काममा पनि जहाँ पैसा छ त्यहाँ मात्रै पुग्छन् । अरु काममा कुनै सहभागिता नै जनाउँदैनन् ।’
एकजना स्थानीयले चारवर्षसम्म वडा कार्यालय भद्रगोल अवस्थामा सन्चालन भएको आरोप लगाए । उनले एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुबिच पनि सामान्य जिम्मेवारी लिने काममा पनि तालमेल नमिल्दा जनताहरुले पहिलो कार्यकालभरी अनेक दुःख पाएको गुनासो गरे । उनले हाल आएर उनीहरुलाई जिताएकोमा पछुतो लाग्ने गरेकोसमेत बताए ।
वडा कार्यालयका एकजना कर्मचारीले एउटै पार्टीका जनप्रतिनिधिहरुको तालमेल नमिल्दा जनताहरुले सहजरुपमा सेवा लिन नपाएको र सुशासनको अनुभूति गर्न नपाएको स्वीकार गरे ।