बाँकेमा ४५ वर्षमाथिका सबैलाई भेरोसेल खोप लगाइने
Thursday, September 23rd, 2021, 5:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ असोज
बाँकेमा ४५ वर्षमाथिका नागरिकहरुलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । यसअघि ६५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने भनिएपनि पहुँचका आधारमा कम उमेरका नागरिकहरुले पनि खोप लागाएका थिए । अब ४५ वर्षमाथिका सबै नागरिकले खोप लगाउन पाउने भएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीर जंग शाहका अनुसार असोज १२, १३ र १४ गते जिल्लाका सबै ८१ वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट खोप लगाइने छ । साथै १८ वर्ष उमेर पुगेका विद्याथीृहरुलाई पनि परिचयपत्रका आधारमा खोप लगाइने भएको छ ।
खोप लगाउन आउँदा उमेर प्रमाणित हुने कागजात र विद्यार्थीको हकमा परिचयपत्र अनिवार्य साथमा लिएर आउनुपर्नेछ ।
जिल्लामा अहिले तोकिएको समूहका सबै मानिसहरुलाई खोप लगाउन करिब ३५ हजार डोज खोप आवश्यक भएपनि स्वास्थ्य कार्यालय बाँकेमा जम्मा ३३ हजार डोज खोप उपलब्ध भएको शाहले कालपृष्ठलाई जानकारी दिएका छन् ।
हाल सरकारले २८ हजार डोज खोप उपलब्ध गराएको र ५ हजार डोज कार्यालयमा मौज्दात रहेकोले अब जम्मा ३३ हजार डोज खोप उपलब्ध रहेको शाहले बताए । अहिलेको अवस्थामा ४५ वर्षका केही नागरिकले खोप लगाइसेको अवस्थामा उपलब्ध खोपले तोकिएका उमेर समूहका सबैलाई पुग्ने शाहको भनाइ छ ।
हालसम्म जिल्लामा करिब एक लाख १० हजार जनाले पहिलो डोज र तीमध्ये ९३ हजार जनाले दुबै डोज खोप लगाइसकेको शाहले जानकारी दिएका छन् । दोस्रो डोज लगाउन छुटेका वा बाँकी रहेकाहरुले पनि अबको अभियानका क्रममा खोप लगाउन पाउनेछन् । यद्धपि छुटेकाहरु अधिकांश बाँके छोडेर अन्यत्र गइसकेको हुनसक्ने आँकलन गरिएको छ ।