बैजनाथको स्वास्थ्य सेवा मात्र २२ प्रतिशत मापदण्डमा
Thursday, September 23rd, 2021, 5:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ असोज
बाँकेको बैजनाथ गाउँपालिकाका सरकारी स्वास्थ्य संस्थाहरुले नै मापदण्डअनुुसारको सेवा नदिएको खुलासा भएको छ । गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुले औसतमा २२ प्रतिशत मात्रै मापदण्डअनुसार सेवा दिएको एक अध्ययन प्रतिवेदनले खुलासा गरेको हो ।
गेरुवा ग्रामीण जागरण संघ बर्दियाले बैजनाथका ६ वटा स्वास्थ्य संस्थाहरुमा गरेको अध्ययनपछि सार्वजनिक प्रतिवेदनले गाउँपालिकाका स्वास्थ्य संस्थाहरु मापदण्डमा सन्चालित नभएको खुलासा गरेको हो । यतिसम्म कि एउटा स्वास्थ्य संस्थाले त जम्मा एक प्रतिशत मात्रै मापदण्ड पूरा गरेको छ ।
खानेपानी, सरसफाइ तथा स्वास्थ्य संस्थाजन्य फोहोर, स्वच्छता र व्यवस्थापन लगायत ६४ वटा सूचकहरुका आधारमा गरिएको अध्ययनमा नौबस्ता स्वास्थ्य चौकीले जम्मा एक प्रतिशत मापदण्ड मात्रै पूरा गरेको फेला परेको हो ।
गाउँपालिकामा सबैभन्दा बढी टिटिहिरिया स्वास्थ्य चौकीले सबैभन्दा बढी ३६ प्रतिशत मापदण्ड पूरा गरेको छ । चिसापानी स्वास्थ्य चौकीले २१, डिगिया आधारभूत स्वास्थ्य सेवा केन्द्रले २८, बनकटुवा प्राथमिक स्वास्थ्य सेवा केन्द्रले २० र पेडारी आधारभूत स्वास्थ्य सेवा केन्द्रले २८ प्रतिशत मापदण्ड पूरा गरेर स्वास्थ्य सेवा दिइरहेका पाइएको छ ।
गेरुवाका कार्यकारी निर्देशक तथा अनुुुसन्धानकर्ता हरिप्रसाद सुवेदीका अनुसार सिमाभीको आर्थिक सहयोगमा सन्चालित परियोजना वास इन हेल्थ अन्तर्गत विश्व स्वास्थ्य संगठन र यूनिसेफले विकास गरेको वास फिट टुल प्रयोग गरेर अध्ययन गरिएको थियो ।
उक्त अध्ययनको प्रतिवेदन बिहीबार बैजनाथ गाउँपालिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।
अध्ययन प्रतिवेदनको निष्कर्शबारे प्रतिक्रिया दिँदै बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले अब ६ महिनाभित्र सबै गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा कम्तीमा ५० प्रतिशत मापदण्ड पूरा गरेर सेवा दिने दावी गरेका छन् ।