बाघ बाँके निकुन्जको चुनौतिसँगै अवसर
Thursday, September 23rd, 2021, 9:01 pm
Kalpristha
सुरुका सात वर्ष निकुन्जमा पर्यटकको आगमन शुन्य रह्यो । पछिल्ला चार वर्षयता पर्यटकको आगमन सुरु त भएको छ । तर त्यो सन्तोषजनकरुपमा बढ्न सकेको छैन । अहिले निकुन्जले पर्यटक तान्ने रणनीति बनाइरहेका बेला निकुन्जमा बाघको गतिविधि सबैले महसुस गर्नेगरी बढेको छ ।
वीरेन्द्र जैसी
नेपालगन्ज, ७ असोज
बाँके राष्ट्रिय निकुन्जको परिचय नै बाघ हो । स्थापनाको उदेश्य नै बाघ संरक्षण हो । केही दिनअघि बाघले एक जनाको ज्यान लिएको दुःखद घटनापछि अहिले राष्ट्रिय निकुन्जका बाघहरु चर्चामा आएका छन् ।
सन् २०१८ को गणनामा निकुन्जमा २१ वटा बाघसमेत रहेका पाइएको थियो । अहिले बाघको संख्या पक्कै पनि थप बढेको छ । बाघको संख्या बढ्दै जाँदा मानव र बाघबीचको द्वन्द्व पनि बढेको छ ।
स्थानीयहरुका चौपायाहरु माथि बाघले पटक-पटक आक्रमण गर्दै आएकोमा पछिल्लोपटक मानिसमाथि नै आक्रमण गरेपछि निकुन्ज आसपासका स्थानीयहरुमा त्रास फैलिएको छ । राप्ती सोनारी गाउँपालिका-१ कुसुमस्थित गाभरमा एक साताअघि स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने भारतीय नागरिकलाई बाघले राजमार्गबाट करिव ५ सयमिटर निकुञ्जभित्र लगेर खाएको थियो ।
निकुन्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले यतिबेला निकुन्जका सामू चुनौति र अवसरहरु दुवै रहेको बताए । उनले भने, ॅएकातिर मानव र बाघलगायतका वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै संरक्षणमा हातेमालो गर्नु चुनौति छ भने अर्कोतिर बाघकै माध्यमबाट पर्यटकलाई आकर्षित गर्ने अवसर पनि ।’
बाँके राष्ट्रिय निकुन्ज स्थापना भएको एक दशकभन्दा बढी भइसकेको छ । एक दशकको अवधिमा निकुन्जले पर्यावरण र वन्यजन्तु संरक्षणमा उल्लेखनीय काम गरे पनि पर्यटकीय गतिविधि भने बढाउन सकेको छैन ।
सुरुका सात वर्ष निकुन्जमा पर्यटकको आगमन शुन्य रह्यो । पछिल्ला चार वर्षयता पर्यटकको आगमन सुरु त भएको छ । तर त्यो सन्तोषजनकरुपमा बढ्न सकेको छैन । अहिले निकुन्जले पर्यटक तान्ने रणनीति बनाइरहेका बेला निकुन्जमा बाघको गतिविधि सबैले महसुस गर्नेगरी बढेको छ ।
यतिबेला निकुन्जले बाघले मानवीय क्षति गर्न नसक्ने गरी पूर्वाधारको विकास गर्ने, सवधानी अपनाउने र जनचेतना अभिवृद्धि गर्नुपर्ने चुनौति रहेको छ । स्थानीयको जीउज्यानमा खतरा बढ्दै गएमा निकुन्जको बाघ संरक्षण अभियानलाई नै हानी पुग्न सक्छ ।
अर्कोतिर पर्यटकीय गतिविधि बढाउँदै स्थानीयहरुको जीवनस्तरमा पनि सुधार गर्ने रणनीति निकुन्जले लिनुपर्ने आवश्यकता छ ।
पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका-१ गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको ठुलो समुह बसिरहेको फेला परेको छ । निकुञ्ज कार्यालयले हालै बिछ्याएको ‘क्यामेरा ट्रापिङ’ बाट उक्त बाघको बथान फेला परेको जानकारी दिए ।
पाटेबाघले गाउँ आसपासको क्षेत्रमा आफ्नो उपस्थिती देखाउन थालेपछि निकुञ्जले निगरानी बढाउन विभिन्न सम्भावित ठाउँमा क्यामेरा राखेको थियो । यसका साथै दुई वटा हात्तीसहित नेपाली सेना र निकुञ्जका कर्मचारीले नियमित रुपमा गस्ती गर्दै आएका छन् ।
निकुञ्जले सीमित ठाउँमा बिछ्याएको क्यामेरामा छोटो अवधिमा चार वटा वयस्क पाटेबाघ फेला परेको प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए । चार वटै बाघलाई गाभर र सौरीको बीच जंगलमा क्यामेराले कैद गरेको छ । त्यहाँ अरु बाघ पनि रहेको उनको अनुमान छ ।
निकुञ्जको पुर्वी सेक्टर अन्र्तगत पर्ने कुसुम क्षेत्र पाटेबाघको राम्रो बासस्थान रहेको पुष्टी भएको शाह बताउँछन् । बाघले मान्छे र पशु चौपायामाथी आक्रमण गर्न थालेपछि निकुञ्जले दुई वटा हात्तीमार्फत नियमित अनुगमन गरिरहेको र सेना तथा कर्मचारीले पनि नियमित गस्ती गर्दै आएको शाहले बताए ।
शाहले बाघले मानिसमाथि विरलै मात्र आक्रमण गर्ने गरेको बताए । केही दिनअघि भएको घटना पनि बाघको हिंस्रक बानीका कारण नभई मानिससँग अचानक जम्काभेट भएपछि मात्रे भएको हुनसक्ने उनले बताए । स्थानीयहरुमा अब सधैं बाघको जोखिम मोल्नुपर्ने हो कि भन्ने डर भएमा त्यस्तो डर पाल्न नहुने उनको भनाइ छ । बरु बाघलाई बस्तीमा नपुग्ने वातावरण बनाउनेतिर निकुन्ज र स्थानीयले पहल गर्नुपर्ने उनले बताए ।
‘निकुन्जले गस्ती बढाएको छ । सेनाका पोष्टहरु थप सक्रिय भएका छन् । हिंस्रक बाघ भए उक्त बाघलाई नियन्त्रणमा लिन प्रयास भइरहेको छ । राजमार्गमा यात्रा गर्दा समूहमा मात्रै यात्रा गर्न दिइएको छ । यी हामीले अहिले गरिरहेका प्रयास हुन्,’ शाहले भने, ‘यसबाहेक थप सावधानी र उपायहरु हामी प्रयोग गर्दै छौँ ।’
शाहले अब मानव वन्यजन्तुको द्वन्द्व घटाउने विषयमा अभिमूखिकरण र जनचेतनामूलक कार्यक्रमहरु गरिने जानकारी दिए । साथै निकुन्जमा बाघको आहरा संरक्षणको कामलाई पनि थप जोड दिइने उनको भनाई छ । तत्कालका लागि स्थानीयहरुले घरवरिपरिको झाडि सफा गर्ने रातीको समयमा बाहिर यात्रा नगर्ने र सावधानी अपनाउन उनको सुझाव छ ।
शाहले निकुन्जको मुख्य पर्यटकीय आकर्षण बाघको यतिबेला चर्चापरिचर्चा भइरहेको अवस्थामा पर्यटकीय गतिविधि बढाई स्थानीयको जीवनस्तर सुधारको लक्ष्यमा पनि अघि बढ्ने निकुन्जको रणनीति रहेको पनि बताएका छन् ।