‘उद्योगी व्यापारीहरु मर्माहत छौँ’
Sunday, September 26th, 2021, 7:19 am
Kalpristha
सहभागी व्यवसायीले राखेका धारणाको संबोधन गर्ने क्रममा केन्द्रीय अध्यक्ष पाठकले राज्यको आर्थिक मेरुदण्ड उद्योग व्यापारलाई प्रोत्साहन गर्ने नीति राज्यको हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । नेकपा माओवादी केन्द्र निकट भातृ संगठनका अध्यक्ष पाठकले उद्योगी व्यापारीले पनि राष्ट्रिय पुँजी निर्माण गर्नेगरी उद्योग व्यापारमा लगानी गर्नुपर्नेमा जोड दिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ असोज
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष श्यामबहादुर पाठकले उद्योगी व्यवसायीहरु हाल मर्माहत अवस्थामा रहेको बताएका छन् । कोरोना महामारीपछि उद्योगी, व्यापारीहरुको समस्याहरु थपिएपनि राज्यले समाधान नगर्दा मर्माहत हुनुपरेको उनले बताए ।
संगठनको बाँके जिल्लाको तेस्रो अधिवेशनलाई शनिबार नेपालगन्जमा संबोधन गर्दै पाठकले राज्य नै गरिब भएकोले धेरै अपेक्षा गर्न नसकिने भएपनि सामान्य जिम्मेवारीसमेत पूरा गर्न नसकेको उल्लेख गरे । उनले भने, ‘देशको आर्थिक मेरुदण्ड नै समस्यामा रहेका बेला त्यसलाई उठाउन प्रयास गर्नु राज्यको दायित्व हो । हेर्दा त्यो दायित्व पूरा गरेको जस्तो लाग्दैन ।’
अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले कोरोनाको प्रभावले उद्योगी व्यवसायीहरु बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा रहेको बताएका थिए ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै संगठनका सचिव विष्णुप्रसाद खनालले हाल अधिकांश व्यवसायीहरु बैंकको ब्याज तिर्न नसकेर समस्यामा रहेको, कतिपयले ब्याज र घरभाडा तिर्न नसक्दा समान त्यसै छोडेर हिड्नुपरेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सबै व्यवसायीहरुलाई कोरोनाको भ्याक्सिनसमेत उपलब्ध हुन नसकेकोमा दुःखेसो पोखे । साथै नेपालगन्जमा खुला सीमानाका कारण हुने अवैद्य आयातले असल व्यवसायीहरु मर्कामा परेको श्रेष्ठले बताए ।
श्रेष्ठले नेपालगन्जमा उद्योग व्यवसायको संभावना भएपनि वातावरण बनाउन राजनीतिक दल र तीनका संगठनहरुबीच ऐक्यबद्धता हुन नसकेको औँल्याए । नेपालगन्जमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी र नौबस्ता औद्योगिक श्रेत्र यथाशीघ्र सन्चालनमा ल्याउने विषयमा संगठनले दवाब सृजना गर्न सुझाव दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले व्यवसायीहरुलाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिए ।
सहभागी व्यवसायीले राखेका धारणाको संबोधन गर्ने क्रममा केन्द्रीय अध्यक्ष पाठकले राज्यको आर्थिक मेरुदण्ड उद्योग व्यापारलाई प्रोत्साहन गर्ने नीति राज्यको हुनुपर्ने बताए । नेकपा माओवादी केन्द्र निकट भातृ संगठनका अध्यक्ष पाठकले उद्योगी व्यापारीले पनि राष्ट्रिय पुँजी निर्माण गर्नेगरी उद्योग व्यापारमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले राज्य नै गरिब भएको अवस्थामा सहयोग मागेर पनि नपाइने बताउँदै अबको लक्ष्य स्वाधिन अर्थतन्त्र भएको र त्यसको निर्माणमा संगठनमा आबद्ध व्यवसायीहरु लाग्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन दलाल पुँजीपति अवधारणाको पक्षधर नभई राष्ट्रिय पुँजीको अवधारणाको पक्षधर भएकोले त्यहीअनुसार व्यवसायीक सोच राख्नुपर्ने बताएका छन् ।
संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मनिश कुमार जोशीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नु हरेक उद्योगी व्यापारीको दायित्व भएको बताए । उनले भने, ‘हामीले नेपालमै बनेको भनेर लेख्ने कतिवटा उत्पादनहरु वास्तवमा नेपालमा बनेका हुन् ? कच्चापदार्थ बाहिरबाट ल्याउने अनि यहाँ प्रशोधन गरेर मख्ख पर्यौँ भने हामी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्दैनौँ ।’
लुम्बिनी प्रदेशसभा सदस्य आइपी खरेलले पनि जग्गा दलाली गर्नु र विदेशमा बनेका सामानहरु बेचेर पैसा कमाउनु संगठनको अवधारणाभित्र नपर्ने बताए । उनले दलाल पुँजीवादलाई विस्थापित गर्न संगठन निर्माण गरिएकोले संगठनमा आबद्ध व्यवसायीले पनि सोहीअनुरले लगानी गर्नुपर्ने बताए ।
खरेलले भने, ‘हामी ठूला उद्योगीहरुलाई गाली मात्रै गर्छौँ । तर कहिल्यै सोचेका छौँ उनीहरुले कति जोखिम मोलेर उद्योग स्थापित गरे ? अब हामीले पनि जोखिम मोल्ने हिम्मत देखाउनुपर्छ र आत्मनिर्भर उद्योग स्थापना गर्नतिर लाग्नुपर्छ ।’ उनले बैंकहरुले अनेक बाहनामा जनतालाई ठग्ने र ब्याज असुल्ने गरेको भन्दै बैंकहरुलाई लाइसेन्स प्राप्त लुटेराको संज्ञा दिए ।
प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले नेपालगन्जसँग देशको आर्थिक क्षेत्रलाई बाटो देखाउने अवसर भएपनि दलाली गर्ने र पैसा कमाएर अन्तै लग्ने ठाउँको रुपमा सीमित गरिएको बताए । ‘नेपालगन्जमा एउटा तप्का छ, जसले कमाएर दक्षिणतिर लग्छ । अर्को तप्का छ, जो यहाँ कमाएर पूर्वतिर लाग्छ । यसको परीणाम के हुन्छ ? हामीले कोइलाबास हेरे पुग्छ,’ उनले भने ।
अबको समय देशमा उपलब्ध कच्चा पदार्थ र उत्पादित वस्तुकै व्यापार र ती वस्तुबाटै नयाँ उत्पादन निर्माण गर्ने उद्योगको भएकोमा सहभागीहरुको धारणा थियो ।