कांग्रेस १४ औं महाधिवेशन : बाँकेमा दशैंअघि वडा अधिवेशन सम्पन्न हुने
Sunday, September 26th, 2021, 9:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० असोज
झण्डै ३ महिना भन्दा बढी समयको रस्साकस्सीपछि बाँकेको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्षेत्र नम्बर १ का केही वडाहरुमा सदस्यताका विषयमा चरम विवाद सिर्जना हुँदा अधिवेशन नै अनिश्चित बनेको थियो । सदस्यता विवादकै कारण बाँकेसहित १३ जिल्लामा अधिवेशन सुरु नै हुन सकेको छैन ।
करिब ६४ जिल्लामा वडाअधिवेशन सम्पन्न भई करिब ५४ जिल्लामा पालिका अधिवेशन पनि भइसक्दा पूर्वप्रधानमन्त्री एवम् पुर्व पार्टी सभापति स्वर्गिय सुशिल कोइरालाको गृहजिल्लाका रुपमा परिचित बाँकेमा भने क्रियाशिल सदस्यता विवादमै तीन महिना खेर गएको छ ।
कांग्रेसको वेबसाइटमा बाँकेका क्रियाशील सदस्यहरुको नामावली प्रकाशन भइसकेको छ । १४ औं महाधिवेशनमा शतप्रतिशत सदस्यता संख्या बढाउने कांग्रेसको नीतिअनुसार यस पटक जिल्लामा क्रियाशील सदस्य संख्या ११४ प्रतिशतले बृद्धि भएर नौ हजार ६ सय ७८ पुगेको छ । अघिल्लो महाधिवेशनमा क्रियाशील संख्या चार हजार पाँच सय २० थियो । यसपटक नयाँ संख्या पाँच हजार एक सय ५८ छ । जानकी गाउँपालिकाबाहेक सबैमा शतप्रतिशत भन्दा बढीले क्रियाशील संख्या बृद्धि भएको छ ।
जिल्लामा सबैभन्दा बढी क्रियाशील सदस्य नेपालगन्ज उप-महानगरपालिकामा छन् । नेपालगन्जमा क्रियाशील संख्या दुई हजार चार सय एक पुगेको छ ।
अब निर्वाचन समितिले निणर्य गरेर छिट्टै वडा र पालिका अधिवेशनको मिति तोक्ने बताइएको छ । कांग्रेसले दसैं अघि सबै जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ ।
कांग्रेस बाँके सचिव तप्त पौडेलले लामो विवादपछि सदस्यता विवाद समाधान भएपछि कार्यकर्ताहरुमा उत्साह छाएको बताए । उनले अब बाँकी असन्तुष्टिहरुलाई थाति राख्दै महाधिवेशनको तयारीमा जुट्नु सबैको कर्तव्य हुने धारणा राखे । ‘असन्तुष्टिहरु होलान् । तर अब हामी सबैले महाधिवेशनको सफलतातिर उन्मुख हुनु दायित्व हो,’ उनले भने ।
विवाद सृजना भएको बाँके क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिका दाबेदार मानिएका कांग्रेस नेता पोषण केसीले जिल्लामा सदस्यता सुचीमा असन्तुष्ट पक्षहरुबिच सम्झौता भई सदस्यता विवाद समाधान गरिएको बताए । उनले भने, ‘भनेकै कुरा लागु हुनुपर्छ भन्ने ढिपी नगरी दुवै पक्षले केही न केही पछाडि हटेर तीन महिना लामो रस्साकस्सी अन्त्य गर्दै विवाद टुंग्याएका छौँ ।’
यद्धपि बाँकेमा दशैं अघि नै पालिका अधिवेशन हुने संभावना कम रहेको जिल्लास्थित नेताहरुले बताएका छन् । सदस्यता विवाद समाधान समितिले सदस्यता विवाद टुङ्याए पनि जिल्लामा असन्तुष्टि नटुंगिएको नेताहरुको भनाई छ ।
बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले भने सदस्यता विवाद टुंगिए पनि आपत्ति कायमै रहेको बताएका छन् । उनले सहमति विपरित केही वडामा सदस्य थप भएर आएको र कतै काटिएकोले सदस्यता विवाद समाधान समितिमा कुरा राख्ने बताएका छन् ।
नेपालगन्ज उप-महानगरपालिका उमप्रमुख एवं नेपाली कांग्रेसको नेपालगन्ज उप-महानगरपालिका सभापतिका लागि दावेदार ठानिएकी उमा थापामगरले पनि सदस्यता विवाद समाधानपछि विवाद नभएको ठाउँमा पनि विवाद सृजना भएको बताएकी छन् । उनका अनुसार नेपालगन्जको वडा नम्बर ८ मा केही क्रियाशील सदस्यको नाम काटिएर आएको छ । ॅविवाद अन्त्यपछि एउटा अन्यौलता चिरिएपनि असन्तुष्टी देखिएका ठाउँबाट उजुरी जानसक्ने संभावना कायमै छ । त्यसले निर्वाचन कार्यतालिकालाई केही लम्ब्याउन सक्छ,’ थापामगरले भनिन् ।
नेता केसीले पनि दशैंअघि पालिका अधिवेशन हुने संभावना कम रहेको बताएका छन् । उनले भने, ‘दशैँअघि वडातहको अधिवेशन पूरा गर्छौँ भन्ने मलाई लागेको छ । यद्धपि केही साथीहरुको चित्त अहिलेपनि बुझेको छैन । यति ठूलो पार्टीमा असन्तुष्टि हुनु समान्य कुरा हो । चित्त नबुझेका साथीहरुले पनि पार्टीको निणर्य मान्नुपर्छ । सहज र सौहार्दपूणर्रुपले अधिवेशन सफल पार्नुपर्छ ।’
सचिव तप्त पौडेलले भने केन्द्रले कार्यतालिका तोकेर दिएमा दशैँअघि नै पालिकातहको अधिवेशन पनि सम्पन्न गर्न सकिने दावी गरे ।
बाँकेमा केही वडामा सर्वसम्मत नेतृत्व चयन भएपनि अधिकांश समितिमा दुई प्यानल भएर निर्वाचन हुने संभावना रहेको नेताहरु बताउँछन् ।
क्रियाशील सदस्यहरुको सुची सार्वजनिक भएपछि आइतबार जिल्लाका विभिन्न स्थानमा छलफल तथा बैठक भएको नेताहरुले बताएका छन् । असन्तुष्टिलाई कसरी अन्त्य गरेर लैजाने र सौहार्दपूणर्रुपले अधिवेशन सम्पन्न गर्ने भन्ने विषयमा पहल भइरहेको नेताहरु बताउँछन् ।