भेरीमा अनियमित कर्मचारी भर्नाविरुद्ध अख्तियारमा उजुरी
Monday, September 27th, 2021, 1:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० असोज
भेरी अस्पतालमा अस्पताल विकास समितिले अनियमित तरिकाले कर्मचारी भर्ना गरेको अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयका प्रमुख कृष्ण कुमार निरौलाले करार कर्मचारी भर्नाका विषयमा कार्यालयमा उजुरी दायर भएको पुष्टि गरे । निरौलाले हाल कार्यालयमा परेका उजुरीहरु केन्द्रमा पठाइने गरेकोले ती उजुरीमाथि आएका निर्देशनका आधारमा अनुसन्धान अघि बढाइने जानकारी दिए । ‘हाल यहाँ दायर भएका उजुरीहरु माथि पठाउँछौँ । माथिबाट स्क्रिनिङ भएर कारबाही कसरी अघि बढाउने भन्ने निर्देशन हुन्छ । त्यहीअनुसार अघि बढ्छौँ,’ निरौलाले भने ।
भेरी अस्पतालमा २२ जना कर्मचारीहरुलाई प्रक्रिया मिचेर भर्ना गरिएको विषयमा कालपृष्ठ दैनिकमा भाद्र ३० गते समाचार प्रकाशित भएको थियो । भर्ना गरिएका कर्मचारीहरु एनेस्थियोलोजिष्टदेखि कम्पुटर सहायकसम्म छन् । उनीहरुलाई भदौ १ गतेदेखि ६ महिना अवधिका लागि करारमा खटाइएको छ ।
अस्पताल विकास समितिका पदाधिकारी, कर्मचारी, राजनीतिक दलका नेता एवं पत्रकारहरुकोसमेत भाग मिलाएर कर्मचारीहरु नियुक्त गरिएको एकजना कर्मचारीले बताए ।
कर्मचारी भर्ना गर्दा विज्ञापन गर्नुपर्ने, परीक्षा लिनुपर्ने र नतिजा प्रकाशन गरी कर्मचारी नियुक्त गर्नुपर्नेमा प्रक्रिया नपुर्याएरै कर्मचारी भर्ना गरिएको छ । अस्पताल प्रशासनका अनुसार १२ जना पहिले नै आह्वान गरिएको विज्ञापनको नतिजामा वैकल्पिक सूचिमा परेका कर्मचारीहरुलाई अर्कोपटक नियुक्त गरिएको थियो । ९ जना कर्मचारीहरु भने अस्पताल विकास समितिले विज्ञापन नै नगरेर भर्ना गरेको छ ।
अस्पतालमा १० जना स्टाफ नर्स, एकजना अहेब र एकजना हेल्थ असिस्टेन्टलाई पहिले नै आह्वान गरिएको विज्ञापनमा वैकल्पिक सूचिमा परेकाहरुलाई अर्कोपटक विज्ञापन नै नगरी भर्ना नियुक्त गरिएको थियो ।
कोभिड-१९ विरुद्ध खटाउन सरकारले ११ जनाको दरबन्दी स्वीकृत गरेको बेला लिइएको परीक्षामा वैकल्पिक सूचिमा परेकाहरुमध्ये केहीलाई अर्कोपटक स्वीकृत गराइएको दरबन्दीमा परीक्षा नै नलिएर नियुक्त गरिएको छ ।
अस्पताल स्रोतका अनुसार २२ जनामध्ये १० जना कर्मचारीहरु त झन् कुनै प्रतिस्पर्धामा सहभागी नगराएरै नियुक्त गरिएको छ । जसमा एकजना अहेब, तीनजना हेल्थ असिस्टेन्ट, तीनजना खरिदार, एकजना मनोपरामर्शदाता र एकजना कम्प्युटर सहायक रहेका छन् ।
अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धितालले कालपृष्ठसँग कुरा गर्दै समितीलाई आवश्यकता हेरेर करारमा कर्मचारी भर्ना गर्न सक्ने अधिकार रहेको बताएका थिए । करारमा कर्मचारी भर्ना गर्दा विज्ञापन नै गर्नुपर्ने बाध्यता नहुने उनको तर्क थियो ।
अस्पतालमा कार्यरत एक उच्च पदस्थ कर्मचारीले राजनीतिक र समितीमा रहेका मानिसहरुको भागबण्डाका आधारमा आफन्तहरुलाई अस्पतालमा भर्ना गरिएको बताए । कुनैपनि सार्वजनिक संस्थाहरुमा कर्मचारी भर्ना गर्दा विज्ञापन गर्नुपर्ने नियम भएपनि समितिले करारमा कर्मचारी भर्ना गर्दा प्रक्रिया बिनैं गरेको छ ।