विराटनगर उडेको विमान दुई घण्टापछि काठमाडौंमै अवतरण
Monday, September 27th, 2021, 2:22 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ११ असोज
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगाउँदै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ ।
ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा जहाज विराटनगरमा अवतरण हुन सकेको थिएन । झन्डै ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो ।
बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको हो । काठमाडौंको आकाशमा उक्त जहाज २४ मिनेट होल्ड गरिएको थियो ।
जहाजलाई काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरिएको थियो । आकस्मिक अवतरणको तयारीस्वरूप विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए । तर आकस्मिक अवतरण नभई ’एसुरेन्स ल्यान्डिङ’ भएको बुद्ध एयरले जनाएको छ । टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए ।
उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । बुद्ध एयर घटनाको छानबिनका लागि समिति पनि बनाउने भएको छ ।