मापदण्ड पालना नगर्ने मदिरा उद्योगलाई नियमन गरिँदै
Monday, September 27th, 2021, 9:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, ११ असोज
बाँकेको डुडुवा गाउँपालिकामा सन्चालित एक मदिरा उद्योगले मापदण्डको पालना नगरेपछि स्थानीय तहले नियमनको पहल सुरु गरेको छ ।
वर्षौदेखि मापदण्डको बेवास्ता गर्दै आएको डुडुवा-४ मोल्हुपुर्वास्थित भेरी डिष्टिलरी एण्ड एलाइट इण्डिस्ट्रीजलाई निमयन गर्ने उदेश्यले सोमबार गाउँपालिकाको टोलीले अनुगमन गरेको छ ।

अनुगमन
मदिरा उद्योगबाट निस्कने फोहरलाई सिधै डुडुवा नाला र खेतमा फाल्ने गरिएको छ भने त्यसबाट निस्किएको फोहरलाई दानाको रुपमा पुनः प्रयोग गर्नले झन बढी दुर्गन्धित बनाएको छ ।
उद्योगबाट निस्कने फोहोरको प्रभावकारी व्यवस्थापन नगर्दा मानव जिवनमा प्रतिकुल असर पारेको छ । उद्योगबाट निस्कने रसायनले स्थानीय किसानले लगाएको कृषि बालीलाई क्षति गरेको छ भने दुगन्धले त्यस आसपासका नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । लामो समयदेखि स्थानीयहरुले उद्योगको व्यवस्थापनको माग राख्दै गुनासो गर्दै आएपनि सम्बिन्धित निकायले कुनै पहलकदमी लिएका थिएनन् ।

मदिरा उद्योगबाट निस्कने फोहर
अनुगमनपछि गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले उद्योग स्थापना गर्ने तर त्यसको मापदण्ड अनुसारको व्यवस्थापन नगर्दा कृषि, पशु चौपाया तथा मानिसमा प्रत्यक्ष प्रभाव पारेको बताइन् ।
उनले सुरुमा मिल प्लान्ट स्थापना गर्ने भनेर करिब एक दशक अघि स्थापना गरिएको मदिरा उद्योगले अहिले पुरै गाउँपालिकावासीलाई झुक्याएको बताइन् ।
अनुगमनका क्रमममा उद्योग स्थापनापछि प्रभावकारी फोहर व्यवस्थापन, टेण्डर प्रक्रिया, तारबारको अभाव जस्ता विभिन्न मापदण्डको सामान्य पनि पालना नगरेको र स्थानीय सरकारमा दर्तासमेत नभई उद्योग संचालनमा रहेको पाइएको छ ।
गाउँपालिका उपाध्यक्ष शाहिदा बानो नेतृत्वको अनुगमन टोलीले उद्योगको उत्पादन, भण्डारण, आयात, फोहर व्यवस्थापन तथा कारोबारलगायतका बारेमा जानकारी लिएको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए । स्थानीय सरकार अन्र्तगत रहेको उक्त उद्योगले वर्षौदेखि स्थानीय कर तिरेको छैन भने उल्टै स्थानीयको कृषि बाली नष्ट गरेको छ ।
अनुगमनपछि प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले उद्योगप्रति नागरिकहरुको जनगुनासो बढ्दै गएकाले त्यसको व्यवस्थापन तथा नियमन गर्न आवश्यक रहेको भन्दै अनुगमनपछि लिखित सुझावसहित ताकेता गरिएको उनले बताए
उद्योगको फोहरले डुडुवा गाउँपालिका वडा नंं ४, ३ र २ का अन्र्तगत करिब ३०० हेक्टर क्षेत्रफलमा लगाइने धान र गहु बालीलाई प्रत्यक्ष नोक्सानी पुरयाएको गाउँपालिका कृषि शाखा प्रमुख सुशिल शर्माले बताए ।
अनुगमन टोलीमा उपाध्यक्ष बानोसहित प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव, कृषि शाखा प्रमुख शर्मा लगायतको सहभागिता रहेको थियो ।