बर्दियाको स्थानीय तहमा देउवा समूह हाबी
Tuesday, September 28th, 2021, 4:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असोज
बर्दिया कांग्रेसको स्थानीय तहको नेतृत्वमा देउवा समूह नै हाबी भएको छ । जिल्लाका सातवटा स्थानीय तहको अधिवेशन हुँदा ४ वटामा संस्थापन पक्षधर र ३ वटामा संस्थापन इतरका उम्मेदवाररु निर्वाचित भएका छन् । तीमध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
जिल्लाको गुलरिया नगरपालिका, बाँसगढीका नगरपालिका, राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिकामा देउवा निकट समूहका तर्फबाट सभापतिका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
जिल्लाको गुलरिया नगरपालिकामा इन्द्र कुमार यादव, राजापुर नगरपालिकाका महेशकुमार चौधरी नगर सभापति निर्वाचित भएका छन् भने गेरुवा गाउँपालिकामा सभापति प्रेम रावल र बढैयाताल गाउँपालिकामा भगतराम नेपाली सभापति बनेका छन् । गेरुवामा निर्बिरोधरुपमा नेतृत्व चयन भएको हो ।
यता संस्थापन इतर पक्षबाट ठाकुरबाबा नगरपालिकामा पदमबहादुर खड्का, बारबर्दिया नगरपालिकामा सुरेन्द्रबहादुर बोहरा र बाँसगढीका नगरपालिकामा लोहारी थारु सभापतिमा निर्वाचित भएका छन् ।
जिल्लाका आठ स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा कांग्रेस १४ औँ अधिवेशन सकिएको छ । मधुवन नगरपालिकाको वडा नम्बर ३ मा क्रियाशील सदस्यता विवादका कारण निर्वाचन समितिले प्रक्रिया अघि बढाउन नसक्दा अधिवेशन हुन सकेको छैन ।