बाँके कांग्रेसको अधिवेशन दशैँपछि हुने संकेत
Tuesday, September 28th, 2021, 5:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असोज
बाँकेमा नेपाली कांग्रेसको अधिवेशनका कामहरु दशैंपछि हुने नेताहरुले बताएका छन् । करिब ३ महिना क्रियाशील सदस्यता विवादमा अल्झिएको बाँके कांग्रेसको अधिवेशनबारे कार्यकर्तामा तीव्र चासो छ । लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै वडा र पालिका अधिवेशन हुन बाँकि छ । लामो विवादपछि सहमति जुटाउँदै असोज ९ गते बाँकेका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरिएको छ ।
तर केन्द्रिय निर्वाचन समितिले महाधिवेशनको मिति तोकिसकेको छैन । यद्धपि अनौपचारिकरुपमा केन्द्रिय निर्वाचन समितिका पदाधिकारिले महाधिवेशन दशैंपछि नै हुने संकेत गरेका जिल्लास्थित नेताहरु बताउँछन् ।
नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले अस्तिसम्म दशैँअघि वडाअधिवेशनसम्म हुनसक्ने आँकलन गरिएकोमा केन्द्रिय निर्वाचन समितिले हाललाई महाभिवेशनको कार्यतालिका स्थगित गरिएको सूचना जारी गरेकोले दशैँअघि हुने संभावना घटेर गएको बताए । उनका अनुसार बाँकेजस्तै क्रियाशील सदस्यताको विवाद रहेका १३ जिल्लामध्ये ६ वटाको विवाद किनारा नलागेका कारण पनि बाँकेको महाधिवेशनको समय प्रभावित भएको हो ।
प्रदेश २ का अधिकांश जिल्लाको क्रियाशील नै सार्वजनिक हुन सकेको छैन । केन्द्रिय निर्वाचन समितिले बाँकी जिल्लाको अधिवेशन एकसाथ गर्ने नीति लिएको पौडेलले बताए ।
२१ हिमाली जिल्लामा भने असोज १८ गते जिल्ला अधिवेशन नै हुँदैछ ।
काँग्रेसको यसपटकको महाधिवेशन वडा, स्थानीय तह, प्रदेश क्षेत्रीय, प्रतिनिधि सभा क्षेत्रीय र जिल्ला अधिवेशन गरी विभिन्न चरणमा हुने छ । बाँकेमा ८१ वडा, ८ स्थानीय तह, ६ प्रदेश सभा निर्वाचन क्षेत्र र तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् ।
यस पटक जिल्लामा क्रियाशील सदस्य संख्या ११४ प्रतिशतले बृद्धि भएर नौ हजार ६ सय ७८ पुगेको छ । अघिल्लो महाधिवेशनमा क्रियाशील संख्या चार हजार पाँच सय २० थियो । यसपटक नयाँ संख्या पाँच हजार एक सय ५८ छ । जानकी गाउँपालिकाबाहेक सबैमा शतप्रतिशत भन्दा बढीले क्रियाशील संख्या बृद्धि भएको छ ।