सेनेटरी प्याड निःशुल्क बनाउन माग गर्दै प्रदर्शन
Tuesday, September 28th, 2021, 5:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असोज
सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विरोधमा नेपालगन्जमा प्रदर्शन गरिएको छ । युवा तथा अभियन्ताहरुले आयोजना गरेको विरोध प्रदर्शनपछि बाँकेका प्रमुख जिल्ला अधिकारी र नेपालगन्ज उप-महानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र पनि बुझाइएको छ ।
महिनावारीका बेला महिलाहरुका लागि अतिआवश्यक हुने प्याडमा सरकारले कर बढाएसँगै मूल्य पनि बढेकोले महिलाहरु प्रभावित भएको प्रदर्शनमा सहभागीहरुको भनाई छ ।
‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निः शूल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित विपी चोकबाट र्याली जिल्ला प्रशासन कार्यालयसम्म र्याली निकालिएको थियो । र्यालीपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवशमशेर राणा तथा उपमेयर उमा थापामगरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता स्वयता गुरुङले जानकारी दिइन् ।
प्रदर्शनमा सहभागीहरुले कण्डम जस्तै सेनिटरी प्याड पनि निःशूल्क गराउनु पर्ने माग राखेका छन् ।
स्वास्थ्य चौकीबाट निःशुल्क रुपमा कण्डम वितरण गर्ने तर महिलाहरुलाई अति आवश्यक रुपमा चाहिने सेनेटरी प्याडमा सरकारले करबृद्धि गरेको कारण सांकेतिक विरोध प्रदर्शन गरिएको युवा अभियन्ता अन्जना चर्तुवेदीले बताइन् ।
स्थानीय सरकारले प्रत्येक बिद्यालयमा सेनेटरी प्याडको व्यवस्था भैसकेको बताएपनि त्यो अनुसार अझै सेवा सुविधा नपाइएको प्रदर्शनमा सहभागीरुको गुनासो छ ।