म्याद गुज्रेका पदार्थबाट बेकरी बनाएर बेचेको फेला
Tuesday, September 28th, 2021, 9:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ असोज
नेपालगञ्जमा अवैद्यरुपमा सन्चालित एक बेकरी उद्योगले म्याद गुज्रेका कच्चा पदार्थबाट उत्पादन गरी बेच्दै आएको फेला परेको छ ।
संयुक्त बजार अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा भाटभटेनी र रायल क्याफे लगायत विभिन्न फर्महरुबाट बेचिने बेकरी उत्पादन हुने उद्योगबाट ठूलो मात्रामा म्याद गुज्रेको कच्चा पदार्थ बरामद गरेको छ ।
नेपालगञ्ज-१८ सुर्खेतरोडमा ‘अपरक्राष्ट प्रा. लि. चुच्चेपाटी काठमाण्डौ’को नामबाट सञ्चालनमा रहेको बेकरी उद्योगबाट म्याद गुजे्रको बेकरी उत्पादन गर्ने कच्चा पदार्थ भेटिएको जिल्ला प्रशाशन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए ।
उद्योगलाई उपभोक्ता हित विपरित सञ्चानल गरेको अभियोगमा २ लाख जरिवाना गरिएको छ । बरामद गरिएको ब्रेड, पाउरोटी, केक, डुनट र सो बनाउने म्याद गुजारिएको अवस्थाका कच्चा पदार्थ २ लाख २२ हजार ६७ रुपैया बराबरको सामाग्री मुचुल्का तयार गरी नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, वाणिज्य कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मंञ्चको संयुक्त अनुगमन समितिले बजार अनुगमन गरेको थियो । सो क्रममा बेकरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ काठमाण्डौबाट ल्याईएको र सबैको म्याद गुजे्रको अवस्थामा भेटिएको छ ।
उद्योगको कुनै पनि बोर्ड नराखी सञ्चालनमा रहेको, खाद्य अनुज्ञापत्र नलिएको, उद्योगबाट उत्पादन भएका सामानमा उत्पादन मिति तथा प्रयोग गर्ने मिति उल्लेख भएको छैन । अनुगमनका क्रममा नेपालगञ्ज बजारका केही होटल तथा सपिङ्ग मलमा पनि उक्त उद्योगको उत्पादनहरुमा उत्पादन मिति, म्याद समाप्त हुने मिति उल्लेख नभएको अवस्थामा पाईएको छ ।