यसकारण भाटभटेनी पनि आउनुपर्छ अनुसन्धानको दायरामा
Thursday, September 30th, 2021, 6:28 pm
Kalpristha
-
कारबाहीमा परेको उद्योगले भाटभटेनीका लागि मात्रै गथ्र्यो उत्पादन
-
जहाँ जहाँ भाटभटेनी त्यहीँ त्यहीँ अपरक्राष्ट
वीरेन्द्र जैसी
नेपालगन्ज, १३ असोज
एउटा बेकरी उद्योग, जसले काठमाडौंको ठेगाना राखेर नेपालगन्जमा उद्योग सन्चालन गरिएको थियो । उद्योगले खाद्य अनुज्ञापत्र पनि लिएको छैन । अनुगमनका क्रममा उद्योगले लामो समयदेखि म्याद गुज्रेका सामग्रीबाट बेकरीका आइटमहरु उत्पादन गर्दै बजारमा पठाइरहेको फेला पर्यो । त्यति मात्रै होइन सो उद्योगका उत्पादनहरु देशकै ठूलो सुपरमार्केट भाटभटेनीमा मात्रै बिक्री हुने गरेको छ ।
भाटभटेनी जस्तो उपभोक्ताको विश्वासप्राप्त मार्केटमा बिक्री हुने बेकरीका आइटम उत्पादन गर्ने उद्योग पनि गोप्यरुपमा सन्चालनमा रहेको पाइयो । ‘वेकरी डि अपरक्रष्ट’ नामक उक्त उद्योगका शाखाहरु भाटभटेनीका शाखाहरु जहाँ जहाँ छन्, त्यहीँ त्यहीँ सन्चालित रहेको पाइएको अगुगमनमा गएका अधिकारीहरु बताउँछन् ।
उद्योगका व्यवस्थापक विपुल बमले पनि उद्योगको केन्द्रिय कार्यालय काठमाडौंमा र धरान, चितवन र नेपालगन्जमा शाखाहरु सन्चालित रहेको जानकारी दिए । यीनै सहरमा भाटभटेनीका शाखाहरु पनि छन् । उद्योगको एकमात्र मार्केट भाटभटेनी नै रहेको बमले पनि खुलासा गरे । अरु फर्ममा अर्डरअनुसार मात्रै उत्पादनहरु दिने गरिएको बमले बताए । उनले म्याद गुज्रिएका सामानहरुबाट कुनैपनि उत्पादन नगरिएको उनको भनाइ छ । ‘हामीले म्याद गुज्रिएका सामानहरु फिर्ता पठाउँदै थियौँ । त्यहीबेला अनुगमन भएको मात्रै हो,’ उनले कालपृष्ठसँग भने ।
तर, अनुगमनमा खटिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विवेक कुमार सुवेदीले ९ महिनाअघि म्याद गुज्रिएका सामानहरु पनि उद्योगको गोदाममा भेटिएका छन् । उद्योगमा नियतबस नै म्याद गु्ज्रिएका वस्तुहरुबाट उत्पादन गरिएको पाइएको सुवेदीको भनाइ छ । उत्पादनहरुमा उत्पादन मिति, म्याद समाप्त हुने मिति पनि उल्लेख नभएको अवस्थामा पाइएको उनले बताए ।
यस प्रकरणले आम उपभोक्तामा मुख्यगरी तीन प्रश्नहरु जन्माएको छ । एक, भाटभटेनीजस्तो ग्राहकको विश्वास पाएको ठाउँमा पनि गुणस्तरहीन वस्तुहरु बिक्री गरेर ग्राहकहरुलाई ठगिरहेको हो ? दुई, बेकरी मात्रै नभई अन्य उत्पादनहरु पनि गुणस्तरहीन छन् कि ? भाटभटेनीबाट मात्रै बिक्री हुनेगरी उत्पादन गरिरहेको हो भने उद्योग र भाटभटेनीबीच अनुचित साँठगाँठ छ कि ?
तर, अनुगमनका गएका सरकारी अधिकारीहरुको अनुसन्धानको सुई उद्योगसम्म मात्रै गएर अड्किएको छ । यो समाचार तयार पार्दासम्म उनीहरुले भाटभटेनीमा गएर अन्य उत्पादनहरुको अवस्थाका बारेमा अनुगमन पनि गरेका छैनन् ।
भाटभटेनीका नेपालगन्ज प्रबन्धक विनोद भट्टराई भाटभटेनीलाई उद्योगले कसरी उत्पादन गरिरहेको छ ? भन्ने थाहा नहुने बताउँछन् । लामो समयदेखि उत्पादन बेचिरहेको उद्योगका सामानहरु आफूहरुले विश्वासका साथ बेचिरहेको उनको भनाइ छ । भट्टराईले उद्योगमा नियतवस नभई संयोगवस म्याद गुज्रिएका सामान भेटिएको दावी गर्दै उद्योगको बचाउ गर्न खोजे ।
तर, उद्योगले अनुज्ञापत्र नै नलिएर उत्पादन गर्नु र सोही उद्योगको उत्पादन भाटभटेनीले मात्रै बिक्री गर्नुका पछाडि शंका गर्न सकिने ठाउँ रहेको र त्यसबारेमा विस्तृत अध्ययनको आवश्यकता रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका सूचना अधिकारी नेत्र बोगटीले बताइन् ।
उपभोक्ता हित संरक्षण मञ्चका प्रभात कुमार ठकुरीले पछिल्लो घटनाले नेपालगन्जलाई डम्पिङ साइट बनाइएको हो कि भन्ने आशंका गर्ने ठाउँ दिएको बताए । उद्योगले मानव स्वास्थ्यमा नै गम्भीर असर पर्ने खालको गुणस्तरहीन सामान प्रयोग गरेर बेकरी उत्पादन गर्दै आएको र तीनै उत्पादनहरु नेपालगन्ज भाटभटेनी सुपरमार्केट र रोयल क्याफेमा पनि भेटिएकोले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
उद्योगलाई भने उपभोक्ता हित विपरित संचालन गरेको अभियोगमा २ लाख जरिवाना भने गरिएको छ । साथै, बरामद गरिएको ब्रेड, पाउरोटी, केक, डुनट र सो बनाउने म्याद गुजारिएको अवस्थाका कच्चा पदार्थ २ लाख २२ हजार ६७ रुपैया बराबरको सामाग्री मुचुल्का तयार गरी नष्ट गरिएको छ ।
यस्तो छ बेकरीमा भेटिएको अवस्था :

बेकरीमा भेटिएको अवस्था