१६ खेलमा अपराजित रहेको म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित
Sunday, February 12th, 2017, 8:13 am
amit
काठमाडौं – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो अपराजित यात्रा कायम राखेको छ । १६ खेलमा अपराजित रहेको युनाइटेडले लगातार दुई खेल जितेको छ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई २–० ले हरायो । युनाइटेडको जितमा आन माटा र एन्थोनी मार्शलले गोल गरे । ३२ औं मिनेटमा माटाले गोल गर्दै पहिलो हाफमा म्यानचेस्टर युनाइटेडलाई १–० को अग्रता दिलाए ।
६० औं मिनेटमा मार्शलले गोल गर्दै युनाइटेडको २–० को जित पक्का गरे । लिगका पछिल्ला १६ खेलमा अपराजित रहेको युनाइटेडको यो लगातार दोस्रो जित हो । यसअघिको खेलमा लगातार तीन खेलमा बराबरी गरेपछि युनाइटेडले साबिक विजेता लेस्टर सिटीलाई ३–० ले हराएको थियो । वाट्फोर्डमाथिको जितपछि युनाइटेड चौथो र पाँचौं स्थानका लिभरपुल र म्यानचेस्टर सिटी भन्दा एक अंकले मात्रै पछि परेको छ ।
लिभरपुल र म्यानचेस्टर सिटीको ४९ अंक छ । छैटौं स्थानको युनाइटेडको २५ खेलबाट ४८ अंक भएको छ । राति नै भएका अरु खेलमा मिडल्सबर्ग र एभर्टनले गोलरहित तथा वेष्ट ह्याम र वेष्ट ब्रोमले २–२ को बराबरी खेले ।