साझा सवालमा राजनीतिक उदासिनता रहेको गुनासो
Wednesday, September 29th, 2021, 7:57 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १३ असोज
हिमाली जिल्ला डोल्पामा राजनीतिकदलहरुको उदासिनताका कारण विकास निर्माण तथा सामाजिक सरोकारका क्षेत्रहरुमा वेतिथि बढ्दै गइरहेकोे एक कार्यक्रमका सहभागिले बताएका छन् । सदरमुकाम दुनैमा आयोजित समाज रुपान्तरणको लागि नागरिक समाजको भूमिका एवं सन्जाल गठन सम्बन्धमा गरिएको कार्यशाला गोष्ठीका सहभागिले उक्त कुरा बताएका हुन् ।
सामाजिक जागरण केन्द्रको आयोजना तथा प्लान नेपाल र युरोपियन युनियनको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
जिल्लामा सुशासन र पारदर्सिता एवं सरकारका कमजोरीमा खबरदारी गर्नका लागि नागरिक समाज डोल्पाले खेल्दै आएको भूमिका यसको आवश्यकता महत्व र आगामी दिनमा साभा मुद्दाहरुलाई के कसरी उठान गर्न सकिन्छ ? भन्ने समन्वयात्मक भूमिकाको बारेमा छलफल गराइएको थियो ।
जिल्लास्तरीय गैहसरकारी संघ-संस्थाका प्रतिनिधि नागरिक समाज, पत्रकार र मानवअधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले नागरिक समाज एक मुनाफारहित संस्था भएकाले यसमा स्वस्फुर्तरुपमा सहभागी भई समाज रुपान्तरणको लागि अगाडि बढ्नु पर्ने बताए । उनले जिल्लाका हरेक सामाजिक सवालहरुको उठान गर्दा पनि राजनीतिक दलहरुको वेवास्ताले गर्दा कतिपय साझा सरोकारका मुद्दाहरु ओझेलमा पर्दै आइरहेको बताए ।
नेपाल पत्रकार महासंघका जिल्ला पूर्वअध्यक्ष विष्णुलाल बुढाले विगतमा नागरिक समाजले जिल्लाका साझा मुद्दाहरुमा सशक्त आवाज उठाउँदै आइरहेको बताए । उनले कोभिड-१९ ले गर्दा झण्डै दुई वर्षसम्म सक्रियरुपमा मुद्दाहरु उठान गर्न नसकिएको बताउँदै गलत मनसायबाट जिल्ला अस्पताल दुनैको भवन निर्माणको लागि बनाइएको डिपिआर परिवर्तनदेखि खबरदारी सम्मको कार्य गर्न गराउन सफल भएको बताए ।
आयोजक संस्था समाज जागरण केन्द्रका कार्यक्रम संयोजक कणर् भण्डारीले नागरिक संघ-सस्थाको संस्थागत लेखाजोखा, सचिवालयको भूमिका र एकीकृत भएर साझासवाल उठानमा सबैको हातेमालोका लागि नागरिक समाजसँगको आबद्धता संख्या बढाउनु पर्ने बताए ।
यसैगरी नागरिक समाजको अगुवाइमा उठान गरिएका जल्दाबल्दा सवालको स्थानीय, प्रदेश र संघीय सरकारले गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्नुपर्ने कार्यक्रमका सहभागिहरुले जोड दिए ।