डोल्पामा म्याद गुज्रेका सामान छ्यापछ्याप्ति
Thursday, September 30th, 2021, 7:44 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १४ असोज
डोल्पामा म्याद गुज्रिएका उपभोग्य वस्तुहरु छ्यापछ्याप्ति फेला परेका छन् । दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई ठगिनबाट जोगाउन डोल्पामा गरिएको बजार अनुगमनका क्रममा एक लाख ५० हजार मूल्य बढीका म्याद गुज्रिएका सामान फेला परेका हुन् ।
जिल्लाको त्रिपुराकोट र जुफाल बजारका पसलहरुमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।
अनुगमनको क्रममा म्याद गुज्रेका चाउचाउ, बिस्कुट, फेन्टा, फ्रुट्री, बेसार, कोक, धुलो खुर्सानी सोन पापड, मिट मसला, चिया लगायतका दैनिक उपभोग्य वस्तु बिक्री भइरहेको फेला परेको हो ।
म्याद ग्ज्रिएका वस्तु कब्जामा लिएर जलाइएको छ । अनुगमनका क्रममा भेटिएका दर्ता नभएका पसलहरु दर्ता गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ । अनुगमनको क्रममा कुनैपनि पसलहरुले मूल्यसुची नटाँसेको, साइनबोड समेत नराखेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
चाडपर्व नजिकिँदै गर्दा व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सृजना गर्न खोजेका गुनासो आउन थालेपछि बजार अनुगमनलाई कडा गरिको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
यत्तिखेर हिमाली जिल्ला डोल्पामा खाने तेलको हाहाकार भएको र बजारमा कतै पनि खाने तेल नपाएको गुनासो सर्वसाधारणले अनुगमन टोली समक्ष पोखेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीको नेतृत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका, पत्रकार महासंघका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिहरु सहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनगमन टोली जुफाल बजारमा पुग्दा कतिपय पसले साहुहरुले पसल बन्द गरेर लुकेको पाइएको प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए ।