भैरवप्रसाद गण, न्यू डाँफे र रोयल विजयी
Monday, October 4th, 2021, 9:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असोज
नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण, न्यू डाँफे र आयोजक रोयल नेपालगन्ज फुटबल क्लव विजयी भएका छन् ।
सोमबारको पहिलो खेलमा भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३-० गोल अन्तरले पराजित गर्यो ।
भैरवप्रसादको तर्फबाट खेमराज शर्माले ५६ र ६८ मिनेट र संगम चौधरीले ६१ मिनेटमा गोल गरेका थिए । दोस्रो खेलमा न्यू डाँफेले सडेन डेथमा रेसिङ साहरालाई ६-५ गोलले र तेस्रो खेलमा आयोजक रोयल फुटबल क्लवले धम्बोझी क्लवलाई २-० गोलले पराजित गर्यो ।
भैरवप्रसाद गणले एक गोलको अग्रता लिएसँगै गणपति प्रमुख सेनानी जनमत कार्की मैदानमा प्रवेश गरेका थिए । यो खेलमा आर्मीका युद्ध शाही म्यान अफ म्याच भए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे ।
दोस्रो खेलमा निर्धारित समयमा दुवै टोलीले एक/एक गोल गरेका थिए । न्यू डाँफेका प्रेम सुनारले ७ मिनेटमै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । रेसिङका निराजन शाहीले २३ मिनेटमा गोल गरेर बराबरी गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र गोल ट्राइबेकरमा पुग्यो ।
ट्राइबेकरमा न्यू डाँफेका तर्फबाट कृष्ण रानाभाट, सन्देश बोहरा, प्रेम सुनार, सुमन बुढाथोकी, कमल विक, सुभाष बुढाथोकीले गोल गरेका थिए भने प्रकाश बुढा र भक्तबहादुर घर्तिले गोल गर्न सकेनन् ।
रेसिङका तर्फबाट मनोज वली, लक्ष्मण रानाभाट, निराजन शाही, टेकेन्द्र विसी, विशाल बमले गोल गरेका थिए ।
न्यू डाँफेका किपर प्रकाश बुढा म्यान अफ द म्याच भए । उनलाई भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले पुरस्कृत गरे ।
तेस्रो खेलमा धम्बोझीका तर्फबाट भीमसेन थापाले ६ मिनेट र विशाल थापाले ५६ मिनेटमा गोल गरेका थिए । यो खेलमा रोयलका भीमसेन थापा म्यान अफ द म्याच भए । उनलाई लिला इन्टरप्राइजेजका प्रोपराइटर सविन घिमिरेले पुरस्कृत गरे ।
असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।
मंगलबार दुई बजे नवदुर्गा युथ क्लव र हेल्थ बिनिफिटनेस तथा चार बजे भैरवप्रसाद गण र साइनिङ स्टार युथ क्लवका बीचमा खेल हुनेछ ।